जेठको अन्तिम साता थियो। आकाशमा पानीको खास संकेत थिएन, तर खेतमा रोप्ने धानको तयारी भने सुरु भइसकेको थियो। कोहलपुर– १२ मसुरीखेतका किसान सुनौलो बालीको कल्पना गर्दै ब्याडमा धानको बिउ छरिरहेका थिए। केही दिनपछि ती ब्याड हरियालीले ढाकिने र त्यसैबाट रोपाइँका लागि बिरुवा तयार हुने उनीहरूको विश्वास थियो तर यसपालि त्यो विश्वास धेरै किसानका लागि निराशामा बदलियो। ब्याडमा छरिएको धानको बिउ उम्रिनुको सट्टा माटोभित्रै हरायो। समय बित्दै जाँदा हरियो टुसा देखिने आशा पनि हराउँदै गयो। अन्ततः किसानलाई फेरि नयाँ बिउ खोजेर अर्को ब्याड राख्नुपर्ने अवस्था आयो।
कोहलपुर– १२ को निबुवा र मसुरीखेत क्षेत्रका किसानले भारतीय संकर धानको ‘एमपी ३०३०’ जातको बिउ प्रयोग गरेका थिए। अघिल्लो वर्षमा राम्रो उत्पादन दिएको यही बिउ यस वर्ष भने धेरै किसानका लागि समस्याको कारण बन्यो। अंकुरण नहुँदा किसानले समय, श्रम र लगानी तीनै कुराको क्षति बेहोर्नुपरेको छ। निबुवाका किसान पहलसिंह सारुले ६ केजी एमपी ३०३० संकर धानको बिउ ब्याडमा छरेका थिए। केही दिनमै ब्याड हरियो हुने अपेक्षा गरेका उनी दिनहुँ खेतमा पुगेर हेर्थे, सिँचाइ गर्थे, तर दिन बित्दै जाँदा पनि बिउबाट अंकुर ननिस्किएपछि उनको चिन्ता बढ्दै गयो। अन्ततः उनले त्यो ब्याडबाट आशा मारेर अर्को बिउ ल्याई पुनः ब्याड राख्नुप¥यो।
सोही गाउँकी चन्द्रा विकको अनुभव पनि फरक छैन। उनले दुई केजी बिउ लगाएकी थिइन्। ब्याडमा मुस्किलले एक मुठीजति मात्रै बिरुवा उम्रियो। त्यो रोपाइँका लागि पर्याप्त थिएन। अन्ततः उनले पनि अर्को बिउ प्रयोग गरेर नयाँ ब्याड राखिन्। उनका लागि यो अतिरिक्त खर्च मात्र होइन, रोपाइँको तालिका बिग्रिने चिन्ताको विषय पनि बनेको छ।
सारु, विक जस्ता धेरै किसान दोहोरिएको श्रम र खर्चको मारमा परेका छन्। धान खेतीमा ब्याड असफल हुनु सामान्य समस्या होइन। ब्याड नै रोपाइँको आधार हो। त्यही आधार कमजोर हुँदा खेतीको सम्पूर्ण चक्र प्रभावित हुन सक्छ। समयमै बिरुवा तयार नभए रोपाइँ ढिलो हुन्छ, उत्पादन घट्ने जोखिम बढ्छ र किसानको लागत पनि बढ्छ। विशेषगरी साना तथा सीमित स्रोत भएका किसानका लागि यस्तो समस्या झन् गम्भीर बन्न सक्छ।
प्रभावित किसानले बिउमा केही असामान्य लक्षण पनि देखिएको बताएका छन्। उनीहरूका अनुसार कतिपय बिउमा कालो छिप्रे पदार्थ तथा धुलो जस्तो देखिन्थ्यो। त्यतिबेला त्यसलाई सामान्य ठानिएको भए पनि अहिले अंकुरण नभएपछि किसानहरूले त्यसतर्फ शंका व्यक्त गरिरहेका छन्। यद्यपि बिउ उत्पादक कम्पनीसँग आबद्ध कृषि प्राविधिक बलराम गोडियाले समस्या बिउको गुणस्तरसँग मात्र सम्बन्धित नभएको बताउँछन्।
उनका अनुसार संकर धानको बिउ प्रयोग गर्दा निश्चित प्राविधिक प्रक्रिया पालना गर्न आवश्यक हुन्छ। उनले सामान्यतया बिउलाई १० देखि १२ घण्टासम्म मात्र पानीमा भिजाएर ब्याडमा राख्नुपर्ने बताए। तर कतिपय किसानले २४ घन्टासम्म पानीमा भिजाएको जानकारी आएको उनको भनाइ छ। अत्यधिक समय पानीमा राख्दा अंकुरण प्रक्रियामा असर पर्न सक्ने उनी बताउँछन्।
उनका अनुसार यस वर्षको अत्यधिक गर्मी अर्को महŒवपूर्ण कारण हुन सक्छ। पछिल्लो हप्तामा बाँके क्षेत्रमा तापक्रम असामान्य रूपमा बढेको थियो। यस्तो अवस्थामा खेतमा हालिएको पानी पनि अत्यधिक तात्न सक्छ। तातो पानीले बिउको अंकुरण क्षमतामा नकारात्मक प्रभाव पार्ने सम्भावना रहने कृषि प्राविधिकहरूको भनाइ छ।
गोडियाका अनुसार समस्या देखिएका किसानलाई कम्पनीले पुनः बिउ उपलब्ध गराउन थालेको छ। प्रभावित किसानको विवरण संकलन भइरहेको र वास्तविक अवस्था बुझ्ने प्रयास भइरहेको उनले बताए। उनका अनुसार बाँकेको कोहलपुर मात्र होइन, बर्दियाको बासगढी र गुलरिया क्षेत्रमा पनि यस्तै प्रकृतिका केही गुनासा प्राप्त भएका छन्।
प्रकाशित: १५ असार २०८३ १०:२४ सोमबार





