१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

जेन–जीको आन्दोलनले धरानमा पाँच करोडको क्षति

जेन–जीको आन्दोलनका क्रममा धरानमा पाँच करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जेन–जीको नामबाट धरान क्षेत्रमा निजी घर, होटल र पार्टी कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाटबाट पाँच करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुकाअनुसार अहिलेसम्म पनि आन्दोलनका क्रममा भएको क्षतिको मुचुल्का तयार गरेर रिपोर्ट तयार गर्ने काम भइरहेकाले पूर्ण विवरण आइसकेको छैन । अहिलेसम्म प्रहरीले व्यक्तिका घर, होटल र पार्टी कार्यालयमा भएको क्षतिको विवरण संकलन गरिरहेको छ । धरानमा भएको आगजनीबाट सबैभन्दा बढी क्षतिभएको भाटभटेनी सपिङ् सेन्टरको भने कुनै क्षतिको अनुमान लगाउन नसकिएको जवेगुले नागरिकलाई बताए ।  

धरानमा जेन–जीको नामबाट निसाना बनाएरै व्यक्तिगत धनसम्पत्तिमा क्षति गरेपछि दोषीको नाम किटान गरि अहिलेसम्म १२ जनाले जाहेरी दिएका छन् । अहिलेसम्म २५ जनाविरुद्ध किटानी जाहेरी परेको  छ । घटनामा संलग्नको नामभने सार्वजनिक गरिएको छैन ।  

धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । यसैगरी, धरान उपमहानगर पालिकाका पूर्वप्रमुख मनोज मेन्याङ्वो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगर कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको घर तोडफोड भएको थियो । पूर्वमेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो । सञ्चालक न्याङ्वोले होटलबाट छ लाख रुपैयाँ नगदसमेत लुटिएको प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।  

यस्तै,  पूर्वउपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेलको कोठामा भएका सामान पनि तोडफोड गरिएको थियो । डीएसपी जबेगुले उजुरीकर्ताका घटनाको सुक्ष्म ढङ्गले खोज अनुसन्धान भईरहेको बताए ।

धरानमा भाटभटेनीमा आगजनी गरेको तीन दिनपछि चारवटा मानव कङ्काल फेला परेका थिए। पुरै जलेको कंकालमात्र फेला परेको थियो । भाटभटेनीको क्षतिको पूर्ण विवरण भने अझै आएको छैन । 

प्रकाशित: ६ आश्विन २०८२ २०:०२ सोमबार