पर्यटकको आवागमनमा सहजीकरण गर्न होटल संघ नेपालले आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान् युवाहरुको आत्माको चिरशान्तिको कामना गर्दै संघले घाइतेको स्तरीय स्वास्थ्य उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
‘युवाको बलिदानबाट सिर्जना भएको नयाँ भविष्यको प्रारम्भ गर्ने वर्तमान संक्रमणकालमा देश र जनताको हितमा हुने वार्ता लगायतका सबै प्रयासहरुको सफलताको कामना गर्दै विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरुको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय रहेको हुँदा सम्बन्धित सबैबाट यथोचित पहल होस,’ होटल संघ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आसन्न चाडपर्व र पर्यटकीय सिजनको प्रारम्भ हुने समयमा सृजित नयाँ परिवर्तन र संक्रमणकालमा नेपालमा रहेका र आउने पर्यटकहरुको उचित व्यवस्थापनमा होटल लगायत आतिथ्य क्षेत्र सदा झैं क्रियाशील रहने भएकाले सबै पक्षबाट आवश्यक सहयोग र सहकार्यको अपील संघले गरेको छ ।
संघले विज्ञप्तिमार्फत भनेको छ, ‘वर्तमान परिस्थितिबाट प्रभावित देशका विभिन्न भागमा रहेका पर्यटकको उपयुक्त व्यवस्थापन एवं सहजीकरण गर्न होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड तथा नेपाली सेनाको सहकार्य र संयोजनमा कार्य गर्दै आएको छ । अलपत्र परेका पर्यटकहरुलाई होटल आवास आवश्यकता भए होटल संघ नेपालको हटलाइन सम्पर्क नं. ९८५१०३१४९५ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।’
प्रकाशित: २५ भाद्र २०८२ १३:२३ बुधबार





