कास्कीको गगनगौंडामा रहेको शक्ति ग्यास प्रालिले मासिक ७० हजार सिलिन्डर ग्यास बिक्रीका लागि बजारमा पठाउँछ। उक्त कम्पनिले यो महिनाको विहीबारसम्म (फागुनको २८ दिन)सम्म ६७ हजार सिलिन्डर बजारमा पठाईसकेको छ। शुक्रबार र शनिबार पनि ग्यास बजारमा पठाउँदा अघिल्ला महिनाको जति नै ग्यास बजारमा जानेछ।
त्यस्तै अर्काे कम्पनि गृहलक्ष्मीले पनि अघिल्ला महिनाकै हाराहारीमा ग्यास बिक्री गर्दै आएको छ। नियमित रुपमा ग्यास आइरहेको र प्लान्टमा भरेर दैनिक रुपमा बजारमा पठाईरहेको कम्पनिले बताएको छ। नियमित रुपमा ग्यास आइरहेकोले अहिलेका लागि बजारमा सुनेजस्तो अभाव हुन नहुने कम्पनिहरुले बताएका छन्।
तर, पोखराका उपभोक्ता भने ग्यास नपाएको भन्दै भौतारिनुपरेको छ। पसलमा लामो समय पालो पर्खिदा पनि ग्यास पाउन नसकेको उपभोक्ताले बताएका छन्। बजारमा कृत्रिम अभाव खडा गरेर उपभोक्तालाई ग्यास नदिएको आशंका उपभोक्ताको छ।
शक्ति ग्यासका महाप्रबन्धक मेघराज पौडेलले बजारमा अघिल्लो महिनामा जत्तिकै ग्यास पठाएकोले अभाव हुन नहुने बताउँछन्। ‘१० प्रतिशत आयात तलमाथि हुन सक्छ। त्यसैको आधारमा अभाव नै हुनुपर्ने अवस्था होइन। हामीले नियमित रुपमा अघिल्ला महिनाकै जत्तिकै संख्यामा ग्यासका भरि सिलिन्डर बजारमा पठाएका छौ। तर, उपभोक्ताले नपाएको गुनासो छ,’ उनले भने, ‘हामीले नियमित रुपमा पठाएका छौ। तर, उपभोक्ताले चाहिने भन्दा बढी संख्यामा ग्यासका सिलिन्डर मौज्दात राखेकोले केहीलाई अभाव हुन गएको आशंका गर्न सकिन्छ।’ १० प्रतिशत घट्दैमा अभाव हुन नहुने उनले बताए।
उनका अनुसार पहुँच नहुने उपभोक्ताले अहिले बढि अभाव खेपेका छन। ‘पैसा हुनेले मात्र ग्यास राख्ने र अरुले भात पकाएर पनि खान नपाउने अवस्था सिर्जना नहोस। सबैलाई बराबरी तरिकाले ग्यास दिनुपर्छ। मौज्दात राख्न जरुरी छैन,’ पौडेलले भने, ‘कुनै महिना १० प्रतिशत बढ्नु र कुनैमहिना त्यत्तिकै आकारमा घट्नुले बजारमा यो अभाव देखिनु हुँदैन।’ नाकाबन्दीका बेला उपभोक्ताले धेरै संख्यामा सिलिन्डर संकलन गरेको र अहिले तिनै सिलिन्डर भरेर घरमा ग्यास मौज्दात राखेकोले यो अभाव सिर्जना भएको हुनसक्ने उनले बताए। कृत्रिम अभाव खडा गरेर कमजोर उपभोक्तालाई अभावको अप्ठेरो पारेको भए त्यो अन्याय हुने उनले सुनाए।
‘मध्यपूर्वका मुलुकमा युद्ध भएको र त्यसको प्रभावले मुल्यवृद्धि हुने आशंकामा पहुँचवाला कतिपय उपभोक्ताले चाहिने भन्दा बढी संख्यामा ग्यास मौज्दात राखेको अनुमान छ। नत्र यो अभाव हुने समय होईन। अहिले मौज्दात राख्न जरुरी पनि छैन,’ पौडेलले भने, ‘यतिसम्म गरेका छन की उपभोक्ताले वर्षाैसम्म उपयोग नभएका ग्यासका सिलिन्डर अहिले बजारमा निकालेका छन्।’
गगनगौंडामा रहेको अर्काे कम्पनि गृहलक्ष्मी कम्पनिका महाप्रबन्धक भीमराज लामिछानेले पनि बजारमा अहिले ग्यास अभाव हुन नहुने बताउँछन्। ‘अहिले नै मध्यपूर्वका मुलुकमा देखिएको युद्धको प्रभाव परेको होईन। तर, उपभोक्तामा मानसिक त्रास छाएको छ। अभाव भएको होइन, तर, पहुँचवालाले एकैपटक धेरै संख्यामा मौज्दात बढाएकोले यो समस्या थपिएको हो,’ लामिछानेले भने, ‘नियमित रुपमा अघिल्ला महिनाकै हाराहारीमा हामीले ग्यास बजारमा पठाएका छौ। तर, उपभोक्ताको माग बढेको छ।’
उनका अनुसार गृहलक्ष्मीले मासिक ६० बुलेट ग्यास ल्याएर भरेर बजारमा पठाउँछ। एक बुलेटबाट १२ सय ५० सिलिन्डर ग्यास भरिन्छ। अहिले पनि पहिलेकै आकारमा ग्यासका बुलेट आएको र त्यही आकारमा भरेर पठाएको लामिछानेले बताए। ‘कहिलेकाँही १–२ वटा बुलेट ग्यास कम आएको हुनसक्छ। अहिले पनि केही घटेको होला, तर, बजारमा यो खालको अभाव हुनुपर्ने अवस्था भने होइन,’ लामिछानेले भने, ‘पछिल्लो १५ दिनमा बजारमा पठाएको ग्यास सिलिन्डरको आकार एकैखालको छ।’ उनले अहिले बजारमा दिनमा २५ सय देखि ३ हजार हाराहारीमा सिलिन्डर पठाईरहेको दावी गरे।
नियमित रुपमा एउटै आकारमा ग्यास बजारमा पठाउँदा पनि माग बढेको उनले बताए। ‘बजारको माग यति धेरै छ की उपभोक्ताको लाम लाग्ने बेला भईसक्यो। डिलरले माग बढाएका छन्। हामीले नियमित रुपमा ग्यास पठाएका छौं,’ उनले भने, ‘खाना पकाउनकै लागि अभाव हुन नहुने हो। कतिपय पहुँचवाला उपभोक्ताले धेरै संख्यामा ग्यास मौज्दात राखेको आशंका गर्न सकिन्छ।’
ग्यासका बिक्रेता भने बजारमा उपभोक्ताको माग अधिक बढेकोले दवावमा रहेको बताउँछन। ‘ग्यास झरेको देखेपछि उपभोक्ताको भीड लाग्छ। अहिले बजारमा यति धेरै माग भईरहेको छ की हामीलाई ग्यासको माग पुरा गर्न हम्मेहम्मे छ,’ ग्यास चुलो प्रालिका संचालक सन्त लामिछाने भन्छन, ‘हामीले कम्पनिसँग माग गर्ने हो। हामीले माग गरे अनुसार कम्पनिले दिन सकेको पनि छैन। केही संख्यामा कटौती भएपछि अहिले सकस थपिएको हो। उपभोक्ताले आवश्यकता भन्दा बढी संख्यामा मौज्दात राखेकोले पनि समस्या बढेको हो।’
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बजारमा ग्यास अभाव भएको हल्लासँगै विहीबार पोखराका दुईवटा ग्यास प्लान्टका संचालकसँग सोधपुछ पनि गरेकी थिईन। ‘बजारमा अभावको हल्ला सुनिएको छ। तर, उपभोक्ताले प्रशासनमा जानकारी गराएका छैनन। अहिले आवश्यकता भन्दा बढी संख्यामा सिलिन्डर मौज्दात राखेको आशंका छ। अनावश्यक संख्यामा सिलिन्डर मौज्दात राख्न जरुरी छैन,’ उनले भनिन, ‘नियमित आयात भएकोले पोखरामा अभाव हुन नहुनेमा हामी सचेत छौ। पोखरामा अघिल्ला महिनाकै हाराहारीमा अहिले पनि ग्यास आयात भईरहेको छ।’
पोखरामा आफैमा पर्यटकीय सहर भएको र पर्यटकका लागि होटल र रेस्टुरेन्टमा धेरै खपत हुने भएकोले पनि अभाव हुन नदिन स्थानीय प्रशासन सचेत रहेको उनले बताईन। ‘उपभोक्ताले पनि मौज्दात राख्नु भएन। बिक्रेताले पनि उपभोक्तालाई दिएको ग्यासको रेकर्ड राख्नुपर्छ। साच्चै अभाव भएको अवस्थमा प्रशासनले आवश्यक कदम चालेर बजार अनुगमन गर्नेछ,’ उनले भनिन, ‘मौज्दात राख्न जरुरी छैन। बरु, विद्युतीय चुल्होतिर पनि पहुँच बढाउनुपर्छ।’
पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन्। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १८:३८ बिहीबार





