१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अर्थ

अर्बौं लगानीको गौतमबुद्ध विमानस्थल सुनसान : शाह सरकारले नियमित उडान सुरु गर्ने आशा

मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ।

विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठुलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री, पर्यटनमन्त्री, संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकायसमक्ष ज्ञापनपत्र, छलफल, धर्ना र आन्दोलनमार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीको गुनासो छ।

राज्यले करिब रु ३५ अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको व्यवसायी बताउँछन्। विमानस्थल सञ्चालनमा आउने अपेक्षामा भैरहवा र आसपासका क्षेत्रमा होटल, पर्यटन पूर्वाधार, यातायात तथा अन्य व्यवसायमा ठुलो लगानी भए पनि नियमित हवाई सम्पर्कको अभावमा त्यसबाट अपेक्षित प्रतिफल लिन नसकिएको उनीहरूको भनाइ छ।

पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानीभन्दा दोब्बर बढी छ। ‘विमानस्थल सञ्चालनमा आउँछ, नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ र लुम्बिनीमा पर्यटकको आगमन बढ्छ भन्ने विश्वासमा निजी क्षेत्रले लगानी गरेको हो। तर, लामो समयदेखि नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन सकेको छैन’, उनले भने।

विमानस्थल सञ्चालनमा आएदेखि नै व्यवसायीले तत्कालीन विभिन्न सरकारसँग अन्तर्राष्ट्रिय उडान नियमित गराउन आग्रह गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासमक्ष समेत व्यवसायीले कम्तीमा एउटा वायुसेवाबाट नियमित उडान सुरु गराउन माग राखेका थिए। विभिन्न समयमा केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडान निरन्तर हुन सकेनन्।

नियमित उडानका लागि निजी क्षेत्रले गरेको दबाबका बाबजुद समस्या समाधान हुन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए। उनका अनुसार पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको छ।

‘यति ठुलो सम्भावना बोकेको विमानस्थलमा कम्तीमा एउटा वायुसेवाको नियमित उडान सञ्चालन गर्न सरकारले पहल गर्न सक्छ। तर, विगतमा त्यो हुन सकेन’, उनले भने, ‘नयाँ सरकार बनेपछि केही आशा पलाएको छ। सरकारले भैरहवाको विमानस्थललाई प्राथमिकतामा राखेर पहल गर्नुपर्छ।’

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रुपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीले विमानस्थल सञ्चालनको विषय पुनः उठाउँदै आएका छन्। व्यवसायीका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसम्म भेट गरी विमानस्थल सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका छन्।

यहीबिच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दुबई-पोखरा दैनिक उडान सुरु गरेको छ। बोइङ ७३७ म्याक्स-८ विमानमार्फत सुरु भएको उक्त उडानले पश्चिम नेपालमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारको नयाँ सम्भावना देखाएको छ।

पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि भैरहवाका व्यवसायीमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः नियमित उडान सुरु हुने अपेक्षा बढेको छ। पोखरा र भैरहवा दुवै पश्चिम नेपालका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल भएकाले सरकारले दुवै विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न आवश्यक पहल गर्नुपर्ने व्यवसायीको भनाइ छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ६९ हजार ३७७ यात्रुले अन्तर्राष्ट्रिय सेवा लिएका छन्। यस अवधिमा एक हजार २२२ वटा सेड्युल तथा चार्टर अन्तर्राष्ट्रिय उडान भएका छन्। ती उडानबाट विभिन्न मुलुकबाट ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु बाहिरिएका छन्।

विमानस्थलबाट पछिल्लोपटक सन् २०२६ मार्च २५ मा थाइ एयर एसियाले बैंकक-भैरहवा र भैरहवा-बैंकक उडान गरेको थियो। उक्त उडानबाट बैंककबाट १४ यात्रु भैरहवा आएका थिए भने भैरहवाबाट १०६ यात्रु बैंकक गएका थिए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी पवन अग्रहरीका अनुसार त्यसयता विमानस्थलमा कुनै अन्तर्राष्ट्रिय उडान भएको छैन। तत्कालका लागि अन्तर्राष्ट्रिय उडानको नयाँ सेड्युलसमेत प्राप्त नभएको उनले बताए। ‘माथिल्लो तहबाट के तयारी भइरहेको छ भन्नेबारे हामीलाई जानकारी छैन। तत्काल अन्तर्राष्ट्रिय उडान हुने सेड्युल भने छैन’, उनले भने।

विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न सरकारले पार्किङ तथा इन्धनलगायतका क्षेत्रमा विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरे पनि विमानस्थलबाटै अन्तर्राष्ट्रिय यात्रुका लागि आवश्यक कतिपय सेवा सहज रूपमा उपलब्ध हुन नसकेको व्यवसायीको भनाइ छ। भिसा सेन्टर, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा, म्यानपावरलगायतका सेवा सम्बन्धित कार्यालयबाट उपलब्ध हुन नसक्दा विमानस्थल सञ्चालनको वातावरण पूर्ण रूपमा तयार हुन नसकेको उनीहरूको गुनासो छ।

व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने, होटल तथा पर्यटन व्यवसाय विस्तार हुने, रोजगारी सृजना हुने र भैरहवा आसपासको व्यापारिक गतिविधि बढ्ने अपेक्षामा निजी क्षेत्रले लगानी गरेको हो। तर, नियमित उडान नहुँदा ती अपेक्षा पूरा हुन सकेका छैनन्।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले समेत संघीय संसद्मा पटक पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय उठाउँदै आएका छन्। व्यवसायीले भने संसद्मा आवाज उठाउनेदेखि सडक आन्दोलनसम्मका प्रयास गर्दा पनि विमानस्थल नियमित सञ्चालनको ठोस आधार बन्न नसकेको बताएका छन्।

विमानस्थलको धावनमार्ग, टर्मिनल भवनलगायतका प्रमुख पूर्वाधार तयार छन्। विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले होटल तथा अन्य पर्यटन पूर्वाधारमा समेत लगानी गरिसकेको छ। तर, नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा तयार पूर्वाधारको पूर्ण क्षमतामा उपयोग हुन सकेको छैन।

अहिले रुपन्देहीको निजी क्षेत्रको मुख्य चासो विमानस्थल निर्माणको विषयभन्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान कसरी सुनिश्चित गर्ने भन्नेमा केन्द्रित छ। पोखरामा फ्लाई दुबईको नियमित उडान सुरु भएपछि भैरहवामा पनि त्यस्तै गरी कम्तीमा एउटा अन्तर्राष्ट्रिय वायुसेवाबाट नियमित उडान सञ्चालन गराउन सकिने आशा व्यवसायीले गरेका छन्।

लुम्बिनी बुद्ध जन्मस्थल हुनुका साथै पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोडिएको क्षेत्र भएकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न सके त्यसको प्रभाव लुम्बिनीको पर्यटनसँगै रुपन्देहीको उद्योग, व्यापार र सेवा क्षेत्रमा समेत पर्ने व्यवसायीको अपेक्षा छ।

राज्यको ठुलो लगानीमा निर्माण भएको विमानस्थल, निजी क्षेत्रको ठुलो लगानी र लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन सम्भावनालाई एकै ठाउँमा जोडेर हेर्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित उडानमा ल्याउने ठोस पहलको प्रतीक्षा भइरहेको छ। व्यवसायीका लागि यो केवल एउटा विमानस्थल सञ्चालनको विषय नभई वर्षौँदेखिको लगानी, रोजगारी र लुम्बिनीको पर्यटन विकाससँग जोडिएको विषय बनेको छ। कमल रायमाझी/रासस

प्रकाशित: १४ आश्विन २०८३ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App