५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

इलामे चियाबारीले लोभ्याउँदै पर्यटक

इलामको दोस्रो नामजस्तै छ चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्रै होइन, अरू पनि छन् तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्नेबित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै हो।

इलामको चियाबारी भनेर धेरैले कन्याम सुनेका हुन्छन्। हुन पनि हो, कन्याम चियाबारी मेची राजमार्गमै परेकाले पनि यसले धेरैलाई लोभ्याउँछ नै। तर पछिल्लो समय नेपालकै सुन्दर चियाबारीमा गणना हुने देउमाई नगरपालिकास्थित पानीटार चियाबारी घुम्न आउनेको संख्या बाक्लो छ।

 नेपालमै पहिलो चिया खेती भएको इलाम चियाबारी र त्यही रहेको नेपालकै पुरानो उद्योग (इलाम चिया उद्योग) समेत पर्यटकको आकर्षक गन्तव्य बनिरहेको छन्। सूर्योदय नगरपालिका–९ को सुन्दरपानी चियाबारी र जस्बिरे चियाबारीलेसमेत पर्यटक लोभ्याइरहेका छन्।

इलाममा तेस्रो मुलुकका पर्यटकको संख्या धेरै हुँदैन तर आन्तरिक र भारतीय पर्यटक धेरै आउँछन्। इलाम–झापा सीमा जोरकलश पर्यटकका लागि मुख्य मार्ग बनेको छ। पशुपतिनगर, सन्दकपुरजस्ता सीमावर्ती क्षेत्रबाट समेत इलाममा पर्यटक आउँछन्। पाँचथरतिरबाट अनि केचना–कञ्चनजंघा सडकबाट पनि इलाममा पर्यटक आउँछन्।

इलाम घुम्न आउने समय प्रायः असोजदेखि मंसिर र फागुन–वैशाख हो। यो बेला मौसम खुल्ने भएकाले सूर्याेदय, सूर्यास्त, हिमशृंखला मनमोहक देखिन्छन्। तर इलाम घुम्न आउन मौसम कुरिरहनु पर्दैन। वर्षायाममा समेत यहाँका संस्कृति र हरियाली पर्यटकका लागि गन्तव्य बन्छन्। वैशाखपछि हरियो चियापत्ती पलाउने, चारैतिर चियाबारी देखिने भएकाले पनि पर्यटक आइरहेकै हुन्छन्।

कन्याम चियाबारीमा सधैंजसो पर्यटक खचाखच हुन्छन्। न हिउँद न बर्खा कन्याम चियाबारीको हरियालीमा पर्यटकको घुइँचो देखिन्छ। चियाबारीमा फोटो, भिडियो, सेल्फी खिचाउने, देशकै लोपोन्मुख लेप्चा जाति र अन्य जातजातिको सांस्कृतिक पोसाकमा सजिएर चियाबारीको पृष्ठभूमिमा आफूलाई कैद गर्नेको प्रतिस्पर्धा चलिरहेकै हुन्छ। ‘कन्याम प्रायः पर्यटकले खाली हुँदैन’, स्थानीय व्यवसायी टेकराज गिरी भन्छन्, ‘मेची राजमार्गमै पर्ने भएकाले पनि यो ठाउँ पर्यटकका लागि आकर्षक केन्द्र बन्ने गरेको छ।’

झापाको बाटो भएर इलाम टेक्नेबित्तिकै मेची राजमार्गको दायाँबायाँ आकर्षक होमस्टे, रिसोर्ट, होटल देख्न पाइन्छ। छिनछिनमै हुने मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक बन्छ। छिनछिनमा घाम लाग्ने, हुस्सु लाग्ने, पानी पर्ने, फेरि त्यही प्रक्रिया दोहोरिने मौसम इलामको विशेषता नै हो।

बर्खामा कन्याम चियाबारी हरियो गलैंचा ओछ्याएजस्तै देखिन्छ। निलो आकाश र सेतो हिमाल पृष्ठभूमि भएको कन्यामको हरियालीमा रमाउन पर्यटक लालायित हुन्छन्। चियाका बोटमा पनि ढकमक्क हरियो मुना पलाएको हुन्छ। पत्ती टिप्ने श्रमिकहरूको लहर उस्तै रमाइलो देखिन्छ। ‘कन्याम आउँदा स्वर्ग पुगे जस्तै हुन्छ’, मोरङबाट आएका असिम चौधरी भन्छन्, ‘यतिबेला इलामको चियाबारी निकै सुन्दर देखिने रहेछ।’

तराईमा गर्मीको पारो चढिरहेका बेला कन्याम र इलामले चिसो दिन्छ। साथै तराईमा शीतलहरका बेला इलामको घमाइलोले पर्यटक लोभ्याउँछ। आँखाले देखिएसम्म चियाबारी रहेको कन्याम सडक सहजताले पनि बाह्रैमास पर्यटकले भरिभराउ हुन्छ।

अहिले चियाबारीभित्र कलात्मक रेलिङसहितको शृंगार पनि गरिएकाले पर्यटक कन्याम घुम्न लालयित हुन्छन्। हिउँदमा यहाँ वनभोज खान आउनेको घुइँचो देख्न सकिने अर्का व्यवसायी प्रकाश भट्टराई बताउँछन्। अन्तु र कन्याममा लोपोन्मुख लेप्चा जातिको बसोबाससमेत रहेकाले उनीहरूको संस्कृतिले पनि पर्यटकलाई लोभ्याउँछ।

केही समयअघिसम्म नगन्य रहेका होटल अहिले कन्यामको सडकमा खचाखच भइसकेका छन्। १० करोड रुपैयाँ बढी लगानी गरेर कन्याम आसपासमा सुविधासम्पन्न होटल स्थापना गरिएका छन्। यहाँ आउने पर्यटकले अर्थाेडक्स अर्गानिक चियादेखि अन्य परिकार खान पाउँछन्। कन्याममा चियाबारीमा लुकामारी खेल्न, लभडाँडाँबाट हिमाल, पहाड र तराई नियाल्न अनि घोडा चढ्न पर्यटकले छुटाउँदैनन्।

फिक्कल यहाँ आउने पर्यटकको कोसेली किन्ने बजार हो। फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरे खुर्सानीलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन्। कुटीडाँडाँको सिँढी उक्लिएर पाथीभराको दर्शन गर्न पाइने भएकाले पनि शनिबार र मंगलबार तराईबाट कन्याम घुम्न आउनेको संख्या बढी हुन्छ। कन्याममात्र होइन, सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि चर्चित अन्तुमा समेत चियाबारी छ। मेची राजमार्गको कन्याम (छिपिटार)बाट करिब १३ किलोमिटरमा रहेको अन्तु पोखरीछेउमा चियाबारी आकर्षक भएकाले पर्यटकको घुइँचो लाग्छ। अन्तुबाट चियाबारीसहित उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, मौसमअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ। यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार पनि देखिन्छन्।

झापा, मोरङ, सुनसरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ। भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, २–४ रात बिताउँछन् र जान्छन्। तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक ‘एयर कन्डिसन’मा रमाउन आउनेको घुइँचो नै लाग्छ। यहाँ नेपालका पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन्। कतिपय स्कुलका विद्याथी पनि समूहमा अध्ययन भ्रमणमा यहाँ आउँछन्। ‘अन्तुमा प्रायः पर्यटक खाली हुँदैनन्’, अन्तु पर्यटक व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे भन्छन्, ‘मुख्य सिजनमा त थामिनसक्नुको संख्यामा पर्यटक आउँछन्, अरू सिजनमा पनि शून्य भन्ने हुन्न।’

चिया प्रशोधनको समय पनि बर्खा नै भएकाले देश–विदेशका पर्यटक, तेस्रो मुलुकका चिया व्यापारीलगायत हुलका हुल यहाँ आउने गरेका छन्। ‘चियाबारी घुम्नमात्र होइन, चिया प्रशोधन अवलोकन गर्न, चिया प्रशोधन सिक्न पनि विदेशी आउने गरेका छन्,’ जस्बिरे चिया उद्योगका शरद सुब्बा भन्छन्, ‘चियाका विदेशी पारखीहरू उद्योगमा आएर दुईतीन महिना बसेर आफैं चिया प्रशोधन गर्छन्, त्यही चिया पछि किनेर लैजान्छन्।’

इलाम सदरमुकामसँगै रहेको इलाम चियाबारी पनि पर्यटकका लागि अर्काे आकर्षक गन्तव्य हो। यहाँ रहेको देशकै पहिलो चियाबारी र कारखाना पनि उत्तिकै महत्त्व बोकेको छ। चीनले कोसेलीका रूपमा पठाएको चिया १९२० सालमा इलाममा रोपिएको थियो। चियाले बोकेको नेपाल–चीन सम्बन्धको ऐतिहासिक महŒव बुझेका व्यक्तिका लागि यो चियाबारी आकर्षणको केन्द्र बन्ने गरेको छ।

नेपालकै इतिहास बोकेको इलामको चियालाई सम्पदाका रूपमा विकास गर्ने प्रयास गरिएको छ। वेत्रावती सन्धिअनुसार चिनियाँ सम्राटले प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रूपमा पठाएको चिया इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यहाँ लगाएका थिए भन्ने इतिहास छ। नेपाल–चीनबिच १८४९ भदौ ६ मा भएको सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ। नेपाल र चीनबिच पटकपटकको युद्धपछि भएको वेत्रावती सन्धिअनुसार नै चिनियाँ सम्राटले जंगबहादुरलाई उपहारका रूपमा पठाएको चियाको बिरुवा इलाम ल्याएर रोपिएको इतिहास छ। १९३५ सालमा इलाम चियाबारीमा स्थापना भएको कारखाना पनि नेपालकै पुरानो कारखानामा पर्छ।

देउमाई नगरपालिकास्थित पानीटार चियाबारी निकै आकर्षक देखिन्छ। यहाँ वनभोज खान, फिल्म छायाँकन गर्न र घुम्न आउनेको संख्या धेरै हुन थालेको स्थानीय व्यवसायी बताउँछन्। केही वर्षअघिसम्म खासै चर्चामा नरहेको पानीटार चियाबारीले पछिल्लो समय इलाम र बाहिरी जिल्लाका पर्यटक बढी आकर्षित गरिरहेको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल बताउँछन्। ‘यो चियाबारी हेर्दा निकै सुन्दर छ, तराईका जिल्लाबाट समेत धेरै संख्यामा यहाँ पर्यटक आउँछन्’, उनले भने, ‘नगरपालिकाले पनि पर्यटकीय पूर्वाधारमा लगानी बढाइरहेको छ।’

चियाबारीलाई नै मुख्य गन्तव्य बनाएर आउने पर्यटकमध्ये दोब्बर बढी आन्तरिक हुन्छन्। जोरकलशस्थित पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म यो बाटो भएर १ लाख ३१ हजार ९ सय १५ पर्यटक इलाम भित्रिएका छन्। केन्द्रका सूचना अधिकृत गगन घिमिरेले तीमध्ये ९२ हजार ९ सय ४७ आन्तरिक र ३८ हजार ९ सय ६८ बाह्य पर्यटक भएको जानकारी दिए। तर यो विवरण नै इलाम आउने पर्यटकको यकिन तथ्यांक भने होइन। इलाम आउने पर्यटकमध्ये केन्द्रमा विवरण टिपाउनेको संख्यामात्रै हो यो। यसबाहेक यही बाटो भएर आउने अनि अन्य बाटोबाट आउने पर्यटकको संख्या यकिन राख्ने गरिएको छैन।

कन्याम, इलाम बजार, अन्तुडाँडा, सन्दकपुर, माइपोखरी, फिक्कल, पशुपतिनगर, जौबारी, तुम्लिङ, मेघमा, कालपोखरी, गजुरमुखी, लारुम्बालगायत इलामका मुख्य पर्यटकीयस्थल हुन्। केही वर्षयता सडकसहितका पूर्वाधारको विकास गरिएकाले यहाँका पर्यटकीयस्थलमा पुग्न धेरै समस्या छैन तर केही सातायता भने मेची राजमार्गको राजदुवालीमा सवारीसाधन चलाउन कठिनाइ भइरहेकाले पुनर्निर्माण नसकिँदासम्म पर्यटकलाई केही असहज भएको छ।

प्रकाशित: ४ श्रावण २०८३ १०:३७ सोमबार