१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

विद्युतीय कार भन्सार प्रकरण : रसुवागढी भन्सारका प्रमुखसहित ९ जना जिम्मेवारीमुक्त

विद्युतीय कार भन्सार प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित ९ जनालाई जिम्मेवारीमुक्त गरिएको छ।

रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारीसाधनको भन्सार जाँचपास भएको भनिएको घटनाबारे अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको हो। उनीहरूलाई भन्सार विभागमा तानिएको अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए।

यस्तै, बजेट घोषणा हुनुअघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार ढुङ्गानाद्वारा जारी अनुरोधपत्रमा उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको उल्लेख छ। साथै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका विद्युतीय कारको विषयमा पनि मन्त्रालयद्वारा गठित छानबिन समितिले स्थलगत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत संलग्न अनुसन्धान टोली हाल घटनास्थलमै रहेर अनुसन्धान गरिरहेको जनाइएको छ। प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा नियन्त्रणमा लिइएका सवारीसाधन तथा आयातकर्ता कम्पनीमाथि पनि अनुसन्धान जारी रहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, छानबिन प्रक्रिया जारी रहँदासम्म अर्थमन्त्री तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्रहत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गर्ने र बजेटलाई विवादमा पार्ने उद्देश्यले प्रचारबाजी तथा ‘मिडिया ट्रायल’ गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको छ।

यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको तथा अन्यको हकमा पनि कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

मन्त्रालयले अर्थमन्त्री तथा मन्त्रालयसँग सम्बन्धित विषयमा समाचार वा टिप्पणी तयार गर्दा सम्बन्धित अधिकारीसँग तथ्य बुझ्न, अर्थतन्त्र, बजेट र भन्सारजस्ता प्राविधिक विषयमा सत्य र प्रमाणित जानकारीका आधारमा मात्र सामग्री प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८३ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App