करिब डेढ दशक अघिसम्म बुटवल, भैरहवामा एउटा पनि तारे होटेल थिएन। बुद्ध जन्मस्थल लुम्बिनीमा मुस्किलले ८/१० वटा ठुला पर्यटकीय होटेल थिए। साना र मझौला होटेल पनि थोरै थिए। बुटवलमा सिन्दुर, सिद्धार्थ, कन्दरा, रोयल, भैरहवामा यती, हिमालय, निर्भाणा जस्ता ठुला होटेल थिए। बुटवल भैरहवामा मझौला र साना होटेलको संख्या अलि धेरै थिए। २०६२/६३ को जनआन्दोलनपछि भने बुटवल भैरहवामा ठुला र स्तरीय होटेल खुल्ने क्रम सुरु भयो।
बुद्ध जन्मस्थल लुम्बिनीसँग होटेलको साइनो जापानी वास्तुविद केन्जो टांगेले निर्माण गरेको लुम्बिनी गुरुयोजनाको कार्यान्वयनसँग जोडिएको छ। सन १९८० को दशकदेखि लुम्बिनी गुरुयोजना कार्यान्वयनमा आएको थियो। गुरुयोजना कार्यान्वयनका चरणमा केन्जो टाँगेसँगै जापानबाट उच्चअधिकारीहरू र केही बौद्ध धर्मावलम्बीहरूको आगमन हुन थाल्यो।
तीनै पाहुनाको सेवा सत्कारका लागि जापानकै होक्के क्लबले सन १९९१ मा लुम्बिनी परिसरभित्रै होक्के होटेल खोलेको थियो। लुम्बिनी विकास कोषसँग ५० वर्षका लागि जग्गा लिजमा लिएर यो होटेल सञ्चालन गरिएको थियो।
संभवत यो नै लुम्बिनीको ठुलो लगानी र स्तरीय सेवासहितको पहिलो पर्यटकीय होटेल थियो। लुम्बिनी परिसरबाहिर पनि थोरै संख्यामा स–साना होटेलहरू थिए। १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि भने पर्यटकीय चहलपहल बढ्न थाल्यो। त्यसपछि लुम्बिनी परिसरबाहिर पनि आवाससहितका ठुला होटेल खुल्न थालेका हुन्।
२०७१ साल माघ १ गते भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरियो त्यसपछि मात्र रुपन्देहीमा प्रशस्त होटेल खुल्न थाले। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा जोड्ने र विदेशी पर्यटकको ओइरो लाग्ने चर्चा चुलियो। विगतका सरकार र राजनीतिक दलका नेताहरूले पनि विमानस्थलले लुम्बिनीसँगै सिंगो मुलुककै कायापलट गरी दिने योजना सुनाउन थाले। निजी क्षेत्रले पनि तत्कालीन सरकार र नेताका ती आश्वासन पत्याई दिए।
त्यसपछि लुम्बिनीमा होटेल खोल्न चाहनेको ओइरो लाग्यो। होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालका अनुसार रुपन्देहीमा मात्रै होटेल क्षेत्रमा झन्डै एक खर्ब बढी लगानी भएको छ। दर्ता गरी सञ्चालन गरिएका होटेलको संख्या २१ सयको हाराहारी छ।
बुटवल, भैरहवा र लुम्बिनीमा तारे होटेलकै संख्या १३ पुगेको छ। त्यसमा तीन वटा पाँचतारे छन्। बुटवलको ह्यात प्यालेस, भैरहवाको टाइगर प्यालेस र सिद्धार्थ भिलासा पाँचतारे होटेल हुन्। १० वटा चार तारे होटेल छन्। लुम्बिनीको बुद्धमाया गार्डेन, होक्के, कासाइ, लुम्बिनी हेरिटेज, भैरहवाको निर्भाणा, नान्स, ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, बोधी रेड सन, ल्यान्डमार्क, एसियन बुद्ध यी चार तारे होटेल हुन्।
यीबाहेक १५/२० वटा त स्टार लेबलका छन्। संघका अनुसार जिल्लामा करिब ३०० वटा ठुला लगानीका पर्यटकीय होटेल छन्। मझौला सात सय र साना होटेल, फार्म तथा रेष्टुराँहरूको संख्या एक हजार हाराहारीमा रहेको जानकारी संघका अध्यक्ष खनालले दिए। पर्यटकीय होटेलहरूमा विविधता दिन बुटिक होटेल, ठुला एग्रो फर्म तथा नेचर ओरिएन्टेड होटेलहरू खुल्ने क्रम पनि बढ्दो छ। होटेल उद्योगमा ३० हजारले रोजगारी पाएको जानकारी संघका अध्यक्ष खनालले दिए।
कतिपय ठुला व्यावसायिक घरानाले अहिले पनि थुप्रै जग्गा किनेर राखेका छन्। कतिले तारे होटेल निर्माण गरिरहेका छन्। कति निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भएसँगै लुम्बिनीको पर्यटन प्रवर्धनमा देखिएका सुधारका केही संकेतले होटेलमा लगानी ओइरिएको बताउँछन्, होटेल एसोसिएसन अफ नेपाल ‘हान’ का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ।
लुम्बनीमा मात्रै ठुला र मझौला गरी ७३ वटा होटेल रहेको लुम्बिनी होटेल संघका अध्यक्ष लिलामणि शर्माले बताए। त्यसो त सहरी क्षेत्रमा मात्रै हैन माछा पकेट क्षेत्रको रूपमा चिनिएको छपियामा समेत ठुला र स्तरीय पर्यटक केन्द्रित होटेल सञ्चालनमा छन्। रोजगारी सिर्जनाका दृष्टिले होटेलमा लगानी भित्रिनु राम्रो देखिए पनि दिगो पर्यटन प्रवर्धनका कार्यक्रम नहुँदा सोचे अनुरूप प्रतिफल पाउन नसकेको व्यवसायीको गुनासो छ।
गौतम बुद्ध विमानस्थलले लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा जोड्ने र पर्यटक आगमन बढ्ने विश्वासमा होटेल व्यवसायमा करोडौं लगानी गरेका थिए। उद्घाटन भएको चार वर्ष बितिसक्दा पनि भैरहबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन सकेका छैनन्। जसका कारण यही विमानस्थललाई हेरेर होटेलमा करोडौं लगानी गरेका व्यवसायी निराश छन्। बिजनेस नहुँदा कतिपय होटेल ऋण तिर्न नसकेर लिलामी हुने अवस्थामा पुगेका छन्।
‘अर्बौं लगानीको विमानस्थल सञ्चालन गर्ने दीर्घकालीन योजना सरकारसँग होला भन्ने बुझेका थियौं तर बिडम्बना चार वर्षसम्म एयरर्पोट सञ्चालन हुन सकेन, त्यही विमानस्थललाई हेरेर होटेल इन्डष्ट्रिजमा गरिएको करोडौं लगानी अहिले धराशायी बनेको छ, ठुला लगानीका होटेलको अकुपेन्सी न्यून छ’, हानका केन्द्रीय सदस्य श्रेष्ठले भने।
श्रेष्ठले भैरहवाबाट नेपाल–भारत उडानका लागि पहल गर्न र बौद्ध धर्मावलम्बी मुलुकहरूसँगको कनेक्टिभिटी बढाएर लुम्बिनीको पर्यटन प्रवर्धनका लागि योजना ल्याउन सरकारसँग आग्रह गरे। वर्तमान सरकारप्रति आफूहरू आशावादी रहेको पनि उनले बताए।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट नाटा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले विमानस्थललाई हेरेर गरिएको लगानी डुब्न नदिन भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकारले विशेष पहल गर्नु पर्ने बताए। सरकार र निजी क्षेत्र मिलेर लुम्बिनीको पर्यटन प्रवर्र्धनमा विशेष अभियान सञ्चालन गर्न सके खर्बौको लगानी डुब्नबाट जोगिने उनले बताए।
होटेल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खनालले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सभाहल, प्रदर्शनी केन्द्र, प्रदेशको राजधानीलगायतका संरचनालाई देखेर निजी क्षेत्रले पर्यटन व्यवसायमा ठुलो लगानी गरेको बताए। ती संरचनाले सोचे अनुरूप प्रतिफल दिन नसक्दा भने पर्यटन व्यवसाय धराशायी बनेको बताए। ‘कतिपय ठुला होटेलले सञ्चालन खर्चसमेत धान्न सकिरहेका छैनन्’, खनालले भने।
लुम्बिनीलाई विशेष गरी बुद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र र विश्व समुदायका लागि शान्ति केन्द्रको रूपमा प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए। ‘अन्तर्राष्ट्रिय स्तरमा लुम्बिनीको प्रचारप्रसार गर्ने, पर्यटकीय पूर्वाधार निर्माण गर्ने र बनेका पूर्वाधार सञ्चालन गर्ने दायित्व राज्यको हो, सरकारलाई साथ दिन हामी तयार छौं’, खनालले भने।
लुम्बिनी होटेल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरू, पाल्पा, प्युठानको स्वगद्वारी र बाँके बर्दियाको पर्या–पर्यटन समेटिने गरी पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने बताए।
पूर्व, पश्चिम, मध्यमश्चिम र सुदूरमा गरी चार वटा मुख्य पर्यटकीय गन्तव्यको विकास गर्नुपर्नेमा उनले जोड दिए। ‘हामी मध्यपश्चिममा छौं, यहाँ लुम्बिनीलाई केन्द्रमा राखेर आसपासका सबै पर्यटकीय क्षेत्रलाई समेटने गरी मुख्य पर्यटकीय गन्तव्यको विकास र प्रचारप्रसार गर्न सके पर्यटन बजार फस्टाउनेछ’, शर्माले भने।
प्रकाशित: २ श्रावण २०८३ १२:१३ शनिबार





