मोदी खोलामा आएको बाढीले गत विहीबार मध्यरात कास्कीको अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रको प्रवेशद्वारमा ब्यापक क्षति गर्यो। बाढीले अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको बजार जोखिममा त पार्यो नै गाउँपालिकाको चारवटा वडासँगको यातायात सञ्जाल पूर्णरुपमा बिच्छेद गरेको थियो। अन्नपूर्ण आधारशिविर (एबिसी) को प्रवेशद्वार (वीरेठाँटी) मै भएको ब्यापक कटानले यातायात मात्र नभई पैदलयात्रामा समेत जोखिम थपिएको थियो।
अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको सडक सम्पर्कलाई वीरेठाँटीको पहिरोले बिच्छेद गरिदिएको थियो। सडक सञ्जाल बिच्छेद भएपछि सुरुका दुइदिन पूर्ण रुपमा हिडडुल पनि रोकियो। तर, अहिले बिस्तारै पदयात्रामा पर्यटक जान थालेका छन् भने सवारी संचालन लागि वीरेठाँटीमा काम थालिएको छ। खोलाको भेल कम भएको मौका पारेर मंगलबारदेखि डोजर परिचालन गरेर सडक खुलाउने प्रयास थालिएको गाउँपालिकाले बताएको छ।
गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाटो कटान भएसँगै वीरेठाँटी–घान्द्रुक सडक पुरै बिच्छेद भएको थियो। यो सडक हुँदै एबिसीसम्मको पदयात्रा हुुन्छ। अन्नपूर्ण गाउँपालिकाका ८,९, १० र ११ वटा वडासँगको यातायात सञ्जाल सम्पर्क टुटेको थियो। नदीको कटानले वीरेठाँटीको सिंगो बस्ती नै जोखिममा पारेको थियो। ‘खोलामा वहाव केही घटेको छ। यही मौका पारेर कटान भएको ठाउँमा ग्याभिन जाली भरेर भएपनि सडक सुचारु गर्ने प्रयास थालिएको छ,’ उनले भने, ‘खोलामा वहाव बढेन भने समस्या पर्दैन। अहिले वहाव घटेको पनि छ।’
उनका अनुसार खोलापारि रहेका दुइवटा डोजर संचालन गरिएको छ भने वारिपट्टिबाट पनि थप एउटा डोजर परिचालन गर्ने तयारी छ। तीनवटा डोजरमार्फत खोलाको वहाव डाइभर्ट गर्ने र त्यसपछि मात्र पर्खाल लगाउन सकिने उनले बताए। ‘वहाव घटेको मौका पारेर खोला नै डाइभर्ट गर्ने हो। त्यसपछि कटान भएको ठाउँमा ग्याभिन जाली भर्ने हो,’ उनले भने, ‘खोलाको वहाव परिवर्तन गरेपछि मात्र त्यहाँ काम गर्न सकिन्छ, खोला डाइभर्ट नगरेसम्म कटान भएको ठाउँमा संरचना बनाउन सकिँदैन। अहिलेकै अवस्थामा त्यहाँसम्म उपकरण लैजान पनि ठाउँ छैन।’ कटान रोकेर पुल र जोखिममा रहेका घर जोगाउने पहिलो प्राथमिकता दिएको उनले बताए।
अन्नपूर्ण–७ का अध्यक्ष समेत रहेका गुरुङका अनुसार खोला नै डाइभर्ट गर्न कम्तिमा तीनदिन लाग्छ। त्यसपछि १० दिन हाराहारीमा ग्याभिन जाली भर्न सकिन्छ भन्ने अनुमान हो। थप पानी परेन भने अबको दुईसातामा जीपसम्म वारपार गर्न सकिने बनाउने प्रयास थरेको उनले बताए। अहिले कटान भएको बाहेक अवरुद्ध रहेको सडकको अरु खण्ड भने मर्मतसम्भार गर्न केही सहज रहेको उनले बताए।
प्रवेशद्वारमै पहिरो आएर सवारी रोकिएपछि माथिल्लो क्षेत्रका बासिन्दा खाद्यान्न ढुवानीको त्रासमा छन्। त्यत्ति मात्र नभई सुरु हुनै थालेको पदयात्रा सिजन प्रभावित हुने त्यस क्षेत्रका व्यावसायीको चिन्ता पनि छ। अबको केही सातापछि सुरु हुने पदयात्राको सिजनमा बाटो अभावमा पाहुना आउन नसक्ने हुन् की भन्ने चिन्ता व्यावसायीको छ। प्रवेशद्वारमा समस्या भएपनि पैदल हिडाएर भएपनि पर्यटकलाई माथि उकाल्न सकिने प्रयासमा अहिले त्यस क्षेत्रका व्यावसायी जुटेका छन्।
‘पहिला पनि पैदलयात्रा गरेकै बाटो हो। त्यसैले पदयात्रालाई त खासै समस्या हुँदैन। सहज रुपमा हिड्न पाउने हो भने पर्यटक त खुसी नै हुनेछन। तर, खाद्यान्न ढुवानीमा भने केही समस्या हुने त्रास छ,’ छोमरोङ पर्यटन व्यावसास्थापन समितिका सचिव दिलीप गुरुङ भन्छन, ‘प्रवेशद्वार खुलाउनका लागि गाउँपालिका जुटिसकेको छ। माथिल्लो भेगको क्षतविक्षत सडक मर्मत गर्न गाउँले पनि जुटेका छन्।’
उनका अनुसार यो बेला पर्यटन क्षेत्रमा अफसिजन हो। वर्षायामको यो सिजनमा निकै नै कम संख्यामा विदेशी पाहुना माथि जाने गर्दथे। त्यसैमा बाढीले अवरुद्ध गरेपछि दुइदिनसम्म पदयात्रा पनि रोकिएको थियो। तर, अब भने पदयात्रालाई सुचारु गराउनका लागि माथिल्लो भेगमा भत्किएको र बिग्रिएको सडक मर्मत गर्न थालिएको उनले बताए। गुरुङका अनुसार एबिसीसम्मको पदमार्गको छोमरोङ भन्दा माथिल्लो भागमा पनि व्यापक क्षति पुगेको छ।
एबिसी पदमार्गमा पर्ने हिंकु खोलामा पछिल्लो तीनसाता अवधिमा तीनपटक पुल बगेको छ। खोलामाथि बनाएको अस्थायी पुल बग्नासाथ गाउँलेले बनाएपनि फेरि अर्काेपटकको बाढीले बगाउँने गरेको उनले बताए। त्यस्तै बम्बु खोलाको अस्थायी पुल पनि बाढीले बगाएको छ। त्यस्तै दोभान खोलाको पुल दुईपटकसम्म बगिसकेको छ।
‘वीरेठाँटीको त गाउँपालिकाले नै बनाउँछ। राज्यको पनि नजर पुग्छ। तर, माथिल्लो क्षेत्रको पदमार्गप्रति कसैको ध्यान पुग्दैन। त्यही भएर हामी आफै खटिएर खोलाम अस्थायी पुल बनाउने र क्षतविक्षत भएको सडक मर्मतसम्भार गर्न थालेका छौं,’ उनले भने, ‘यही क्षेत्रका पर्यटन व्यावसायी नै खटिएका छन्। २० जनाजति स्थानीय व्यावसायीले अहिले बाटो मर्मत गरिरहेका छन। अब पनि बाढी आएन भने सहज हुन्छ।’ अबको केहीदिनमा खच्चड हिड्न मिल्ने गरि सडक मर्मत गर्ने उनले बताए।
‘अहिलेका लागि त वीरेठाँटीमै बन्द छ। तर, पानी नपर्ने हो भने यो दूरी पदयात्रा गर्न पर्यटक खुसी पनि हुन्छ। हिडेरै चलेको पदमार्ग पनि हो। तर, खाद्यान्नमा समस्या हुने चिन्ता छ,’ उनले भने। उनका अनुसार असहज बाटोका बाबजुत पनि मंगलबार ५० जनाजति विदेशी पर्यटक आधारशिविर उक्लेका छन्।
‘पोखराबाट वीरेठाँटी हुँदै ३ घण्टामा झिनुससम्म गाडीमा आएर त्यसपछि पदयात्रा सुरु हुन्थ्यो। तर, अब भने वीरेठाँटीबाटै पदयात्रा सुरु हुन्छ। मोटरबाटो नखुलेसम्मका लागि केही बढि समय पदयात्रा गर्नुपर्नेछ,’ उनले भने, ‘विदेशी पाहुना हिड्न त खुसी नै हुन्छन। तर, खाद्यान्न ढुवानीमा जोखिम हुने चिन्ता हो।’
प्रकाशित: २ भाद्र २०८३ १८:३३ मंगलबार





