तिब्बती क्षेत्रबाट भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्र ५२ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित ‘भोटेकोसी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिमचट्टानसहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र कुल ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिहरूसमेत आबद्ध रहेर काम गरिरहेका छन्।
प्रतिवेदनमा भोटेकोसी र त्रिशूली नदी तटीय क्षेत्रमा रहेका होटलमा मात्र १९ अर्ब ५६ करोड रुपैयाँको क्षति पुगेको उल्लेख छ। होटल व्यवसायी महासंघले उपलब्ध गराएको तथ्यांकअनुसार बाढीका कारण २०७ वटा होटल तथा रेस्टुरेन्ट क्षतिग्रस्त बनेका छन्।
पर्यटन मन्त्रालयले सोही तथ्यांकको विश्लेषण तथा स्थलगत अध्ययन गरी समग्र पर्यटन क्षेत्रमा परेको असर सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार रेस्टुरेन्टतर्फ एक अर्ब ३८ करोड, सवारीसाधनतर्फ एक अर्ब ५१ करोड, पदमार्ग (ट्रेकिङ ट्रेल) मा पाँच करोड, सम्पदा तथा पर्यटकीय पूर्वाधारमा एक अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँको नोक्सानी भएको छ।
बाढीले प्रभावित होटल तथा रेस्टुरेन्टहरूमा विदेशी पर्यटकबाट हुने आयमा १४ अर्ब ६० करोड रुपैयाँ, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा एक अर्ब २७ करोड रुपैयाँ र आन्तरिक पर्यटन आयतर्फ १९ करोड ८७ लाख रुपैयाँ क्षति पुगेको छ।
यसका साथै बाढी प्रभावित क्षेत्रका परिवारको भरणपोषण तथा जनशक्ति व्यवस्थापनमा गर्नुपर्ने थप १२ अर्ब २६ करोड रुपैयाँसहित पर्यटन क्षेत्रमा कुल ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको अध्ययन प्रतिवेदनले देखाएको छ।
बाढीपछिको वास्तविक क्षति मूल्यांकन गरी प्रतिवेदन तयार पार्न पर्यटन बोर्ड तथा मन्त्रालयका कर्मचारी सक्रिय रूपमा खटिएको समितिका संयोजक धमलाले जानकारी दिए। ‘पर्यटन क्षेत्र संकटमा परेका बेला हामी सबै एकजुट भएर काम गरिरहेका छौं,’ धमलाले भने, ‘यस घडीमा बोर्ड, निजी क्षेत्रका प्रतिनिधि र मन्त्रालयका कर्मचारी सबै मिलेर नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेका छौं।’
पर्यटन मन्त्रालय र निजी क्षेत्रको निरन्तर समन्वयमा द्रुत गतिमा काम भइरहेको दाबी गर्दै उनले नकारात्मक टिप्पणी गरेर संकटमा परेको पर्यटन क्षेत्रलाई थप प्रभावित नबनाउन आग्रह गरे। उनले पर्यटन बोर्डको टिम, पर्यटन व्यवसायी र विभिन्न संघसंस्थाको सहकार्यमा बाढीपछिको राहत, पुनरुत्थान तथा पुनर्निर्माणका कामहरू सक्रिय रूपमा अघि बढाइएको जानकारी गराए।
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले सबै सरोकारवालाको सामूहिक प्रयासबाट यो प्रारम्भिक प्रतिवेदन तयार भएको बताए। निजी क्षेत्रसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरिएको जानकारी गराउँदै शाहले भने, ‘यसमा संघले आफ्ना प्रतिनिधि खटाएर स्थलगत अध्ययनमा सहयोग गरेका थियौं।’
अध्यक्ष शाहका अनुसार सम्बन्धित क्षेत्रमा जनधनको ठुलो क्षति भएको र कतिपय परिवारका सदस्य नै बेपत्ता रहेको पीडादायी अवस्थामा क्षतिको विवरण संकलन गर्नु निकै चुनौतीपूर्ण थियो।
आश्चर्यजनक किसिमले आइपरेको यस्तो विपद्को कुशल व्यवस्थापन गर्दै पर्यटकलाई पुनः आकर्षित गर्न सबै पक्षबिचको समन्वय अपरिहार्य छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बाढीप्रभावित क्षेत्र र समूहबाट तथ्यांक संकलन गरेर तयार पारेको क्षतिको मूल्यांकनपछि अब बिस्तारै पर्यटन रिकभरीको योजना बनाएर जानुपर्ने धारणा राखे।
‘अहिले तिब्बतको गेटवेमा असर परेको असरको प्रभाव बिस्तारै नेपालतर्फको ट्रेकिङ रुटमा पनि छ,’ टानका अध्यक्ष पाण्डेले भने, ‘रिकभरी गर्ने भनेको गतिविधि बढाएर अघि बढ्नु हो।’
त्यसपछि बिस्तारै अन्य ठाउँहरूको गतिविधि प्रचार गर्दै जानुपर्छ। बाढीले बिगारेको ठाउँमा पूर्वाधार बनाउन भने समय लाग्ने भएकाले बिस्तारै अन्य विकल्प हामीले खोज्नुपर्छ। अरू विकल्प खोज्दा खर्च बढ्ने र केही हदसम्म पर्यटकीय प्याकेज पनि महँगो हुन सक्ने बताउँदै उनले भने, ‘अब बिस्तारै गतिविधि बढ्दै जाँदा अवस्था सामान्य हुन्छ भन्ने विश्वासमा छौं।’
भोटेकोसी बाढी भिन्न प्रकृतिको विपत्तिका रूपमा देखियो भने यसमा पर्यटक पनि धेरै हताहत भएको हुँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश प्रवाह भएको छ।
धैरै संख्यामा पर्यटक बेपत्ता भएको तथा बाढीमा परी ज्यान गएको घटनामा विदेशीको चासो बढ्नु र उनीहरूले ट्राभल एड्भाइजरी जारी गर्नुले पनि केही समय नेपालको पर्यटनलाई असर गर्ने उनको भनाइ छ। ‘पर्यटकीय मौसम सेक्टेम्बर अक्टोबरपछि बिस्तारै पर्यटकीय गतिविधि बढाएर यो विपत्तिमा भएको क्षतिको रिकभरी गर्दै जानुपर्नेतर्फ सबैको ध्यान जानुपर्छ,’ उनले भने।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले विपद्का घडीमा अरूको भर पर्नुभन्दा आफैं उठ्नुपर्ने भएकाले पर्यटन क्षेत्रले आआफ्नो ठाउँबाट साथ र सहयोग जुटाइरहेको बताए।
प्रकाशित: २७ भाद्र २०८३ ०८:४३ शनिबार





