२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि छलफल सुरु भएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो।  

प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताअनुसार नीति तथा कार्यक्रम र सोही आधारमा बजेट ल्याउनुपर्ने बताए। सङ्घीय प्रणालीलाई थप सुदृढ गर्नेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य निर्मला थापाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम आएको बताइन्।  

नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। प्रदेशसभा सदस्य कुसुम बुढा पुनले करको दर नभई दायरा बढाउनुपर्ने उल्लेख गरिन्।

उनले प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम र बजेट तुर्जमा गर्नुपर्ने बताइन्। उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य विन्दु पौडेलले केही नयाँ कार्यक्रम घोषणा गरिए पनि अधिकांश कार्यक्रम परम्परागत र सतही भएको बताइन्।

उनले नागरिकको माग र आकङ्क्षालाई पूरा गर्नेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन्।

प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले पर्यटन क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा नयाँ सोच र योजना समावेश भएको बताए।

उनले कतिपय कार्यक्रम तथा योजना कार्यान्वयनमा नीतिगत अस्पष्टताका कारण समस्या भइरहेको भन्दै पहिले त्यसलाई हल गर्नुपर्ने बताए।

प्रदेशसभा सदस्य सुनिता थापा, बेदबहादुर गुरुङलगायते नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएकी थिइन्।

त्यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए।

नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ।

‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’ को दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ।

प्रकाशित: २० जेष्ठ २०८३ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App