प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका औद्योगिक क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि समिति सक्रिय रूपमा अघि बढ्ने बताएका छन्।
मंगलबार बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले औद्योगिक क्षेत्रको व्यवस्थापन, उद्योग सञ्चालनको अवस्था तथा श्रमिकहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न निरीक्षण गरिएको बताए।
"बालाजु औद्योगिक क्षेत्रको मात्र होइन, देशभरका औद्योगिक क्षेत्रको व्यवस्थापन कसरी भइरहेको छ, अहिलेको वास्तविक अवस्था के छ र कस्ता काम अघि बढिरहेका छन् भन्ने बुझ्न हामी यहाँ आएका हौँ। उद्योगभित्र कार्यरत श्रमिकहरूको अवस्था पनि अध्ययन गरिरहेका छौँ," सभापति अन्सारीले भने।
उनले स्थलगत अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा समितिले उद्योग क्षेत्रसँग सम्बन्धित नीति, कानुन र तिनको कार्यान्वयनबारे सरकारसँग जवाफ माग्ने तथा आवश्यक सुधारका लागि पहल गर्ने स्पष्ट पारे।
"समितिमा उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा नीतिगत छलफल हुनेछ। अध्ययनका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक जवाफदेहिता सुनिश्चित गर्ने काम पनि गर्छौं," उनले भने।
सभापति अन्सारीले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई थप अधिकारसम्पन्न, प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्न समितिले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
"यस लिमिटेडलाई अझ अधिकारसम्पन्न, सक्षम र प्रभावकारी संस्थाका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा समितिको विशेष ध्यान रहनेछ," उनले बताए।
प्रकाशित: २३ असार २०८३ २१:५३ मंगलबार





