असारभित्रै रोपाईँ गरिसक्नुपर्नेमा साउन लाग्दासम्म पर्याप्त वर्षा नहुँदा उदयपुरका किसान चिन्तित बनेका छन् ।
गतवर्ष यो अवधिभित्र ८० प्रतिशत रोपाईँ भईसकेको थियो । तर, यसवर्ष भने अहिलेसम्म ४४ प्रतिशत मात्र रोपाईँ भईरहेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । ज्ञान केन्द्र प्रमुख वरिष्ठ कृषि अधिकृत योगेन्द्रप्रसाद यादवका अनुसार समयमा वर्षा नहुँदा आकाशे पानीको भरमा गर्नुपर्ने रोपाईँ हुन सकेको छैन । अहिलेसम्म भएको ४४ प्रतिशत रोपाईँ भनेको सिँचाई सुविधा पुगेको बोरिङ गरेर गरिएको यादवले बताए ।
उदयपुरमा धेरैजसो खेत आकाशे पानीको भरमा रोपाईँ गर्ने गरिएको छ । सिँचाई सुविधा नपुगेका ठाउँमा आकाशे पानी नपरे रोपाईँ गर्न नसक्ने अवस्था रहेको किसान बताउँछन् । समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाउँदा आफुहरु चिन्तित हुनुपरेको बोक्सेका किसान रणबहादुर कार्कीले बताए । उनका अनुसार हुनेखाने किसान परिवारले बोरिङबाट पानी तानेर रोपाईँ गर्ने गरे पनि गरिब दुःखी किसानलाई त्यस्तो सुविधा नहुँदा अहिलेसम्म खेत बाँझै राख्नुपरेको छ ।
धनीमानी र पहुँचवाला किसानहरु सरकारी अनुदानको यन्त्र उपकरण जोडेर रोपाईँ गर्ने गरे पनि बिपन्न र गरिव किसानलाई त्यस्तो सुविधा नहुँदा आकाशे पानीको भर पर्नु परेको गुनासो छ । ‘पहुँचवालाहरु कृषि ज्ञान केन्द्र, गाउँ÷नगरबाट अनुदानमा बोरिङ लिएर खेत सिँचाई गर्छन्, जोत्ने खन्ने ट्याक्टर, मिनि ट्रिलर उनीहरुसँगै छ’ अर्का किसान अगम दनुवारको गुनासो छ‘हुनेखाने र पहुँचवालालाई जस्तो हामी गरिव किसानलाई कहाँ पाउनु ?उही आकाशको पानी परे रोपाईँ गर्ने हो, त्यै पानी पर्खेर बसिराखेका छौँ ।’
वर्षा समयमा नहुँदा आगामी वर्ष धान उत्पादन घट्ने सम्भावना बढेको छ । स्वयं हाकिम यादव पनि साउन पहिलो साताभित्र पर्याप्त पानी नपरे आउदो साल धान उत्पादन घट्न सक्ने अनुमान गर्छन् । गतवर्ष समयमै रोपाई गर्न पाएकाले धान उत्पादन बढेकोमा यसवर्ष वर्षा नभएकै कारण अहिलेसम्म रोपाई गर्न नपाएकाले उत्पादन घट्ने उनको अनुमान छ ।गतवर्ष धान खेती गर्ने जमिन र उत्पादन दुवै बढेको केन्द्र प्रमुख यादवले बताएका छन् ।
उनका अनुसार गएको वर्ष १२ हजार ७ सय ९४ हेक्टरमा धान खेती लगाउदा प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । जस अनुसार ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको दाँजोमा सो उत्पादन शून्य दशमलव ५ प्रतिशतले बढेको र रोपाईँ खेतको क्षेत्रफल पनि २ हेक्टर बढी थियो । अघिल्लो वर्ष प्रतिहेक्टर ४ मेट्रिक टनका दरले ५१ हजार १ सय ६८ मेट्रिक टन अर्थात् ६ हजार ४ सय ५ मेट्रिक टन धान कम फलेको यादवको भनाइ छ ।
उदयपुरमा आधादर्जन प्रजातिका विभिन्न धान लगाउने गरिएको छ । भूगोल र हावापानी अनुसार फरकफरक प्रजातिको धान लगाउने गरिएको उदयपुरमा रञ्जित, राधा–१२, हर्दिना, सभामन्सुली र लल्का बाँसमति जातका धान रोप्ने गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
तराई तथा भित्री मधेस तथा पहाड सबैतिर छ्यासमिसे धानखेती गर्ने गरिएको उदयपुरमा तराई र भित्री मधेसक्षेत्र धानखेतीको ‘अन्न भण्डार’ मानिन्छ । पहाडी भेगमा सिँचाई सुविधा पुगेको बेँसी तथा खोलाखोल्सीमा मात्र धान खेती गर्ने गरिएको छ भने तराई र समथर जमिनमा भने आकाशे पानीको भरमा जताततै धान रोप्ने गरिएको छ ।
सदरमुकाम त्रियुगा नगरपालिकाका १६वटै वडामा मिश्रित धान खेती लगाउने गरिएको छ । पहाडी भेगका १४, १५ र १६ नं. वडामा खोला किनार र सिँचाई पुगेका जमिनमा मात्र धान लगाइन्छ भने १ देखि ११ नं. वडामा भने सिँचाई सुविधा पुगेको र नपुगेको दुवै खाले जमिन धान उत्पादनका लागि समयमा वर्षा भए काफी हुन्छ ।
त्रियुगा नदी तथा बरुवा, कङ, लुहाले, ठाडी, सरस्वति, शाही, असारीखोलालाई मुहान थापेर धान खेती लगाइन्छ भने सिँचाई नपुगेका ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ । जिल्लाका कटारी, चौदण्डीगढी र बेलका नगरपालिका पनि धानका लागि उर्बर जमिन छन् भने पहाडी भेगका रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिकामा पनि सिँचाई सुविधा पुगेको जमिनमा धान बाली लगाउने गरिएको छ ।
प्रकाशित: १ श्रावण २०८२ १९:५० बिहीबार


-600x400.jpg)


