१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अर्थ

तोडियो केचना-कञ्चनजंघा सडकको ठेक्का

९ किलोमिटर सडकको काम ५ वर्षमा आधा पनि भएन

निर्माणाधीन केचना–कञ्चनजंघा सडकको बेलासे–राकसे–गोलाखर्क खण्ड। तस्बिरः भीम/नागरिक

मेची करिडोरका रूपमा चिनिने केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक)को बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोडिएको छ। २ वर्षमा सकिनुपर्ने काम ५ वर्षमा आधा पनि नभएपछि सडक डिभिजनले खड्का कृष्ण–सक्षम जेभीसँगको ठेक्का रद्द गरेको हो।  

इलाम–पाँचथर र ताप्लेजुङको जीवनरेखाका रूपमा रहेको यो सडकको काम लामो समयदेखि अलपत्र पारेको, पटक–पटक लिखित र मौखिक ताकिता गर्दा पनि निर्माण कम्पनीले आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको र पटक–पटक म्याद थप्दा पनि काम पार नलाग्ने देखिएपछि ठेक्का रद्द गर्नुपरेको डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार प्रारम्भिक रूपमा ३० महिनामा सक्नुपर्ने कामलाई ३३ महिना म्याद थप गरेर कुल ६३ महिना समय दिँदा पनि ४५.२८ प्रतिशतमात्र वित्तीय प्रगति र ४७ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। निर्माण व्यवसायी स्वयंबाट ठेक्का सम्पन्न नहुने अवस्था सिर्जना भएपछि रद्द गर्नुपरेको डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए।  

राजनीतिक दलको संरक्षणका व्यक्ति र जनप्रतिनिधिआबद्ध निर्माण कम्पनीले चरम लापरबाही गर्दा इलाम, पाँचथर, ताप्लेजुङवासीले ठूलो सास्ती भोगिरहेका छन्। पटक–पटक ‘काम सक्छु’ भन्दै निर्माण व्यवसायीले काम झुलाएर ठेक्का अलपत्र पारेका थिए।

साढे ९ किलोमिटरको काम २०७८ असार २९ मा २ वर्षभित्र कालोपत्रेसमेत सक्नेगरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लागेको थियो।

काम अलपत्र पार्ने निर्माण कम्पनीका मुख्य सम्पर्क व्यक्ति इलामका डम्बर खड्का र जाजरकोटका रत्नबहादुर खड्का हुन्। डम्बर इलामको नेपाली कांग्रेस जिल्ला सभापति तथा भर्खरै निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्। उनी इलामबाट पटक–पटक संघीय र प्रदेश निर्वाचनमा उम्मेदवारसमेत बनेर पराजित थिए। रत्नबहादुर अहिले पनि जाजरकोटको छेडागाढ नगरपालिका प्रमुख र कांग्रेस नेता हुन्। कागजमा खड्का–कृष्ण–सक्षम जेभीका प्रोपाइटर जाजरकोटका प्रकाश खड्का देखिन्छन् तर उनको नाममा मुख्य व्यवसाय गर्ने व्यक्ति उनका बुबा तथा मेयर रत्नबहादुर नै हुन्।

डिभिजन प्रमुख भट्टराईले चाँडै नै नयाँ ठेक्का व्यवस्थापन हुने जानकारी दिए। ‘जतिसक्दो चाँडो नयाँ ठेक्काको प्रक्रियामा जाँदैछौं,’ उनले भने।  

गत असारमा इलाम आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले ठेक्का तोड्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार सडक डिभिजनले सडक विभागमा फाइलसमेत पठाएको थियो। तर, डम्बरबहादुरले प्रत्यक्ष निगरानीमा गरिरहेको काम आफूले नसकेपछि गत असारमा रत्नबहादुरलाई जिम्मा लगाए भने रत्नबहादुरले त्यहीबेला इलाम आएर वर्षाैं अलपत्र काम आफूले सम्पन्न गर्ने प्रतिबद्धता गरे।  

त्यसपछि सडक डिभिजनले रत्नबहादुरलाई ‘अन्तिम मौका’ भन्दै असोजसम्मको म्याद दिएर कामलाई निरन्तरता दियो। रत्नबहादुरले २० दिनमा सडक हिलोरहित बनाएर असोज मसान्तमा कालोपत्रे सक्ने प्रतिबद्धता गरेका थिए। तर, उनले सामान्य हिलो पुर्नेबाहेक अरू काम गरेनन्। बरू, पुनः म्याद थपको निवेदन दिएका थिए। निर्माण व्यवसायीको लापरबाहीकै कारण काममा ढिलाइ भएपछि विभिन्न २ आर्थिक वर्षमा यो सडकको झन्डै २० करोड रुपैयाँ फ्रिजसमेत भइसकेको थियो।  

यो खण्डको ठेक्का तोडिएपछि मन्त्री लम्सालले आवश्यक स्रोत र बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्काप्रक्रिया शीघ्र थाल्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षाैंसम्म अलपत्र ठेक्का अब चल्दैन। अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत र बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्काप्रक्रिया शीघ्र अघि बढाइनेछ। अब अलपत्र ठेक्का तोडिनेछन्, नयाँ प्रक्रिया अघि बढ्नेछ।’

प्रकाशित: १३ कार्तिक २०८३ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App