१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

दुई सातादेखि मलखाद वितरण रोकिँदा किसान समस्यामा

कपिलवस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मारमा परेका छन्। यस वर्ष वर्षा पनि कम भएकाले चिन्तित बनेका किसान दुई सातायता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले मलखाद वितरण रोकेपछि थप समस्यामा परेका हुन्।

गत असार ३१ गतेपछि कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा र बहादुरगञ्ज शाखा तथा साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरबाट मलखाद वितरण कार्य रोकिएको कृषि ज्ञान केन्द्रका प्रमुख तथा जिल्ला मल व्यवस्थापन समितिका सचिव घनश्याम चौधरीले बताए। उनका अनुसार असार ३१ गतेयता ती स्थानबाट मलखाद वितरण भएको जानकारी प्राप्त भएको छैन।

मलखादको बिक्री र मौज्दात अवस्थाबारे ती तीनवटै स्थानबाट दैनिक रूपमा समितिमा प्रतिवेदन उपलब्ध गराउनुपर्ने भए पनि असार ३१ गतेयता कुनै विवरण प्राप्त नभएको चौधरीले बताए। मलखाद वितरण रोकिएपछि किसान थप चिन्तित बनेका छन्।

कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख विष्णु भण्डारीले साउन १ गतेदेखि मलको बिक्री–वितरण रोकिएको बताए। उनका अनुसार सीमित मौज्दात बाँकी भए पनि चालु आर्थिक वर्षका लागि पालिकाहरूको कोटा निर्धारण नभएकाले मल बिक्री–वितरणमा समस्या आएको हो।

उनले कोटा निर्धारण नभएकाले साउन १ गतेदेखि नै मल बिक्री रोकिएको बताए। कोटा निर्धारणसम्बन्धी पत्र प्राप्त भएपछि करिब एक सातापछि मल बिक्री सुरु गरिने उनले जानकारी दिए।

साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका विजय अर्यालले सर्भर नचलेकाले साउन १ गतेदेखि नै मल बिक्री रोकिएको बताए। सर्भर सञ्चालनमा आएपछि मल बिक्री पुनः सुरु गरिने उनले बताए।

मल व्यवस्थापन समितिका अनुसार जिल्लामा ८२५.४ मेट्रिक टन युरिया, २७९ मेट्रिक टन डीएपी र २८२.७५ मेट्रिक टन पोटास मौज्दात छ।

मलका लागि भारतकै भर

लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यस वर्ष पनि मलखादको चरम अभाव भएको छ। विशेषगरी युरिया र डीएपी मलको अभावले किसान समस्यामा परेका छन्।

धानबालीमा मल हाल्ने यही उपयुक्त समय भए पनि आवश्यक मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन्। मलका लागि किसान बजार र कृषि सामग्री कम्पनी लिमिटेडमा दैनिक धाइरहे पनि रित्तो हात फर्किन बाध्य छन्।

कृषि प्राविधिकका अनुसार अहिले धानमा युरिया मल हाल्ने उपयुक्त समय हो। कृषि सामग्री कम्पनी तथा कृषि सहकारीमा मल नपाएपछि किसान भारतबाट लुकिछिपी मल ल्याउन बाध्य भएका छन्। वर्षौंदेखि मलका लागि भारतकै भर पर्नुपरेको उनीहरूको गुनासो छ।

यस वर्ष भारतीय सुरक्षा निकायले समेत कडाइ गरेपछि मल ल्याउन झन् कठिन भएको किसानहरू बताउँछन्।

कपिलवस्तु नगरपालिका–३ बरन्डीहवाका किसान राका यादवले युरिया मलका लागि एक महिनादेखि कृषि सामग्री कम्पनी धाए पनि नपाएको गुनासो गरे। कृषि सामग्री कम्पनीले आफ्नो वडाको कृषि सहकारीमा जान भनेको र सहकारीले मल नै नभएको भन्दै फर्काउने गरेको उनले बताए।

जसोतसो धान रोपाइँ सकेका उनले आवश्यक समयमा युरिया र डीएपी मल नपाउँदा चिन्तित भएको बताए।

“हामी किसानले मल, बीउ, सिँचाइ केही पनि पाएनौँ, सबै नेताले झुक्याउने काम मात्रै गरे,” उनले दुःखेसो पोखे।

धेरै प्रयास गर्दा पनि मल नपाएपछि भारतबाट किनेर ल्याई खेतमा प्रयोग गरेको उनले बताए। अभावको मौका छोपेर केही व्यापारीले कालोबजारीसमेत गरिरहेको उनको आरोप छ।

मलका लागि सदरमुकाम धाउँदा पनि नपाएर आत्तिएका यशोधरा गाउँपालिका–१ तितिर्खीका किसान दिपेन्द्र चौधरीले भने, “धान खेतमा तत्कालै मल छर्नुपर्ने छ, तर कहीँ पनि पाइएको छैन।”

जिल्लाका १० स्थानीय तहमा रहेका कृषि सहकारीमार्फत आलोपालो मिलाएर मल बिक्री गर्ने व्यवस्था गरिएको छ। जिल्लाको तौलिहवा र बहादुरगञ्जस्थित कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङमार्फत साढे तीन सयभन्दा बढी सहकारी संस्थालाई मल उपलब्ध गराइँदै आएको छ।

जिल्लाका १० पालिकामा रहेका कृषि सहकारीमार्फत मल बिक्रीका लागि प्रदेश सरकारले कोटा निर्धारण गर्दै आएको छ। कृषि सामग्री कम्पनीका तौलिहवा र बहादुरगञ्ज शाखाबाट सहकारीहरूले मल लगेर आफ्ना सदस्यलाई भागबण्डाका आधारमा वितरण गर्ने गरेका छन्।

मलको अभाव भएपछि दक्षिणी भेगका केही किसान भारतबाट लुकिछिपी मल ल्याएर खेतमा प्रयोग गर्न बाध्य छन्। तर प्रहरीको कडाइका कारण अहिले त्यो पनि कठिन भएको किसानहरू बताउँछन्।

उत्तरी भेगका किसान भने युरिया मलको अभावका कारण बढी समस्यामा परेको किसान दिलाराम भुसालले बताए।

नेपाल किसान सङ्घ कपिलवस्तुका जिल्ला सचिव बालगोविन्द त्रिपाठीले किसानले समयमा मल नपाउँदा ठूलो समस्या भोग्नुपरेको बताए। मलको सहज आपूर्तिका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको माग छ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार जिल्लामा करिब ६५ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। त्यसमध्ये ९० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ।

ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले धान तथा अन्य बालीका लागि आवश्यक पर्ने परिमाणभन्दा निकै कम मात्रामा मल उपलब्ध रहेको बताए।

प्रकाशित: १२ श्रावण २०८३ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App