स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको एउटा लजमा आगलागी हुँदा लज पूर्ण रुपमा ध्वस्त भएको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) मा संचालित पिसफुल लज एण्ड रेस्टुरेटमा आगलागी भएको हो। आगलागीले मानवीय क्षति नभएपनि पाहुनाका व्यक्तिगत सामान भने जलेका छन्। लजका भौतिक संरचना सबै ध्वस्त भएका छन। पाहुनाले भने भागेर ज्यान जोगाएका थिए।
स्थानीय व्यावसायीका अनुसार ग्यास सिलिन्डर लिक भएर लजमा आगो सल्किएको थियो। भान्सामा खाना पकाईरहेको बेला सिलिन्डरको ग्यास लिक भएर आगो सल्केको थियो। एउटा सिलिन्डरबाट सल्केको आगोमा परेर अरु सिलिन्डरको पाइप पनि जलेपछि ग्यास थपिँदा आगो नियन्त्रण बाहिर गएको थियो। छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले सिलिन्डरबाट लिक भएको ग्यासमा आगो सल्केपछि आगलागी भएको बताए।
‘एककरोड रुपैयाँ भन्दा बढीको भौतिक क्षति भएको छ। पाँचवर्ष अघि संचालित लजमा आगलागी हुँदै गर्दा झन्डै ४० जना पाहुना थिए। आगलागीले पाहुनामा व्यक्तिगत सामान जलेका छन,’ उनले भने, ‘मानवीय क्षति हुनबाट रोकिएपनि भौतिक रुपमा भने ठूलो क्षति भएको छ। पाहुनाले भागेर ज्यान बचाएका थिए ,’ उनका अनुसार एउटा सिलिन्डरबाट लिक भएको ग्यासमा आगो सल्केपछि घटना सुरु भएको थियो। उनका अनुसार गाइड र सहयोगी सहितका पाहुनाका लागि लजमा जम्मा नौवटा कोठा थिए। ती कोठामा ४५ जनासम्म पाहुना अटाउन सक्ने क्षमता थियो।
‘भान्सामा तीनवटा सिलिन्डरको कनेक्सन रहेछ। तीमध्ये सुरुवात एउटा सिलिन्डर ग्यास लिक भएर आगो सल्केपछि आगलागी सुरु भएको रहेछ। पछि तीनवटा सिलिन्डरको ग्यास बलेपछि आगो नियन्त्रणबाहिर गएको हो,’ उनले भने। उनका अनुसार आधारशिविरका ६ वटा मध्ये एउटा लजमा मात्र क्षति भएको हो। अरु पाँचवटा लज भने सुरक्षित छन्। अरु पाँचवटा लजमा भने अहिले पाहुनको भीडभाड रहेको छ। पर्यटकीय सिजनको यो बेला बंगलादेशी र भारतीय तथा आन्तरिक पाहुनको भीडभाड रहेको उनले बताए।
अन्नपूर्ण आधारशिविर (एबिसी)मा संचालित लजलाई न्यानो बनाउन म्याट्रेस, जस्तापाता, फोम लगायतका सामाग्री प्रयोग गरिएको थियो। जसले गर्दा आगो फैलिन सहज भएको उनले बताए। ‘गाडीको पहुँच थिएन। आगो लागेपछि निभाउनका लागि केही अग्नीनियन्त्रक उपकरण प्रयोग त गरिएको थियो। तर, सम्भव भएन,’ उनले भने, ‘मानवीय प्रयासमा आगो नियन्त्रणमा आएको हो।’
पर्यटकीय सिजनका बेला लजमा आगलागी हुँदा भौतिक क्षति त भएको छ नै पदमार्गका होटल नै असुरक्षित भनेर गलत सन्देश प्रवाह हुने चिन्ता पलाएको उनले बताए। ‘अफवाह फैलिने चिन्ता छ। क्षति पुगेको बाहेक अरु सबै लज र होटल यथावस्थामै संचालित छन,’ उनले भने, ‘अरु पाँचवटा लजमा अहिले पनि पाहुना छन। एउटामा मात्र क्षति भएको हो।’
क्षति भएको लजको पूर्ननिर्माणका लागि तत्काल पहल थाल्ने उनले बताए। ‘पर्यटकीय सिजन भएकोले यो बेला पाहुनाको भीडभाड पनि छ। खण्डहर बनेको संरचना राखिरहन पनि भएन। त्यसैले तत्काल मर्मत थाल्ने योजना छ,’ सचिव गुरुङले भने, ‘जेठ अन्तिमसम्म संचालनमा ल्याउने तयारी थालिसकेका छौं।’ सामान्य संरचना खडा गरेर भएपनि लज संचालनमा ल्याउन पहल थाल्ने उनले सुनाए।
प्रकाशित: १२ चैत्र २०८२ १४:२३ बिहीबार

