१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा फूल : मालाको १५० र थुङ्गाको ५ रुपैयाँसम्म

नेपालीको महान चाड तिहारमा पोखरामा फूलको मालाको मूल्यमा तीन खालको दर कायम गरेको पाइएको छ। 

पोखरा महानगरपालिकाले फ्लोरीकल्चर एशोसियसन नेपाल, कास्की शाखासँगको सहकार्यमा फूलको मालाको मूल्य तीन फरक फरक दर कायम गरेको हो। पोखरामा तिहारका लागि सानो थुङ्गाको मालाको मूल्य एक सय रुपैयाँ, मध्यमस्तरको थुङ्गाको माला १ सय ३० रुपैयाँ र ठूलो थुङ्गाको मालाको मूल्य १ सय ५० रुपैयाँ कायम गरेको पोखरा महानगरपालिकाले जनाएको छ।

तर फूलको थुङ्गाको आकार अनुसार एउटा मालाको मूल्य २ सयसम्म बेच्न पाइने सहमति भएको फ्लोरीकल्चर एशोसियसन कास्कीका अध्यक्ष सुवेदीको दाबी छ। ‘सामान्यतया सानो आकारको थुंगाको भए १००, मध्यम आकारको भए १३० र ठूलो आकारको भए १५० मा बेच्ने निर्णय छ, तर थुंगाको आकार र मालामा बढी थुंगा प्रयोग भएको अवस्थामा २ सय रुपैयाँसम्ममा बेच्न पाइने सहमति भएको छ,’ उनले भने।

त्यस्तै, फूलको एउटा थुंगाको मूल्य २देखि ५ रुपैयाँ निर्धारण गरिएको महानगरले जनाएको छ। सयपत्री फूल ठूलो थुंगा ५ रुपैयाँ, मध्यम आकार भएको थुंगा ३ रुपैयाँ र सानो आकारको थुंगालाई प्रति थुंगा २ रुपैयाँ कायम गरिएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर तिमिल्सिनाले जानकारी दिए। महानगरले फूलको मूल्य प्रति थुंगा २ देखि ५ रुपैयाँ तोके पनि भाईटीकाको दिन र त्यसको अघिल्लो दिन बजारमा फूलको अभाव देखाएर बिचौलियाहरूले प्रति थुंगा १०देखि २० रुपैयाँसम्म पुर्‍याउने गर्दछन्। 

त्यस्तै माला प्रतिमाला ५ सयभन्दा माथि बेच्ने गर्दछन्। जसका कारण आफूहरू ठगिने गरेको उपभोक्ताको गुनासो बारम्बार आउने गरेको छ।

तिहारमा सयपत्री फूल केजीको हिसाबले पनि बिक्री गरिन्छ। यस वर्ष महानगरले सयपत्री फूल थुंगा हेरेर प्रतिकेजी ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य तोकेको छ। महानगरले फूलको मूल्यसँगै पोखराका विभिन्न ठाउँमा तिहारका लागि फूल बिक्री केन्द्र पनि तोकेको छ। ती ठाउँबाहेक अन्य ठाउँमा असरल्ल राखेर फूल बिक्री गर्न नपाइने महानगरले स्पष्ट पारेको छ।

पोखरामा भारतीय फूलको माला प्रतिबन्ध छ। तर तिहारमा मात्रै अनुगमन हुने भएकाले अन्य समयमा भारतीय फूलको माला बिक्री हुँदै आएको छ। तर तिहारमा भने अनुगमनका कारण नभित्रिने दाबी गरिन्छ। यद्यपी लुकीछिपी ल्याएर पनि बेचेको भने पाइन्छ।

पोखरामा तिहारका लागि करिब तीन करोड रुपैयाँ बराबरको फूल खपत हुने गरेको छ। पोखरा र लेखनाथसहित नजिकका क्षेत्रहरूमा झण्डै साढे दुई लाख फूल खपत हुने गरेको र त्यसमा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने भएको हो।

तिहारका लागि पोखरामा आवश्यक फूल स्थानीय उत्पादनले धान्छ। स्थानीय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन। यहाँ खपत हुने फूल धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए। उनका अनुसार पोखरामा खपत हुने फूलमध्ये ८० प्रतिशत फूल स्थानीय पोखराका व्यवसायी र किसानले गरेको उत्पादनले धान्छ। त्यसबाहेक बाँकी २० प्रतिशत फूल छिमेकी जिल्लाबाट आउँछ।

७० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी ३० प्रतिशत पुष्प व्यवसायीले उत्पादन गर्नेगरेका छन्।

एशोसियसनले तिहारमा पोखरामा उत्पादित फूलको माला नै दाजुभाइलाई लगाई दिन विगतका वर्षहरूदेखि नै आग्रह गर्दै आएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App