४ श्रावण २०८३ सोमबार
image/svg+xml
अर्थ

कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल

वर्ल्डलिङ्क कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले नेपालले छिमेकी देशहरूलाई सस्तो दरमा कच्चा बिजुली निर्यात गर्नुभन्दा स्वदेशमै वातावरणमैत्री ग्रीन डाटा सेन्टर स्थापना गरी ‘कम्प्युटिङ पावर’ निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बुधबार नेपाल रिपब्लिक लिमिटेडद्वारा आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ मा बोल्दै अध्यक्ष अग्रवालले आधुनिक प्रविधिको उपयोग मार्फत डिजिटल अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने बताए।

अहिले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको लहर चलेकाले ठुला डाटा सेन्टरहरूका लागि अथाह ऊर्जाको माग रहेको उनले उल्लेख गरे।

नेपालको चिसो जलवायु डाटा सेन्टरका लागि बरदान सावित हुने दाबी गर्दै अग्रवालले भने, ‘डाटा सेन्टर चिस्याउन धेरै बिजुली खर्च हुन्छ। नेपालको प्राकृतिक रूपमै चिसो मौसम भएकाले यहाँ कुलुङ खर्च १५ प्रतिशत सस्तो पर्छ। हाम्रो हरियो र स्वच्छ ऊर्जा प्रयोग गरेर नेपाललाई संसारकै उत्कृष्ट डाटा हब बनाउन सकिन्छ।’

प्रसारण लाइन निर्माणको झन्झट र छिमेकी मुलुकहरूसँग हुने भू-राजनीतिक तनावलाई छल्नका लागि पनि ‘कम्प्युटिङ पावर’ निर्यात सबैभन्दा उत्तम विकल्प भएको उनको तर्क थियो।

भुटानले यसअघि नै करिब १ हजार मेगावाट क्षमताको डाटा सेन्टर विकास गरिसकेको उदाहरण दिँदै उनले नेपालले पनि इन्टरनेट फाइबर मार्फत सिंगापुर, अमेरिका र मध्यपूर्वमा सिधै डाटा सेवा बेचेर ठुलो विदेशी मुद्रा आर्जन गर्न सक्ने सुनाए।

वर्ल्डलिङ्कको भगिनी संस्था ‘डेटा वर्ल्ड’ ले मातातीर्थमा नेपालकै पहिलो अत्याधुनिक ‘टियर-३’ डाटा सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले यस्ता आयोजनाहरूलाई जलविद्युत गृहहरू नजिकै दुर्गम क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने सुझाए। यसो गर्दा डाटा सेन्टरको कुलिङ मेसिनबाट आउने मधुरो आवाजले मानव बस्तीलाई असर नगर्ने उनको भनाइ थियो।

यद्यपि, सरकारी नीतिका कारण यस क्षेत्रले सोचेजस्तो गति लिन नसकेको गुनासो उनले गरे।

सरकारले भौतिक रूपमा वस्तु उत्पादन गर्नेलाई मात्र ‘उद्योग’ मान्ने तर डाटा सेन्टर जस्ता सेवालाई उद्योगको दर्जा नदिने संकुचित नीति राखेको उनले टिप्पणी गरे।

डाटा सेन्टरलाई उद्योगको दर्जा दिएर नेपाल विद्युत प्राधिकरणले सहुलियतपूर्ण औद्योगिक विद्युत महसुल उपलब्ध गराएमा मात्र मुलुकमा डिजिटल रूपान्तरण सम्भव हुने अग्रवालको दाबी छ।

प्रकाशित: २४ असार २०८३ २०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App