अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए ।
‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’
उनका अनुसार बजेट प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा २८.५ प्रतिशत मात्र रहेको छ । उनले प्रक्षेपित जिडिपी करिब ७४५८ रहेको उल्लेख गर्दै त्यो तथ्यांक परिस्थितिअनुसार तलमाथि हुन सक्ने बताए ।
प्रकाशित: १७ जेष्ठ २०८३ १६:३३ आइतबार





