१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटकीय नगरी पोखरामा नि:शुल्क ‘सटल बस’ सञ्‍चालनमा

हवाई यात्रुलाई आउजाउमा सहज हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि संचालन गरिएको सटल बस। तस्बिरः नागरिक

हवाई यात्रुलाई आउजाउमा सहज पुर्याउने उद्देश्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म ‘सटल बस’ सेवा सुरुवात गरिएको छ। मंगलबारदेखि सुरुवात गरिएको यो सेवामा हालका लागि दुईवटा विद्युतीय बस संचालन गरिएको छ। ती बसलाई अमरसिंहचोकदेखि विमानस्थलस्थलमा नियमित आउजाउ गराइनेछ।  

सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुरुवात गरेका छन्। हालका लागि विमानस्थलदेखि अमरसिंहचोकसम्म निशुल्क बस सेवा संचालन गरिएको मेयर आचार्यले बताए। विमास्थलदेखि अमरसिंहचोकसम्म झन्डै तीनकिलोमिटर दूरी पर्छ।  

पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा मोटर सञ्चालन कम्पनीसँगको साझेदारीमा यो सेवा सञ्चालनमा ल्याएको मेयर आचार्यले बताए। आगामी असार मसान्तसम्म यो बस सेवा निशुल्क र त्यसपछि भाडादर तोकिने आचार्यले बताए। ‘हालका लागि तीनमहिनासम्म निशुल्क सेवा यात्रुले पाउनेछन। अमरसिंहचोक आएका यात्रु बस चढेर विमास्थल र विमास्थलबाट फर्केर अमरसिंहचोकसम्म जान पाइनेछ,’ उनले भने।  

मेयर आचार्यका अनुसार साउनपछि भने यो सेवा बिस्तार गरिनेछ। त्यसका लागि यातायात व्यावसायी र पर्यटन व्यावसायीसँग पनि सहकार्य गरिएको उनले बताए। 

‘हालका लागि निशुल्क हो। राज्यले पनि सधैंका लागि निशुल्क सेवा दिन सक्दैन। साउनपछि अरु व्यावसायीले गाडी चलाउनेछन,’ उनले भने, ‘निजी क्षेत्रका यातायात व्यावसायीले सवारी संचालन गरेपछि उनीहरुको लागत अनुसार भाडादर तय हुनेछ।’  

यहाँका पर्यटन व्यावसायी र यातायात व्यवासायीसँगको समन्वयमा निजी क्षेत्रले विमानस्थलसम्म गाडी चलाउने उनले बताए। मेयर आचार्यले पोखराका मुख्य पर्यटकीय गन्तव्य लेखनाथको बेगनासताल र फेवातालसम्म विमानस्थलबाट सहजै आउजाउ गर्न मिल्नेगरि बस सेवा संचालन गर्ने तयारी रहेको बताए। विमानस्थलसम्म ट्याक्सी भाडा अधिक महंगो भएको सर्वसाधारणको गुनासो रहेको र त्यसलाई यो सेवाले सहजता दिलाउने पनि मेयर आचार्यले बताए। हालका लागि ३२ सिट क्षमताका यी बस बिहान ६ बजेदेखि नै संचालन हुनेछन। विमानस्थलसम्म दैनिक पाँचहजार यात्रुको ओहोरदोहोर हुने अनुमान छ।

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार प्रतिगोटा १ करोड २४ लाख रुपैयाँका दरले अहिलेका लागि दुइवटा बस किनेर संचालन गरिएको छ। कृषि विकास बैंक र कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी बस संचालनका लागि आर्थिक सहयोग गरेका छन्। उनका अनुसार विमानस्थल केही टाढा रहेकोले ट्याक्सीले महंगो भाडा लिएको गुनासो आएको अवस्थामा बस संचालन गर्नका लागि पहल गरिएको हो।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँगको सहकार्यमा उडान तालिका मिलाएर यात्रुलाई सेवा दिनेगरि तयारी थालिएको छ,’ तिवारीले भने, ‘कति समयको अन्तरमा बस चल्ने भन्दा पनि हवाई उडानको तालिका हेरेर बिहानदेखि बेलुकीसम्म बस सेवा संचालन हुनेछ।’ उनका अनुसार जहाज अवतरण गरेपछि यात्रुहरु बसमा अमरसिंहचोकसम्म आउन पाउनेछन र त्यसपछि आफ्नो गन्तव्यमा जान सक्नेछन। त्यस्तै सार्वजनिक सवारीमा चढेर अमरसिंह पुगेका हवाई यात्रु त्यसपछि विमानस्थलको बस चढेर विमानस्थलसम्म पुग्न सक्नेछन।  

‘अमरसिंह चोक सार्वजनिक सवारीको सहज पहुँच भएको ठाउँ हो। पोखराका अधिकांश गन्तव्यमा जानका लागि अमरसिंहचोक पुगेपछि सवारी चढ्न पाइन्छ,’ उनले भने, ‘त्यसै अनुसार व्यवस्थापन गरिएको हो।’ महानगरले हाल दुईवटा मात्र बस संचालन गरेको भएपनि साउनपछि विमानस्थलसम्मको पहुँचमा थप सवारी पनि संचालन गर्न सकिने उनले बताए।  

प्रकाशित: १ वैशाख २०८३ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App