अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषले लगानी गर्नुपर्ने बताएका छन्। कोषको ३६ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा अर्थमन्त्री खनालले यस्तो जानकारी दिए।
उनका अनुसार, बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने अनुमति सरकारले दिएकोले उक्त परियोजनामा कोषसहित अन्य संस्थाले पनि लगानी गर्नुपर्ने हुन्छ। अर्थमन्त्री खनालले दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै भने, “कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक छ। मेरो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने विश्वास छ।”
उनले १५–२० वर्षे अवधि भएको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै यस्तो ऋणपत्रले आर्थिक तरलता न्यूनीकरणमा सहयोग पुर्याउने बताए। साथै, सार्वजनिक–निजी साझेदारीमार्फत नयाँ परियोजना र कृषि परियोजनाको लागि भूमिको हदबन्दी हटाएर अघि बढ्न सकिनेमा पनि जोड दिए।
आर्थिक दृष्टान्तका अनुसार, कोष २०४७ सालमा अन्तरिम सरकारको समयमा स्थापना भएको थियो र अहिले जेनजी आन्दोलनपश्चात ३६ औँ वर्षमा प्रवेश गरेको स्मरण गराउँदै उनले कोषलाई ७२ वर्षसम्मको शुभकामना दिए।
कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोष स्थापना कालदेखि नै निरन्तर नाफामा सञ्चालन हुनु, फरक–फरक योजनाहरू सञ्चालन गर्नु, र प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्नु कोषको सफलता भएको बताए। उनले देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन, रोजगारी सिर्जना गर्न, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी आवश्यक भएको औँल्याए।
कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले हाल सात वटा योजना सञ्चालन गरिरहेको र उपलब्ध फन्डलाई पूर्वाधार निर्माण तथा भेन्चर क्यापिटलमार्फत लगानी विस्तारमा लगाउने काम गरिरहेको जानकारी दिए। यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रियामा पनि अघि बढाइएको उनले बताए।
उनका अनुसार, ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित गरेको छ। साथै, उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकोले त्यसमा समानता ल्याउनु आवश्यक छ। “सरकारले दिने सामाजिक भत्ताको कार्य कोषले सञ्चालन गरेको नागरिक पेन्सन योजनाबाट गर्न सकिन्छ, तर त्यसका लागि कर दरमा समायोजन आवश्यक छ,” उनले भने।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र परियोजनामा लगानी गर्नुपर्ने बताए। कोषका पूर्व अध्यक्ष डा. महाश्रम शर्माले आर्थिक र सामाजिक रूपान्तरणमा कोषले महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युत पौडेलले कर्मचारीको वृत्ति विकास र सेवा सुविधामा वृद्धि गर्नुपर्ने बताए भने, नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले आउँदो बजेटमा कर सहुलियतको व्यवस्था र करार कर्मचारीलाई सीमित प्रतिस्पर्धाको अवसर दिनुपर्ने धारणा राखे।
सो अवसरमा उत्कृष्ट कर्मचारी र जेनजी आन्दोलनमा कोषमा कार्यरत सुरक्षाकर्मीहरूलाई सम्मान पनि गरिएको थियो।
प्रकाशित: ४ चैत्र २०८२ १६:२६ बुधबार

