२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

पोखरामा सुन्तला महोत्सव हुँदा पनि किसान बेखुस

पोखरामा बिहीबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तलाको पकेट क्षेत्र पोखरा–२१ हर्राबोटमा सुन्तला महोत्सव आयोजना गरिएको हो । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा र कृषि विकास महाशाखाको सहयोग तथा वडा स्तरीय कृषि सञ्जालको समन्वयमा पोखरा महानगरपालिका वडा नम्बर २१ ले आयोजना गरेको महोत्सवमा कृषक भने बेखूस देखिए । कृषकलाई भन्दा बिचौलियालाई पोस्नेगरी कार्यक्रम गरिएको कृषकको आरोप छ ।

महोत्सवमा सुन्तलाको पहाड बनाउने भनिएको थियो । तर सुन्तलाको पहाड त थियो तर एकदमै सानो । कृषकले सुन्तला ल्याउन नमानेपछि महानगर आफैले खरिद गरेको बुटोबाट ल्याइएको सुन्तला मात्रै राख्दा सुन्तलाको पहाड सानो बनेको श्रोतले बतायो । सुन्तलाको पहाड सानोहुँदा त्यसमा फोटो सेसन गर्ने, सेल्फी खिच्नेको खासै रुची देखिएन ।

उसो त सुन्तला महोत्सवमा सुन्तलाका स्टलहरुले महोत्सव स्थल भरिने अपेक्षा गरिएको थियो । तर महोत्सव स्थलमा भएको ८/१० स्टलमध्ये ३/४ वटा स्टलमा मात्रै सुन्तला राखिएका थिए । अरु सबै स्टल खाजा तथा दलहन सम्बन्धिका थिए । सुन्तलाका स्टलहरुमा पनि थोरै मात्र सुन्तला थिए भने त्यहाँ रोज्जा सुन्तलासमेत थिएनन्, बरु छनौटाहरु राखिएका थिए । त्यो पनि महोत्सव सञ्चालन भएको केहिबेरमै सुन्तला किन्नेको हारालुस चलेर सकिएको थियो ।

महोत्सवमा सुन्तला खरिद गर्न पुगेकाहरु महोत्सव स्थलमा सुन्तला नपाएपछि बगैंचा खोज्दै गएका थिए । तर बगैंचाको सुन्तला पनि किसानले ठेकेदारलाई बोटै बेचेपछि खिन्नहुँदै फर्किनु परेको थियो । सुन्तला महोत्सवमा सुन्तला नपाएपछि पोखराबाट हर्राबोट पुगेकी एक महिलाले भनिन्,‘महोत्सवमै सुन्तला नपाउने कस्तो महोत्सव हो यो ।’ उनले स्थानिय किसान देखेर आफू छक्क परेको बताईन् । भनिन्,‘बोटमा पनि सुन्तला नपाईंदो रहेछ, किसान पनि मातेका रहेछन् ।’

स्थानीय कृषक छविलाल सुवेदीले किसानको लागत मूल्य पनि नउठ्ने मूल्य निर्धारण गरिएपछि महोत्सवमा सुन्तला नलगिएको बताए । महोत्सवमा सुन्तला प्रतिकेजी एक सय रुपैयाँ भनेर मूल्य निर्धारण गरिएको प्रति आफूहरुको असन्तुष्टि रहेको उनको प्रष्टिकरण थियो । बजार मूल्य भन्दा धेरै कम मूल्य निर्धारणहुँदा सुन्तला किसान बेखूस् रहेको उनले बताए । एक त हामीले पहिल्यै ठेकेदारलाई बेचिसकेका हुन्छौं, उनले भने,‘दोस्रो बजार मूल्य पनि नपाउने भएपछि महोत्सवमा सुन्तला लानुको औचित्य पनि रहँदैन ।’

अर्का सुन्तला उत्पादक किसान ठाकुरप्रसाद सुवेदीले पनि सुन्तला महोत्सवले किसानलाई हौसला नथपेको बताए । राज्यले सुन्तला उत्पादनमा सघाएको भए पो महोत्सवको अर्थ हुन्थ्यो, उनले प्रश्न गर्दै अगाडि थपे,‘मल, पानी, ग्रेडिङदेखि बजारीकरणसम्म सघाउँदैन, एक दिन महोत्सव गरेर किसानलाई के फाईदा ? ।’ उनले बाँदरले सुन्तलालाई क्षेती पुर्‍याईरहेको भन्दै त्यो नियन्त्रणका लागि पनि कहिंकतैबाट पहलकदमी नभएको गुनासो गरे ।

महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषिको प्रवद्र्दनमा महानगरपालिका लागिरहेको बताए । पोखरा–२१ र २२ लाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेर महानगरले मल, बिउ, सिंचाईमा सघाईरहेको उल्लेख गरे । उनले सुन्तलाको व्यवसायीकरण गरेर उत्पादन र उत्पादकत्व बढाउनु पर्ने तथा गुणस्तर परीक्षण गरेर बिचौलियामार्फत नभई कृषक आफैँले बजार पुर्‍याउने वातावरण निर्माणमा महानगरले सघाउने पनि प्रतिबद्दता जनाए ।

पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सुन्तला उत्पादक किसानलाई हौसला थप्न महोत्सव आयोजना गरिएको बताए । सुन्तला उत्पादनलाई व्यवसायीकरण गर्न महानगरले सघाउने बताउँदै उनले भने,‘सुन्तलाको ग्रेडिङ गर्न जरुरी छ । यसले किसानलाई घाटा होईन फाईदा गर्छ, त्यसैले सुन्तलाको ग्रेडिङ र चिस्यान केन्द्र निर्माणमा महानगरले सघाउँछ ।’

गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले सुन्तलाको उत्पादन बढाउन प्रदेश सरकारको सहयोग रहने बताए ।

पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले सुन्तला उत्पादनको चुनौती सामना गर्न वडाले सहयोग गरिरहेको बताए ।

 

प्रकाशित: १० पुस २०८२ १८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App