४ श्रावण २०८३ सोमबार
image/svg+xml
अर्थ

कुल विद्युत् उत्पादनको आधा बागमती प्रदेशबाट

नेपालमा जलविद्युत् उत्पादनको इतिहास ११५ वर्ष पुगिसकेको छ। १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना सञ्चालन भएपछि सुरु भएको नेपालको विद्युत् विस्तार पछिल्लो समय निरन्तर बढ्दै गएको छ। त्यसमा पनि बागमती प्रदेश देशको विद्युत् उत्पादन, प्रसारण र उपभोगका दृष्टिले सबैभन्दा अगाडि छ।

नेपालको कुल विद्युत् उत्पादन क्षमताको करिब ४५ प्रतिशत योगदान बागमती प्रदेशले मात्र दिएको बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०८१/८२ को रिपोर्टले देखाएको छ। बागमती प्रदेशमा नेपाल विद्युत् प्राधिकरण, सार्वजनिक सहायक कम्पनी तथा स्वतन्त्र विद्युत् उत्पादकमार्फत सञ्चालित ठूला–साना आयोजना सञ्चालनमा रहेका छन्।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले गरेको आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुनसम्म प्रदेशको स्थापित विद्युत् उत्पादन क्षमता करिब एक हजार ५८८ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका विद्युत् उत्पादन विभागका प्रमुख तर्कबहादुर थापाका अनुसार हाल देशभर चार हजार १४० मेगावाट विद्युत् उत्पादन भएको छ। सरकारले १२ हजार १३९ मेगावाटको पिपिए सम्पन्न गरेको छ।

विद्युत् पहुँचका दृष्टिले पनि बागमती प्रदेश देशभरिमा अगाडि छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार वैकल्पिक ऊर्जासहित प्रदेशका ९९.७५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ। ९० प्रतिशत घरधुरीमा प्रसारण लाइन जडान भएको उल्लेख छ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन हेटौंडाका साहायक प्रबन्धक निर्देशक अभिनाश महतका अनुसार बागमतीमा १२ लाख ७४ हजार ४२७ उपभोक्ता विद्युत् सेवामा आवद्ध भएका छन्। बागमतीमा १५ लाख ७० हजार ९२७ परिवार र ११ लाख ६१ हजार २८४ घरधुरी छन्। ‘बागमती प्रदेशका अधिकांश भागमा विद्युत् सेवा पुगेको छ’, सहायक प्रबन्धक निर्देशक महतले भने ‘अब चितवनको राप्तीका १०, ११ र १२ नम्बर वडाका केही भाग, सिन्धुलीका केही भाग बाँकी होलान्।’

उनका अनुसार विद्युत् नपुगेका ठाउँका मानिसले सौर्य ऊर्जा, मट्टितेल वा अन्य स्रोतको प्रयोग गरेका छन्। बागमती प्रदेशमा नेपाल विद्युत् प्राधिकरणका २६ वटा वितरण केन्द्र सञ्चालनमा छन्। अघिल्लो आवमा बागमतीमा ३,२८६.१३ मेगावाट–घण्टा विद्युत् बिक्री भएको उनले बताए। सो अवधिमा प्रदेशबाट ३५.१ अर्ब रुपैयाँ बराबरको बिक्री भएको छ। यद्यपि ३४.५६ अर्ब रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

यस प्रदेशमा सरकारी तथा निजी गरी एक हजार ५८८ मेवावाट विद्युत् उत्पादान भएको देखिन्छ।  नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेका अपर त्रिशूली–३ ए, कुलेखानी–१, कुलेखानी–२, कुलेखानी–३, त्रिशूली र देवीघाट आयोजना नियमित सञ्चालनमा छन्। अपर त्रिशूली–३ एले सबैभन्दा धेरै ३५६ गिगावाट–घण्टा विद्युत् उत्पादन गरेको छ। त्यसपछि कुलेखानी–१ बाट १७०.५६ गिगावाट–घण्टा, त्रिशूलीबाट ९७.७ गिगावाट–घण्टा, देवीघाट बाट ७६.४ गिगावाट–घण्टा, कुलेखानी–२ बाट ७४.९ गिगावाट–घण्टा तथा कुलेखानी–३ बाट ३४.३४ गिगावाट–घण्टा विद्युत् उत्पादन भएको छ।

सरकारी आयोजनाबाहेक पनि प्रदेशमा निजी तथा सार्वजनिक संयुक्त लगानीका ठूला आयोजना सञ्चालनमा छन्। ४५६ मेगावाटको अपर तामाकोसी देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। त्यसैगरी रसुवागढीले १११ मेगावाट, साञ्जेन तथा अपर न्यासेम ए ५७.३ मेगावाट, भोटेकोसी ४५ मेगावाट, चिलिमे २२ मेगावाट र बागमती नदी २२ मेगावाट विद्युत् उत्पादन गरिरहेको उनले जानकारी दिए।

निर्माणाधीन आयोजनाले थप बढाउँदै क्षमता

सरकारले बागमतीमा विद्युत् क्षमता बढाउँदै लगेको छ। यहाँ अहिले दर्जनौं जलविद्युत् आयोजना निर्माणाधीन छन्। त्यसमध्ये १०२ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। त्यस्तै ४१.८६ मेगावाटको सुपर लोअर बागमती आयोजानामा सुरुङ निर्माण तीव्र रूपमा भइरहेको जानकारी उनले दिए। त्यस्तै अपर न्यासेम–ए मा ४३ मेगावाट, अपर त्रिशूली–१ क्यास्केड २४.६ मेगावाट, माथिल्लो लाङटाङमा २४.३५ मेगावाट तथा बुढीगण्डकी प्रोक–१ ९३ मेगावाट क्षमता निर्माणका विभिन्न चरणमा छन्।

यी आयोजना सम्पन्न भएपछि प्रदेशको विद्युत् उत्पादन क्षमता अझ उल्लेखनीय रूपमा बढ्ने जानकारी नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले दिए। ‘हामीले विद्युत् विस्तार र क्षमतालाई प्रमुख प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘हामी विदेशमा समेत निर्यात गर्ने गरी अगाडि बढेका छौं।’

प्रकाशित: २४ असार २०८३ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App