१ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

गण्डकी प्राविधिक प्रतिष्ठानलाई कोरियाको सवा अर्ब सहयोग

दक्षिण कोरिया सरकारले प्राविधिक शिक्षाका लागि करिब सवा अर्ब रुपैयाँ सघाउने भएको छ । गण्डकी प्रदेशमा ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानमा पूर्वाधार निर्माणका लागि करिव १ अर्ब २५ करोड रुपैयाँ (९ मिलियन अमेरिकी डलर ) बराबरको अनुदान सहयोग गर्ने भएको छ ।

सहयोग लिने, दिने विषयमा नेपाल सरकार र कोरिया सरकारबीच बुधबार सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र कोरिया गणतन्त्र सरकारको तर्फबाट नेपालस्थित राजदूत पार्क ते–यङले हस्ताक्षर गरे ।

कार्यक्रममा राजदूत पार्क ते–यङले यो परियोजनामा लगानी भवन र पूर्वाधारमा मात्र नभई मानव संसाधन, सीप र नेपालको भविष्यका लागि जनशक्ति निर्माणमा सहयोग गरेको बताए । कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोरियाले लामो समयदेखि नेपालकै शिक्षा क्षेत्रलाई सहयोग गर्दै आएको र यो सम्झौताले नेपालको विकासप्रति थप बलियो प्रतिबद्धता दर्शाएको बताए ।  

परियोजनाको कार्यान्वयन निकाय कोरिया सरकारको तर्फबाट कोरियन इन्टरनेशनल को–अपरेशन एजेन्सी रहनेछ भने नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान रहने अर्थमन्त्रालयले जनाएको छ । सो परियोजना सन् २०३० डिसेम्बर ३१ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित: ४ भाद्र २०८२ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App