१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ। कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ।  

यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुलको ठेक्का सम्झौता २०७५ साल पुस १९ गते भएको थियो। यहाँ पुल निर्माणका लागि हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले रु छ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सकिए पनि पुल निर्माणले लामो समयदेखि हुन सकेको थिएन। घमी खोलामा पुल सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा सहज हुने अध्यक्ष विष्टको भनाइ छ। सम्झौताअनुसार विसं २०७८ पुस ९ गते पुल निर्माण भइसक्नुपर्ने थियो।  

निर्माण कम्पनीले प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाएर पुल निर्माण अलपत्र पारेको थियो। निर्माण कम्पनीलाई पटकपटक ताकेता गरिँदासमेत निर्माण कम्पनी कार्यस्थलमा नफर्किएपछि निर्माण कम्पनीलाई छ महिनाको अल्टिमेटम दिएर लागतको (०.०५) प्रतिशत जरिवाना लाग्ने गरी दैनिक हर्जाना तोकेको थियो।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने (बेनी–जोमसोम–कोरला)सडकमा १४ वटा पुल सम्पन्न भइसकेका छन्। माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आवमै सम्पन्न हुनेछ।रासस

प्रकाशित: ९ पुस २०८२ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App