२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

भ्रमण वर्षमा झनै कम चिनियाँ

सन् २०२५ मा जम्मा ९५ हजार ४ सय ८० जना चिनियाँ नेपाल आए

पोखरा आएका चिनियाँ पाहुना। फाइल तस्बिरः नागरिक

नेपालले छिमेकी मुलुक चीनबाट ठूलो आकारमा चिनियाँ पर्यटकको अपेक्षा गर्छ। अहिलेसम्मको तथ्यांक अनुसार सन् २०१९ मा सबैगरि १ लाख ६९ हजार ५ सय ४३ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए। यो नै चिनियाँको अहिलेसम्मको सबैभन्दा ठूलो आगमन हो। त्यसपछि कोरोना भाइरस संक्रमण सुरु भएकोले आगमन एकाएक गिरावट आएको थियो।

सन् २०२३ मा करिब ६१ हजार चिनियाँ पाहुना नेपाल भित्रिएका थिए। त्यो आकार सन् २०२४ मा १ लाख १ हजार ८ सय ७४ पुगेको थियो। चीनले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेको थियो। तर, नेपाल भ्रमण वर्ष मनाएकै वर्ष नेपालमा सन् २०२५ मा जम्मा ९५ हजार ४ सय ८० जना मात्र चिनियाँ पाहुना नेपाल भित्रिएका थिए। भ्रमण वर्ष मनाएकै वर्ष अघिल्लो वर्ष (२०२४) को तुलनामा कम संख्यामा चिनियाँ पाहुना भित्रिएका छन्।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि सम्झौता भएको थियो । नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउने सहकार्य गर्ने समेतको सहमति त्यो बेला भएको थियो। त्यसका लागि चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति समेत दुई देशबीच भएको थियो।  

त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न त्यो बेलाका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आग्रह गरेका थिए। सन् २०२५ मा चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेसँगै अघिल्ला वर्ष (२०२४) को तुलनामा बढी चिनियाँ पर्यटक नेपाल भित्रिने अपेक्षा पर्यटन क्षेत्रको थियो। तर, त्यो अनुसार आगमन उकासिन नसकेको पर्यटन क्षेत्रको चिन्ता रहेको छ।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी चिनियाँ पाहुनालाई नेपाल घुम्न जाउ भनेर चीनले भनेको भएपनि नेपाल आफैले भित्र्याउन पहल नगरेको बताए। ‘चीनले त आफन मुलुकका पाहुनालाई घुम्नका लागि नेपाल जाउ भनेकै हो। तर, नेपालले भित्र्याउन सकेन। चीनले घुम्न जाउ भन्दैमा भएन, भित्र्याउनका लागि नेपाल सरकारले माहोल बनाउन नसकेको हो,’ उनले भने, ‘चीनले त सकेको सहयोग गरेको हो। तर, त्यो काममा नेपाल सरकारले सक्रियता देखाउनुपर्नेमा देखाउन सकेन।’

चीनले त छिमेकी मुलुकका नाताको हिसाबले नेपालमा बढी भन्दा बढी चिनियाँ पठाउन सघाउने गरि २०२५ लाई नेपाल भ्रमण वर्ष मनाइदिएर आफ्ना नागरिकलाई नेपाल घुम्न जो भनेर सघाएको भएपनि नेपालले त्यो अनुसार प्रवर्द्धन नगरेको उनले बताए । ‘नेपालले त्यो खालको नीति नै बनाएन। त्यसले गर्दा पाहुना आएनन। एकवर्ष अवधिमा नेपालले चीनमा प्रवर्द्धनका गतिविधि पनि गरेन, प्रचारप्रसार बिना पाहुना आउने कुरै भएन,’ उनले भन ।  

उनका अनुसार चिनियाँ पाहुना पदयात्रा र प्याराग्लाइडिङमा रमाउन चाहन्छन। पोखरा भित्रिएका चिनियाँमध्ये करिब ९० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेकोमा अहिले चिनियाँको त्यो बजार खस्केको उनले बताए।

 ‘कोभिड संक्रमणपछि घटेको चिनियाँको आगमन अहिलेसम्म उकालो लाग्न नसकेकोमा प्रवर्द्धन अभाव हो। नेपाल घुम्न जाउ भनेको बेलामा त हामीले ल्याउन सकेनौ,’ उनले भने, ‘अरुबेलाको त कुरै छाडौं। पाएको अवसर पनि नेपालले यो वर्ष गुमाएको हो।’ चिनियाँ पाहुनाको आगमनलाई पुरानो अवस्थामा फर्काउन सकस भएको पनि उनले बताए।  

व्यावसायीले सन् २०२५ मा नेपाल भित्रिने चिनियाँ पर्यटकका लागि भिन्दै प्याकेज बनाउनु पर्ने, छुटको घोषणा गर्नुपर्ने, चीनका विभिन्न सहरसम्म पोखरा, काठमाडौं र भैरहवादेखि सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने सुझाएका पनि थिए। तर, ती कुनैपनि काम नभएको पनि व्यावसायीको गुनासो छ। ‘चीनले आफ्नो मुलुकमा नेपाल भ्रमण वर्ष मनाउँछ। आफ्ना नागरिकलाई नेपाल घुम्न जाउ पनि भन्नेछ। तर, नेपालले त्यो बेला कुनै तयारी नगर्ने हो की भन्ने सुरुवाती अनुमान हाम्रो थियो, पछि त्यस्तै नै भयो,’ अध्यक्ष सुवेदीले भने।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावास बसेर सहकार्यको खाका पनि कोरिएको र केही प्रयास गरेपनि चिनियाँ पाहुना अपेक्षा गरे अनुसार भित्र्याउन नसकेको बताउँछन। ‘चिनियाँ सेलिब्रेटी, भ्लगरलाई नेपाल ल्याउने भनिएको हो। चिनियाँ न्यू इयर, ड्रागन बोट रेस लगायतका गतिविधि गर्ने भनिएको हो। तर, केही काम भए, कतिपय योजना बनेपनि कार्यन्वयन भएनन,’ उनले भने, ‘अपेक्षाकृत चिनियाँ बढ्नुपर्नेमा बढेनन। पर्यटन बोर्डले प्राथमिकता नदिएको होइन, तर श्रोत बजारमा डिमान्ड नै कम भयो।’

नेपाल भन्दा अन्य गन्तव्य पनि चिनियाँले छानेकोले नेपाल आगमन कम भएको हुन सक्ने उनले बताए। ‘चिनियाँ भ्रमणकर्ता नै कम भएका हुन सक्छन। अहिले पनि नेपाल घुम्न आउने चिनियाँ कम नै छन। डिमान्ड नै कम भएको हुनसक्छ,’ उनले भने। चिनियाँ सहर र पोखराबीच सिधा उडान हुँदा पनि  चिनियाँ पाहुना पर्याप्त नभित्रिएको उनले बताए। अहिले चीनको ल्हासा र पोखराबीच भएको उडानमा पनि कम संख्यामा यात्रु रहेको उनले बताए। ‘पछिल्लो समय चिनियाँहरु आन्तरिक गन्तव्य र सस्ता मुलुकमा पनि घुम्न थालेका छन। नेपालको गन्तव्य तुलनात्मक रुपमा महंगो भएकोले पनि पाहुना कम भएको हुन सक्छ। आर्थिक अवस्थामा सुधार नआएकोले पनि चिनियाँ आगमन कम भएको अनुमान छ,’ उनले भने।  

प्रकाशित: १३ माघ २०८२ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App