२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

नेप्सेमा पहिरो, कारोबार हुने ११५ दिनपछि सयभन्दा बढी अंकको गिरावट

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो आएको छ। नेप्से परिसूचक ११५ कारोबार दिनपछि सय अंकभन्दा बढी १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। गत असोज २ गते बिहीबार नेप्से १६०.३३ अंकले घटेको थियो। यद्यपि, योबीचमा नेप्से २ पटक सय अंकभन्दा बढी बढेको थियो।

आइतबार सेन्सेटिभ इण्डेक्स १५.६२ अंक, फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले घटेको छ।  

नेप्सेमा पहिरो आएपनि कारोबार रकम भने अघिल्ला कारोबारको तुलनामा आइतबार झण्डै साढे ३ अर्बले बढेको छ। आइतबार ३४५ स्टकको १ लाख ४१ हजार ३६ पटकको कारोबारमा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत बिहीबार ८ अर्ब ८१ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

आज ६ स्टक रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भयो।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको ५८ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्स र ङादी ग्रुप पावरको पनि ४२ करोडभन्दा बढीको कारोबार भयो।  

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत, जलविद्युत र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशत, तथा बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: २२ चैत्र २०८२ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App