पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडकको काम ठेक्केदार कम्पनीको ढिलासुस्ती र नियामक निकायको उदासीनताका कारण ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। तेस्रो पटक थपिएको म्याद सकिन दुई महिना बाँकी रहँदासम्म निर्माणको काम अझै ३० प्रतिशत बाँकी छ। तीन वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुग्दासम्म ७० प्रतिशत मात्र पूरा भएको छ। भत्काइएका सडक अलपत्र छाडिँदा यस क्षेत्रका सर्वसाधारण धुलोका कारण आजित भएका छन्।
लहान, गोलबजार र मिर्चैया क्षेत्रका व्यापार–व्यवसाय समेत अलपत्र सडकका कारण प्रभावित बनेको लहानका व्यापारी रामनन्दन साहले बताए। स्थानीय बासिन्दाले आज सडक अवरुद्ध समेत पारेका छन्। निर्माण कार्य सुरु भएको ६ वर्ष भइसक्दा पनि आयोजना सम्पन्न नहुँदा स्वास्थ्य समस्या र दुर्घटनाको जोखिम बढेको साहको भनाइ छ।
यो आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नं. २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो। सन् २०२० अक्टोबरदेखि निर्माण कार्य सुरु भएको थियो। योजना प्रमुख उज्वल श्रेष्ठका अनुसार सम्झौताअनुसार तीन वर्षभित्र, अर्थात् सन् २०२३ अक्टोबरसम्म ८६.८२ किलोमिटर लामो यो सडकखण्ड विस्तार गरिसक्नुपर्ने थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप गरिएको छ।
पहिलो पटक १४ महिना, दोस्रो पटक १२ महिना र तेस्रो पटक ६ महिना थपेर निर्माण अवधि आगामी सन् २०२६ जुनसम्म पुर्याइएको छ। आयोजनाको कुल लागत भेरिएसनसहित करिब रु १६ अर्ब ८ करोड ५० लाख अनुमान गरिएको छ, जसमा एशियाली विकास बैंकको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी रहेको छ।
कोभिड–१९ महामारी, रुख कटान र विद्युतका पोल सार्ने काममा ढिलाइ, निर्माण सामग्रीको अभाव तथा स्थानीय अवरोधका कारण कामले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठको भनाइ छ। साथै निर्माण कम्पनीले केही समय काम गर्ने र फेरि छोड्ने प्रवृत्तिले पनि योजना सम्पन्न हुन ढिलाइ भएको उनले बताए।
सडक विस्तारको सुस्त गतिले लहान र मिर्चैया जस्ता बजार क्षेत्र धुलाम्य बनेका छन्। स्थानीयवासीमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनुका साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम बढेको छ। योजना प्रमुख श्रेष्ठ भन्छन्, “हामीले ठेकेदार र कन्सल्ट्यान्टलाई निरन्तर ताकेता गरिरहेका छौँ।”
यो योजनाअन्तर्गत ७०.३३ किलोमिटर चार लेन र १६.४९ किलोमिटर ६ लेनको सडक निर्माण हुनेछ भने दुई लेनका ५४ वटा पुल निर्माण गरिनेछन्। साथै, आठ वटा अन्डरपास निर्माण हुँदैछन्।
कञ्चनपुर–कमला सडक योजनाको पूर्वी खण्डअन्तर्गत ३९.४२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य छ। त्यसमध्ये ६.०८ किलोमिटर सडक ६ लेनमा विस्तार गरिँदैछ भने ३३.३४ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गरिनेछ। यस खण्डमा २९ वटा पुल र दुई वटा अन्डरपास निर्माण भइरहेका छन्।
पश्चिम खण्डअन्तर्गत ३६.९९ किलोमिटर सडक चार लेनमा विस्तार गरिँदैछ भने १०.४१ किलोमिटर सडक ६ लेनमा विस्तार तथा स्तरोन्नति गरिनेछ। यस खण्डमा २५ वटा पुल निर्माण गरिनेछ। चार लेन सडकका इन्टरसेक्सनमा सडक सतहभन्दा माथि दुई वटा ओभरपास निर्माण गर्ने योजना छ, जसमध्ये एक लहानमा र अर्को मिर्चैयामा निर्माण गरिनेछ।
प्रकाशित: ४ वैशाख २०८३ २१:०५ शुक्रबार





