महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले राज्य नीति निर्माताले देशलाई अर्थमुखी भन्दा पनि उद्योग मुखी बनाउन आवश्यक रहेको बताएकी छन् । नीति रिसर्च प्रालिको आयोजना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले काठमाडौंमा सोमबार आयोजना गरेको स्टार्टअपमा महिला अवसर, चुनौती र आगामी बाटो अन्तरक्रिया कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञवालीले यस्तो बताएकी हुन् ।
ज्ञवालीले भनिन्,‘राज्यका नीति निर्माताहरू सँग नीति चाहियो भन्दै गर्दा देशलाई उद्योगमुखी बनाउने अर्थमुखी भन्दा पनि उद्योगमुखी बनाइदियो भने हाम्रा देशका उद्यमीहरू बाच्न र व्यापार व्यवसायहरू अगाडि बढ्न सक्छ भने हो ।’
स्वदेशी खाऊ, स्वदेशी लगाऊ, स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । महिला तथा युवतीहरूको सोचलाई उद्यमशीलतामा लगाउन सकेमा स्वदेशी उत्पादनको प्रवर्द्धन हुने उनले बताइन् ।
‘जुन देशको अर्थतन्त्र राम्रो हुँदैन त्यो देशको राजनीति पनि राम्रो हुँदैन । देशलाई आर्थिक सशक्तीकरणको बाटोमा अगाडी बढाउन हरेक महिलाहरूलगायत हरेक गाउँ ठाउँलाई अगाडी लैजान नीति निर्माताहरूले सोच्नुपर्ने बेला भयो,’ उनले भनिन् ।
अर्थतन्त्रलाई अगाडी बढाउन सकेमा देश धनी हुने उनको विश्वास छ । २०/२५ वर्षसम्ममा पनि देश धनी हुन सकेन भने हामीले फेरी विकासोन्मुख भन्दै हाम्रो अर्को पुस्तालाई यही गरिबी देश हस्तातरण गर्न बाध्य हुने उनी बताउँछिन् ।
आफू महिला उद्योमी महासंघको अध्यक्ष हुँदा ७७ जिल्ला र सात प्रदेशमा महिला उद्यमी बोर्ड गठन गर्न सफल भएको उनले बताइन् । उद्यमशीलता सीमितमा मात्रै खुम्चिनु हुँदैन । महिलाहरूले उत्पादन गरेका सामाग्रीहरू लोकल लेबलमा मात्रै बिक्री वितरण नभई महिलाहरूको क्षमता अभिवृद्धि गरेर अनलाइन माध्यममार्फत विश्व भरी बिक्री वितरण गर्ने सक्ने बनाउन आवश्यक रहेको उनी बताउँछिन् ।
वित्तीय पहुँचको कमी, बजारीकरणको कमी, दक्ष जनशक्तिको अभाव, धेरै नै समस्याको बावजुत पनि २९ प्रतिशत महिलाले उद्यमशीलतामार्फत आर्थिक विकासका लागि काम गरेका छन् । केही महिनाअघि आफूले पाएको तथ्यांक अनुसार ८९ प्रतिशत युवाहरूको जनशक्ति रहेको विदेशमा रहेको र त्यो मध्ये ११ प्रतिशत महिलाहरू रहेको ज्ञवालीले बताइन ।
विदेशमा रहेको युवा जनशक्ति फर्किएमा नेपाललाई नै फाइदा पुग्ने उनको विश्वास छ । साना–साना व्यवसायलाई लगानीको वातावरण सिजना गर्ने आवश्यक रहेको उनले बताइन् । गाउँ घरमा उत्पादन गरेका सामाग्रीलाई पीपीटी मोर्डलमा लैजान आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित: २१ पुस २०८२ १५:२४ सोमबार



-600x400.jpg)

