काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक सार्वजनिक गरेको छ। महानगरले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको हो।
प्रस्तावित बजेटअनुसार सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्नेछ भने ७५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार रहने उल्लेख गरिएको छ।
यसअघि महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पारित गरेको थियो। आगामी आवको बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले महानगरको आय स्रोत तथा खर्च संरचनाबारे जानकारी दिएकी हुन्।
उनका अनुसार आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ। यसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय तथा बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ।
त्यसैगरी नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त, समानीकरण र राजस्व बाँडफाँटमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ। जनसहभागिताबाट थप १ करोड रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा महानगरले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई सबैभन्दा उच्च प्राथमिकता दिएको छ। यस क्षेत्रका लागि कुल बजेटको ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।
आर्थिक विकास क्षेत्रका लागि कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ भने सामाजिक विकासतर्फ ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।
त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको महानगरले जनाएको छ।
महानगरको बजेट संरचनाले आगामी वर्षमा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै प्रशासन, सेवा प्रवाह र सामाजिक क्षेत्रलाई समेत सन्तुलित रूपमा अघि बढाउने संकेत गरेको छ।
प्रकाशित: ४ असार २०८३ १७:४४ बिहीबार


-600x400.jpg)


