९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

सम्पदाबाट समृद्धितर्फ : भक्तपुरमा नयाँ अभ्यास

भक्तपुर धेरै पोखरी, मठमन्दिर, पाटीपौवा, बहाबही, सत्तल, ढुङ्गेधारा अनि परम्परागत बस्तीले भरिएको छ। विश्वप्रसिद्ध पाँचतले मन्दिर, दरबार क्षेत्रदेखि संसारकै लागि आकर्षक सम्पदाहरू यहाँ छन्। तर ती सम्पदाहरूलाई अहिलेसम्म स्थानीयको अर्थोपार्जनसँग प्रत्यक्ष जोड्न सकिएको छैन। यही अवस्थालाई ध्यानमा राख्दै सम्पदालाई अर्थसँग जोड्ने प्रयास थालिएको छ।

यस अभियानको थालनीस्वरूप नागपोखरी महोत्सव गरिएको छ। पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउने बहस सुरु भएको छ। भक्तपुरलाई चिनाउने सम्पदा केवल इतिहासका पाना र पर्यटकका लागि फोटो खिच्ने स्थलमा सीमित हुनु हुँदैन। भक्तपुर नगरपालिका–१० थालाछें नागपोखरीका स्थानीय इन्जिनियर कृष्णभक्त दुवाल भन्छन्, ‘नागपोखरी महोत्सवको थालनीलाई यही रूपमा हेरिनुपर्छ र यसलाई निरन्तर अगाडि बढाउँदै लैजानुपर्छ।’

भक्तपुरका पोखरीलाई केवल पानीको स्रोत वा पुरातात्त्विक सम्पदाका रूपमा मात्र नहेरी पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास थालिनुपर्ने उनको जोड छ। यही क्रममा भक्तपुरको नागपोखरीमा हालै मेला तथा महोत्सव आयोजना गरी पोखरीलाई समुदायको आर्थिक र सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने पहल गर्नु उदाहरणीय भएको उनको विश्लेषण छ। महोत्सवले पोखरी वरपरको सांस्कृतिक जीवनलाई उजागर गर्नुका साथै स्थानीय उत्पादन, कला, संस्कृति, खानाका परिकार र सिर्जनात्मक गतिविधिलाई बजारसँग जोड्ने आधार तयार गरेको उनको बुझाइ छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ–सम्पदाबाटै समुदायले कसरी लाभ लिन सक्छ?

पोखरी संरक्षणसँगै आर्थिक गतिविधि

भक्तपुरका धेरै पोखरीको आफ्नै इतिहास, किंवदन्ती र सांस्कृतिक महत्त्व छ। कतिपय पोखरी धार्मिक संस्कारसँग जोडिएका छन् भने कतिपय सार्वजनिक जीवनका महत्त्वपूर्ण स्थलका रूपमा स्थापित छन्। यस्ता पोखरीको संरक्षण मात्र नभई यसलाई स्थानीयको अर्थतन्त्रसँग जोड्नुपर्ने भनाइ स्थानीयको छ। यसो गर्न सकिए स्थानीय युवालाई रोजगारी र व्यवसायको अवसरसमेत सिर्जना गर्न सक्ने विश्वास छ।

पोखरी परिसरमा नियमित सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, परम्परागत परिकारको प्रवर्द्धन, हस्तकला बिक्री तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना यसले देखाउँछ।

नागपोखरीमा गरिएको मेला तथा महोत्सवलाई यही सम्भावनाको एउटा प्रयोगका रूपमा लिन सकिन्छ। सम्पदा स्थलमा मानिसको आवागमन बढाउँदा स्थानीय पसल, खानाका परिकार, हस्तकला तथा अन्य साना व्यवसायले पनि लाभ लिन सक्छन्। कार्यक्रमकै क्रममा पोखरी आसपास हजारौँ मानिस दिनभर जम्मा भएका थिए। यसरी सम्पदा संरक्षण र स्थानीय अर्थतन्त्रबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकिने देखिन्छ।

‘आर्ट रेसिडेन्सी’को नयाँ अवधारणा

भक्तपुरका सम्पदालाई आयआर्जनसँग जोड्ने क्रममा ‘आर्ट रेसिडेन्सी’को अवधारणालाई पनि अगाडि बढाउन सकिने अनुभवीहरूको भनाइ छ। कला र संस्कृति क्षेत्रमा काम गर्ने कलाकारलाई केही समय भक्तपुरमै बस्ने, यहाँको संस्कृति, वास्तुकला, जात्रा, जीवनशैली र सम्पदाको अध्ययन तथा सिर्जना गर्ने अवसर उपलब्ध गराउने अवधारणा नै आर्ट रेसिडेन्सी भएको बताउँछन् भक्तपुर सुकुलढोकाका स्थानीय चन्दन ताम्राकार।

भक्तपुरजस्तो जीवन्त सांस्कृतिक सहरका लागि यो अवधारणा अझ उपयोगी हुन सक्ने उनको भनाइ छ। स्वदेशी तथा विदेशी कलाकारलाई यहाँ ल्याएर उनीहरूलाई निश्चित अवधिसम्म बस्ने र सिर्जना गर्ने वातावरण बनाउन सकिए भक्तपुर अन्तर्राष्ट्रिय कला सिर्जनाको केन्द्रका रूपमा समेत विकास हुन सक्ने सम्भावना उनी व्यक्त गर्छन्।

कलाकारले यहाँ बसेर चित्रकला, मूर्तिकला, फोटोग्राफी, चलचित्र, संगीत, नृत्य, साहित्य तथा डिजिटल कलामा काम गर्न सक्छन्। उनीहरूले सिर्जना गरेका कलाकृति प्रदर्शनीमा राख्न सकिन्छ। कार्यशाला, कला प्रदर्शनी र सांस्कृतिक संवाद सञ्चालन गर्न सकिन्छ। यसले कलाकारलाई मात्र होइन, स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, हस्तकला व्यवसायी र अन्य सेवा क्षेत्रलाई पनि प्रत्यक्ष लाभ पुर्‍याउन सक्छ। यस अर्थमा आर्ट रेसिडेन्सी केवल कलाकारका लागि कार्यक्रम नभएर सम्पदा, पर्यटन, कला र स्थानीय अर्थतन्त्रलाई एउटै सूत्रमा जोड्ने माध्यम बन्न सक्छ।

सम्पदा संरक्षण कि खर्च मात्रै?

सम्पदा संरक्षणलाई लामो समयसम्म सरकारी बजेट खर्च गर्ने विषयका रूपमा मात्र बुझ्ने गरिएको छ। तर बदलिँदो समयमा सम्पदालाई आर्थिक रूपमा दिगो बनाउने अवधारणा आवश्यक हुँदै गएको छ।

भक्तपुरमा रहेका ऐतिहासिक सम्पदालाई व्यवस्थित रूपमा पर्यटन र सिर्जनात्मक अर्थतन्त्रसँग जोड्न सकिए सम्पदाले आफैँले आफ्नो संरक्षणमा योगदान पुर्‍याउन सक्छन्। त्यसका लागि सम्पदा क्षेत्रमा आउने पर्यटक तथा आगन्तुकबाट प्राप्त हुने आम्दानीको निश्चित हिस्सा संरक्षणमा लगाउने, स्थानीय समुदायलाई व्यवसाय सञ्चालनमा प्राथमिकता दिने र सम्पदाको मौलिकता नबिगार्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्न सकिने अवधारणा अघि सारिएको छ।

यसका लागि सम्पदालाई व्यापारिक स्थलमा परिणत गर्ने होइन, सम्पदाको मौलिकता जोगाउँदै त्यससँग सम्बन्धित आर्थिक गतिविधि सिर्जना गर्ने नीति आवश्यक हुन्छ।

स्थानीयलाई लाभ पुग्ने मोडल आवश्यक

सम्पदाबाट आम्दानी गर्ने कुरा गर्दा स्थानीय समुदायलाई केन्द्रमा राख्नुपर्ने हुन्छ। बाहिरबाट आउने व्यवसायीले मात्र लाभ लिने र स्थानीय समुदाय दर्शक मात्रै बन्ने अवस्था सिर्जना भए सम्पदा संरक्षणमा दीर्घकालीन जनसहभागिता जुटाउन कठिन हुन्छ।

त्यसैले सम्पदासँग सम्बन्धित आर्थिक गतिविधिमा स्थानीय युवालाई प्राथमिकता दिने, स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने, परम्परागत सीप भएका समुदायलाई प्रोत्साहन गर्ने र महिलालाई समेत उद्यमसँग जोड्ने नीति आवश्यक भएको स्थानीय युवा बताउँछन्।

भक्तपुरको परम्परागत जुजु धौ, हस्तकला, माटाका भाँडा, पौभा तथा परम्परागत चित्रकला, काष्ठकला, धातुकला, स्थानीय परिकारलगायत उत्पादनलाई सम्पदा पर्यटनसँग जोड्न सकिन्छ। यसले पुराना सीप र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्ताका लागि रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सक्ने युवाहरूको भनाइ छ।

पोखरीदेखि सम्पदासम्म

नागपोखरीमा आयोजित मेला तथा महोत्सवलाई यही ठूलो यात्राको सुरुवातका रूपमा हेर्न सकिन्छ। एउटा पोखरीलाई केन्द्रमा राखेर सांस्कृतिक र आर्थिक गतिविधि गर्न सकिन्छ भने भक्तपुरका अन्य पोखरी र सम्पदालाई पनि क्रमशः यस्तै अवधारणामा विकास गर्न सकिन्छ।

भक्तपुरका सम्पदालाई संरक्षण गर्न अब केवल ‘बजेट चाहियो’ भन्ने सोच पर्याप्त नहुन सक्छ। सम्पदाले आफैँ आम्दानी सिर्जना गर्ने र त्यही आम्दानीको एउटा हिस्सा पुनः सम्पदा संरक्षणमा लगानी हुने चक्र निर्माण गर्नु आवश्यक छ।

पोखरीमा मेला, सम्पदा क्षेत्रमा कला प्रदर्शनी, कलाकारका लागि आर्ट रेसिडेन्सी, स्थानीय उत्पादनको बजार, सांस्कृतिक कार्यक्रम र परम्परागत सीपको प्रवर्द्धनजस्ता कार्यक्रमलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सकिए भक्तपुरको सम्पदा पर्यटन नयाँ चरणमा प्रवेश गर्न सक्छ।

भक्तपुरका पोखरी र सम्पदालाई समुदायको आयआर्जनसँग जोड्दै संरक्षणको दिगो मोडल विकास गर्न सकिए यहाँको संस्कृति जोगिने मात्र होइन, सम्पदाकै आधारमा स्थानीय अर्थतन्त्र बलियो बन्ने नयाँ बाटो पनि खुल्नेछ।

प्रकाशित: ९ भाद्र २०८३ १८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App