एक महिना लामो राजनीतिक गतिरोध, आरोप-प्रत्यारोप र नागरिक दबाबपछि अन्ततः इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ।
नगरप्रमुख हेमकर्ण पौडेल र नेकपा (एमाले) बाट निर्वाचित बहुमत जनप्रतिनिधिबिचको विवादले रोकिएको बजेट अन्ततः सहमतिमा टुङ्गिएको हो।
असार ३२ गते नै पारित हुनुपर्ने बजेट रोकिँदा उपमहानगर ‘बजेट होलिडे’ को अवस्थामा पुगेको थियो। यसबीच एमालेका जनप्रतिनिधिले नगरप्रमुख पौडेलको ‘गैरजिम्मेवारी’ लाई कारण देखाएका थिए भने पौडेलले एमालेको ‘बहुमतीय दम्भ’ ले काम गर्न नदिएको आरोप लगाउँदै आएका थिए।
विवाद उत्कर्षमा पुग्दा पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीले पत्रकार सम्मेलन नै गरेर ‘बजेट होलिडेमा मेयर नैनीताल र उपमेयर काठमाडौंमा रमाइरहेको’ भन्दै चर्को आलोचना गरेका थिए।
बजेट पारित नहुँदा विकास निर्माण र प्रशासनिक काम ठप्प हुने अवस्था आएपछि नागरिक समाज र अन्य राजनीतिक दलहरूले समेत दुवै पक्षलाई ध्यानाकर्षण गराएका थिए। चौतर्फी दबाबपछि शुक्रबार र शनिबार बसेको नगर सभा बैठकले बजेट पारित गरेको हो।
इटहरी उपमहानगरपालिका उपप्रमुख सङ्गीताकुमारी चौधरीले पेश गरेको बजेटमा चालु वर्षका लागि खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात् कुल बजेटको ४०.७९ प्रतिशत छुटाइएको छ।
यस्तै, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात् कुल बजेटको ०.३५ प्रतिशत र पूँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत छुटाइएको छ।
चालु आर्थिक वर्षमा स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उप-प्रमुख चौधरीले जानकारी दिइन्। जसमा सङ्घीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वयगरि इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामै समेटिएको छ। बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यीकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदल यात्रीको सहजताका लागि कोशी राजमार्ग दुई वटा आकासे पुल निर्माण गर्न बजेट छुटाइएको छ।
प्रकाशित: ३१ श्रावण २०८२ १९:११ शनिबार





