१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
अर्थ

बाढीपहिरोले ३ खर्ब ८७ अर्बको क्षति, चार महिनाको पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक

भोटेकोशी तथा त्रिशूली बाढीपहिरोबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा वित्तीय संस्था, दूरसञ्चारलगायत क्षेत्रमा गरिएको प्रारम्भिक मूल्याङ्कनबाट उक्त क्षति देखिएको जानकारी दिए।

प्रारम्भिक क्षतिको तुलनामा अबको चार महिनाभित्र आवश्यक पर्ने अर्ली रिकभरी (प्रारम्भिक पुनःस्थापना) का लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

उप्रेतीका अनुसार भवन निर्माण, बस्ती तथा बसोबास, पुल, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा र दूरसञ्चारलगायत क्षेत्रलाई समेटेर चार महिनाको आवश्यकता पहिचान गरिएको हो।

‘हामीले अर्ली रिकभरीअन्तर्गत अबको चार महिनासम्म भवन निर्माण, बस्ती तथा बसोबास, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा तथा दूरसञ्चारलगायत सबै क्षेत्रमा कति खर्च लाग्छ भनेर अध्ययन गरेका थियौँ,’ उनले भने, ‘प्रारम्भिक अनुमानअनुसार चार महिनाभित्रको अर्ली रिकभरीका लागि ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको आवश्यकता देखिएको छ।’

११४ जनाको सीमा क्षेत्रबाट उद्धार

यसैबीच, उत्तरी चीन सीमा क्षेत्रबाट ११३ नेपाली र एक चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उनीहरूलाई उद्धार गरी काठमाडौं ल्याउने काम भइरहेको उप्रेतीले बताए। उनका अनुसार अर्को स्थानबाट पनि कम्तीमा २० जनालाई सकुशल उद्धार गरिएको छ।

‘उत्तरी क्षेत्र, चीन सीमा क्षेत्रबाट उद्धार भएर ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी जम्मा ११४ जना सकुशल उद्धार भई आज काठमाडौं फर्किँदै हुनुहुन्छ,’ उप्रेतीले भने, ‘साथै, कम्तीमा २० जना मानिस पनि अर्को ठाउँमा सकुशल बसिरहेको अवस्थाबाट हामीले उद्धार गरिसकेको अवस्था छ।’

टनेलमा फसेकाको उद्धार जारी

बाढीका कारण विभिन्न स्थानमा मानिस फसेको आशंकामा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।

विशेषगरी टनेलमा फसेकाको उद्धारका लागि अपरेसन जारी रहेको उप्रेतीले बताए। जीवितै उद्धार गर्न सकिने आशासहित टोली परिचालन भइरहेको उनको भनाइ छ।

‘टनेलको अपरेसनलाई पनि निरन्तरता दिएका छौँ। अझै पनि जीवितै उद्धार होस् भन्ने आशा र कामना गर्दछौँ,’ उनले भने।

उनका अनुसार हवाई उद्धार, खोजी तथा शव संकलनका लागि दैनिक १० देखि १२ वटासम्म हेलिकप्टर परिचालन भइरहेका छन्।

‘प्रत्येक दिन १०–१२ वटा हेलिकप्टर उडानमार्फत खोज, उद्धार तथा शव संकलन कार्य अगाडि बढिरहेको छ,’ उनले भने।

२१ वटा शिविरमा राहत ढुवानी

प्राधिकरणका अनुसार काठमाडौंबाट विभिन्न २१ वटा तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ।

भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न थप प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले तत्काल उद्धार र राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापनालाई पनि प्राथमिकतामा राखेको छ।

प्राधिकरणले सार्वजनिक गरेको ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँको क्षति प्रारम्भिक क्षेत्रगत मूल्याङ्कनमा आधारित रहेको जनाएको छ।

उप्रेतीका अनुसार प्रारम्भिक तथ्याङ्कलाई विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कनमार्फत थप स्पष्ट पारिनेछ।

यसबाट बाढीपहिरोले पुर्‍याएको वास्तविक भौतिक तथा आर्थिक क्षति, प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक स्रोत तथा दीर्घकालीन पुनर्निर्माणको लागत थप स्पष्ट हुने प्राधिकरणको भनाइ छ।

भोटेकोशी तथा त्रिशूली बाढीले एकातर्फ तत्काल उद्धार र राहतको चुनौती थपेको छ भने अर्कोतर्फ ठूलो आर्थिक क्षतिपछि प्रभावित बस्ती, पूर्वाधार, कृषि, ऊर्जा, सञ्चार तथा सामाजिक क्षेत्रको पुनःस्थापनाका लागि ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्था देखिएको छ।

प्रकाशित: १८ भाद्र २०८३ २०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App