परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा मन्त्री राणाले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।
नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिसमेत उपस्थित बैठकमा मन्त्री डा राणाले भनिन्, ‘सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, शहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न आह्वान गर्दछु ।’
मन्त्री डा राणाले जलस्रोत, उर्वर भूमि र नदीहरु, घना जंगल, अद्वितीय जैविक विविधता एवं सांस्कृतिक सम्पदाहरुको घरका रुपमा रहेको यो प्रदेश स्रोत र साधनले सम्पन्न भएपनि बत्तिमुनिको अँध्यारोको अवस्थामा रहेकाले यी सम्भावनालाई अन्तर्राष्ट्रिय रुपमा उजागर गरी वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न सुदूरपश्चिम सरकारले लगानी सम्मेलनको आयोजना गर्नु खुसीको कुरा भएको बताइन ।
मन्त्री डा राणाले आजभन्दा तीन दशकअघिको सुदूरपश्चिमको अवस्थाको अहिले कसैले पनि कल्पना गर्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छोटै सयममा यस क्षेत्रमा पुल तथा सडक निर्माण भएसँगै काठमाडौंलगायत नेपालसँग जोडिन पुगेको बताइन ।
प्रकाशित: १३ भाद्र २०८२ १९:३७ शुक्रबार

