२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अर्थ

म्याग्दीको जैविक तरकारी डौंडे काठमाडौंमा खोसाखोस

म्याग्दीको वनजंगल, खेतबारीमा पाइने डौंडे (निउरो) नियमित काठमाडौंमा बिक्री हुने गरेको छ। म्याग्दीबाट रात्री बसमा दैनिक ५० केजी डौंडे लगेर बेनी नगरपालिका–५, पुलाचौरका आलोक बानियाँले होम डेलिभरी र होटलबाटै दैनिक बिक्री गर्ने गरेका छन्। 

गत वर्ष १ हजार केजी बिक्री गरेका बानियाँले यस वर्ष अधिक माग भएको र महँगो मूल्यमा बिक्री भइरहेको बताए। ‘डौंडे खोसाखोस हुन्छ, एकै दिन सबै बिक्री हुन्छ,’ गोंगबुको होटल आलोक एण्ड रेष्टुरेन्टका सञ्चालक रहेका बानियाँले भने।  

असारदेखि भदौ महिनासम्म वनजंगल, खेतबारीमा उम्रने डौंडेलाई कृषकले सदरमुकाम बेनी ल्याएर सिधै बसमार्फत पठाउने गरेका छन्। यो सिजनमा ग्रामीण क्षेत्रमा डौंडे टिपेर घरमा प्रयोगसँगै स्थानीय बजारमा र राम्रो मूल्यमा पाइने भएकाले काठमाडौंसम्म पठाउने गरेको कृषकको भनाइ छ। 

बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनमा डौंडे प्रसस्तै पाइन्छ। खेतीपाती सकेका कृषकहरू डौंडे टिप्न वनजंगलमा जाने गरेका छन्। यो सिजनमा च्याउ, तामा समेत सङ्कलन गर्ने भएकाले कृषकले मनग्य आम्दानी गर्ने गरेका छन्।  

गाउँमा कृषकले टिपेर सवारीसाधनमार्फत बेनीका व्यवसायीलाई समेत पठाउने गरेका छन्। यो सिजनमा नियमित डौंडे टिपेर मनग्य आम्दानी गर्ने गरेका छन्। गाउँमै कृषकले ६० रुपैयाँ केजीमा बिक्री गर्ने गरेकोमा काठमाडौंसम्म पुग्दा ढुवानीसहित उपभोक्ताले १ सय २० रुपैयाँसम्म खरिद गर्ने गरेका छन्। 

म्याग्दी जिल्लाको जैविक तरकारी काठमाडौंमा पाइने भएपछि नियमित प्रयोग गर्ने गरेको म्याग्दी काठमाडौं सम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसीले बताए। म्याग्दीमा समुद्री सतहदेखि १५ सय मिटरको उचाइदेखि २५ सयसम्मको क्षेत्रमा चिसो भएको ठाउँमा डौंडे उम्रन्छ।  

यो एक जैविक तरकारी समेत हो। डौंडे (निउरो) ग्रामीण क्षेत्रमा विपन्नले गर्जो टार्न र बजारका भान्सामा तरकारी/अचारको रूपमा प्रयोग गर्ने गरिन्छ। डौंडे टुसा पलाएको चार/पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ। डौंडे र निउरोमा एन्टीअक्सिडेन्ट पाइने भएकोले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ। स्वास्थ्यका लागि पनि डौंडे निकै राम्रो मानिएको छ।

यसबाट भिटामिन ए, बी र सी पर्याप्त मात्रामा पाइन्छ। डौंडेमा आइरनको मात्रा पनि हुन्छ। आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ। मुटु र मधुमेह रोगीहरूका लागि पनि निउरो निकै उत्तम आहार मानिन्छ। यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने स्वास्थ्य जानकारहरू बताउँछन्।

प्रकाशित: १० श्रावण २०८२ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App