२९ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

राजमार्ग अवरुद्ध हुँदा पनि काठमाडौंमा १० दिनभित्र चार लाख सिलिण्डर वितरण

फाइल तस्बिर

नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।

इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए। नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदै आएको छ।

हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ।

यही भदौ १८ गतेदेखि २७ गतेसम्ममा वैकल्पिक मार्गहरू त्रिभुवन राजपथ तथा बिपी राजमार्ग हुँदै ल्याइएका करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिण्डर उपभोक्तालाई वितरण भइसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिए।

पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ। अवरुद्ध राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याएर बिक्री गरिने निगमले जनाएको छ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।

बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने छन्। काठमाडौंमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति सहज हुने विश्वास गरिएको छ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको निगमले जनाएको छ। सरकारले ग्यास भरिएका सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ।

अनुगमनका क्रममा लुकाएको पाइएका करिब एक हजार २०० थान सिलिण्डर उपभोक्तालाई वितरण गरिएको छ भने अनियमितता गर्ने विक्रेतालाई जरिवाना गराइएको निगमले जनाएको छ।

ग्यास सिलिण्डर बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकास गर्ने पहल पनि भइरहेको सहप्रवक्ता सुवेदीले जानकारी दिए। रासस

प्रकाशित: २९ भाद्र २०८३ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App