२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सेयर बजारमा अफवाहको पछि नलाग्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको पछिल्लो उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेका छन्।

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी सन्देशमा अर्थमन्त्रीको सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको गिरावटप्रति लगानीकर्ताको चिन्ता स्वाभाविक रहेको उल्लेख गर्दै अर्थतन्त्रका अधिकांश सूचक सुधारोन्मुख रहेको जनाएको छ।

सचिवालयका अनुसार मुलुकमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, कर नीतिमार्फत खर्च र लगानीलाई प्रोत्साहन गरिएको तथा राजस्व विवादमा परेकालाई विशेष छुट सुविधा दिई पुनः व्यवसाय सञ्चालनको अवसर प्रदान गरिएको छ। साथै, स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियामक निकायमा पारदर्शी र इमानदार नेतृत्व नियुक्त गरिएकाले बजार सुधारका योजनाबद्ध काम अघि बढिरहेको दाबी गरिएको छ।

सन्देशमा नियामक निकायले सेयर बजार सुधारका लागि आवश्यक कदम चालिरहेको र बजारमा कृत्रिम प्रभाव पार्ने तथा अनियमित गतिविधिमा संलग्नमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। यद्यपि, नामै किटेर व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्ने हल्ला भ्रामक भएको भन्दै सरकारले त्यस्तो ढंगले काम नगरेको स्पष्ट पारेको छ।

सचिवालयले केही समूहले परिस्थितिजन्य लाभका लागि गलत भाष्य निर्माण गर्दै त्रास फैलाउने प्रयास गरिरहेको आरोप लगाएको छ। क्लब हाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अनौपचारिक स्रोतबाट आउने सूचनामा विश्वास नगर्न र बजारसम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी निकायबाट मात्र सूचना लिन आग्रह गरिएको छ।

अर्थमन्त्रीले धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, जोखिमको मूल्याङ्कन गर्न तथा अफवाहका आधारमा निर्णय नगर्न पनि लगानीकर्तालाई सुझाव दिएका छन्।

सचिवालयले सबै नागरिक तथा लगानीकर्तालाई नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभकामना समेत व्यक्त गरेको छ।

प्रकाशित: १ श्रावण २०८३ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App