उखु किसानले सरकारबाट पाउनुपर्ने करिब ७७ करोड रुपैयाँ अनुदान पाएका छैनन्। गत वर्षदेखि अनुदानको रकम घटाएको सरकारले किसानलाई दिनुपर्ने अनुदान पनि नदिएपछि किसान चिन्तित भएका छन्।
किसानले गत वर्ष दुई करोड १६ लाख क्विन्टल उखु बेचेका थिए। विगतका वर्षमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो। गत वर्ष अनुदान आधा घटाएर प्रतिक्विन्टल ३५ कायम भएको थियो। घटाएको अनुदान बापतको रकम पनि नपाएको उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले बताए।
गत आर्थिक वर्षको बाँकी रकम समयमै नपाए पुनः आन्दोलन गर्ने उखु किसानले बताएका छन्। ‘सरकारले बाँकी रहेको रकम छठपछि दिने सम्झदारी गरेको भए पनि अहिलेसम्म पाएका छैनौं,’ अध्यक्ष रायले भने, ‘भुक्तानी नपाए आन्दोलन गर्छौं।’
आफूहरूले बाँकी रहेको रकमका लागि पटक–पटक मन्त्रालयमा ताकेता गरिरहेको भए पनि अहिलेसम्म पाउन नसकेको उनको भनाइ छ। अबको केही दिनभित्र भुक्तानी नभए पुनः आन्दोलनमा जाने तयारी गरिरहेको उनले बताए।
गत भदौमा आन्दोलित उखु किसानसँग सरकारले छठपछि बाँकी रकम दिने सम्झदारी भएपछि उखु किसानले आन्दोलन रोकेका थिए। छठ सकिए पनि अहिलेसम्म उखु किसानले बाँकी रकम पाउन सकेका छैन्। सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ कामयम गरेको थियो।
उखु किसानले विगतमा पाउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कटौती गरेर गत वर्षदेखि सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान दिन थाले पनि बढाउनुपर्ने माग गर्दै आएका छन्। सरकारको निर्णयलाई सच्याएर पुनः आफूहरूले पाउँदै आएको रकम प्रतिक्विन्टल ७० रुपैयाँका दरले नै अनुदानका रुपमा पाउनुपर्ने किसानको माग छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार कार्यदलले प्रतिवेदन पेश गरेको छ। यस विषयमा आफूहरू छलफलमै रहेकाले अहिले कुनै पनि टुंगो नलागेको उनले बताए। सरकारले निर्णय गरिसकेकाले थप दिने विषयमा पुनः निर्णय गरेपछि मात्रै बाँकी रहेको रकम दिन सकिने उनको भनाइ छ।
किसान गत भदौमा अनुदान बढाउनुपर्ने माग गर्दै काठमाडौं आएर आन्दोलन गरेका थिए। प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान पाउनुपर्ने माग गर्दै उखु खेती गर्दै आएका आठ जिल्लाका किसानले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। मोरङ, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कञ्चनपुरका किसान काठमाडौं आएका थिए।
नेपाल चिनीमा परनिर्भर रहे पनि उखु उत्पादन बढ्न सकेको छैन। उखु किसानले समय–समयमा विभिन्न समस्या झेल्दै आएका छन्। त्यसकारण किसानले उखुको विकल्प खोज्दा उत्पादन बढ्न नसकेको हो। वार्षिक अर्बौं रुपैयाँको चिनी आयात गरेर बिक्री हुँदै आएको छ। सरकार र चिनी उद्योगीको कारण किसानले उखुको विकल्प खोजेको किसानहरू बताउँछन्। कतिपयले उखु खेती छाडेर अन्य बालीसमेत लगाउन थालेका छन्।
उत्पादन लागत बढे पनि सरकारी निकाय उद्योगीको प्रभावमा परेर कम मूल्य तोकेको किसानले गुनासो गर्दै आएका छन्। चिनी उद्योगी र उखु उत्पादक किसानबिच हरेक वर्ष चिनीको मूल्य निर्धारणमा पनि विवाद हुँदै आएको छ। मजदुरको ज्याला, मलखाद, औषधि लगायतमा मूल्यवृद्धि भएका कारण उखु उत्पादन लागत बढिरहेको किसानहरू बताउँछन्।
आर्थिक सर्वेक्षण अनुसार २०७७/७८ मा ६४ हजार तीन सय ५४ हेक्टरमा उखु खेती गरिएको थियो। त्यसबाट ३१ लाख ८३ हजार नौ सय ४३ टन उखु उत्पादन भएको थियो। २०७८/७९ मा भने घटेर ६२ हजार पाँच सय ६७ हेक्टर क्षेत्रफलमा खेती भएको थियो भने ३१ लाख ५९ हजार ६ सय ३४ टन उखु उत्पादन भएको थियो।
२०७९/८० मा ६२ हजार आठ सय ३३ हेक्टरबाट ३१ लाख ३० हजार १०९ टन उखु उत्पादन भएको छ। त्यस्तै २०८०/८१ मा उखु खेती घटेर ५५ हजार चार सय ४० हेक्टरमा सिमित भएको देखिन्छ। २०८१/८२ मा ५७ हजार तीन सय ५५ हेक्टरमा उखु खेती लगाएकोमा २८ लाख ८३ हजार ६ सय तीन टन उत्पादन भएको छ।
प्रकाशित: १७ कार्तिक २०८२ ११:१० सोमबार





