पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ। उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई कम्पनि सहित पोखराका पर्यटन व्यावसायी र नेपालका लागि यूनाइटेड अरब इमिरेट्स (यूएइ) का राजदूत समेत सक्रिय बनेका छन्।
उडानलाई दीगो बनाउनका लागि आवश्यक पहल गर्ने क्रममा नेपालका लागि यूएइका राजदूत अब्दुल्लाह साइद मुबारक जरवान अलसाम्सी र पोखराका पर्यटन व्यावसायीबीच छलफल पनि भएको छ। छलफलमा यो उडानलाई दीगो बनाउनका लागि सबैको पहल हुनुपर्नेमा सबैको जोड थियो।
पोखराबाट दुबईको यो नियमित उडान समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण उपलब्धिको रुपमा रहेकोले पनि यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उनीहरुको भनाई छ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे लगायतले राजदूतसँग पोखरा–दुबई नियमित उडानका बारेमा छलफल गरेका थिए।
‘मध्यपूर्वका देशमा रहेका नेपालीलाई सहजै पोखरा उर्तान पनि यो उडानले सघाउँछ। त्यसबाहेक दुबईलाई हव बनाएर पोखरामा विदेशी पर्यटक पनि भित्र्याउन सकिने अपेक्षा छ,’ श्रेष्ठले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमास्थलको लागि यो उडानले निकै नै अर्थ राख्छ। पोखरा–दुबईको यो उडानले पोखरालाई सिधैं यूरोप र अमेरिकासम्म पहूँच दिलाउन सघाउँछ।’

नेपालमा पर्यटकीय सिजन सुरु हुनै लागेको र त्यो बेला नेपाल आउने विदेशीका लागि यो उडानले विशेष अर्थ राख्ने उनको भनाई छ। ‘विदेशी पाहुनालाई सिधै पोखरा उतार्न पाउने अवसर यसले दिलाएको छ,’ उनले भने, ‘पोखरा र गण्डकी प्रदेशका पर्यटनका लागि यो सूनौलो अवसर पनि हो।’ उनका अनुसार दुबई–पोखरा रुटमा अहिले यात्रुको बुकिङ राम्रो आईसकेको छ। तर, पोखरा–दुबई रुटमा भने केही कम बुकिङ भएपनि त्यो बेलासम्म पर्याप्त हुने अपेक्षा रहेको उनले बताए।
‘दसैं–तिहारका लागि नेपाल फर्किने नेपाली नागरिकका लागि पनि यसले सघाउँछ। अहिलेको अवस्थामा दुबई–पोखरा उडानमा पर्याप्त बुकिङ आईसकेको छ। तर, सुरुवाती दिनका लागि फर्किने कम भएपनि आएका यात्रु पुन त्यही उडानमा फर्किने हुँदा सहज हुनेछ,’ उनले भने, ‘चाडपर्व मनाउन आएका पाहुना पनि केहीदिनमा फर्किन थाल्नेछन। त्यसले गर्दा यात्रु अभाव नहुने अपेक्षा छ।’ कनेक्टिङ फ्लाईटको रुपमा यसले काम गर्ने पनि उनले बताए।
परिषद्का पूर्व अध्यक्ष श्रेष्ठले फ्लाई दुबईको उडानले पोखरालाई कम्तिमा २ सय ५० नयाँ गन्तव्यमा सिधा जोड्न सकिने बताउँछन। उनका अनुसार मध्यपूर्वदेखि अमेरिका, यूरोपका धेरै वटा गन्तव्यका पाहुनालाई दुबई हुँदै सिधै पोखरा ल्याउन सकिनेछ। यसले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनले बताए।
व्यावसायीसँगको छलफलका क्रममा नेपालका लागि यूएइका राजदूत अब्दुल्लाह साइद मुबारक जरवान अलसाम्सीले पनि पोखरामा विदेशी पाहुनाको पहिलो पाइला पर्ने यो दिन नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर रहेको बताए। ‘पोखराले अन्तर्राष्ट्रिय पर्यटन बजारमा सिधा पहुँच बिस्तार गर्न यो अवसर हो,’ उनले भने, ‘यो उडानलाई दिगो बनाउनका लागि सबैको पहल जरुरी छ।’
पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताईसकेको छ। फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले सेड्यूल फ्लाईटको अनुमति लिइसकेको छ। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
पोखरालाई सिधै मध्यपूर्वको आकाशमा जोड्ने गरि हुने यो उडानले पर्यटन क्षेत्रमा विशेष अर्थ राख्ने व्यावसायीको भनाई छ। हरेक दिन बेलुकी सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण जहाज गर्नेछ र पोखराबाट बेलुकी सवा ७ बजे दुबईका लागि उडान भर्नेछ। पोखरा– दुबइको यो उडानको समय करिब ५ घण्टा रहनेछ।
फ्लाई दुबईले नै अहिले काठमाडौं–दुबई रुटमा सातामा तीनवटा उडान गरिरहेको छ। चारवटा उडानको तालिका स्वीकृत गराएपनि अहिले तीनवटा उडान भईरहेको छ। पोखरामा भने परीक्षणका रुपमा एकमहिनाका लागि दैनिक रुपमा उडान गर्नेगरि तालिका स्वीकृत गरेको छ। पोखरा आउने यो जहाज सिमराबाट नेपाल भित्रिनेछ। काठमाडौंमा भन्दा पोखरा पुगिसक्दा थप ३५ मिनेट बढि समय उडान गर्नुपर्नेछ।
पोखरामा उडान गर्नका लागि यसअघि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पटकपटक अवलोकन र अध्ययन पनि गरिसकेको छ। अहिले पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्र भईरहेको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइट गरिरहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय नै पहिलो एयरलाइन्स हो। तर, त्यो बाहेक सिचुआन एयरलाइन्सल चीनको छेन्दु–पोखरा चार्टर उडान गरेको थियो। २०२५ को मार्चदेखि सुरु भएको हिमालयको पोखरा–ल्हासा नियमित उडान भने २०२६ मार्च २३ देखि रोकिएको छ।
‘अहिले कुनैपनि नियमित अन्तर्राष्ट्रिय उडान छैनन्। हिमालयको उडान रोकिएपछि तत्कालका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलको अन्तर्राष्ट्रिय सञ्जाल रोकिएको छ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एकजना अधिकारीले भने, ‘अब पोखरा–दुबई हुँदा पोखराको पहुँच मध्यपूर्वको आकाशसम्म पुग्नेछ। पोखरासँग मध्यपूर्व जोडिएमा त्यसले पोखराको पर्यटन क्षेत्रमा निकै नै फड्को मार्नेछ।’
प्रकाशित: ९ भाद्र २०८३ १८:०० मंगलबार


-600x400.jpg)


