१८ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

खडेरीले सुके नल्का र कुवा

कोहलपुर नगरपालिका -७ स्थित लखनवार गाउँमा खडेरीसँगै जमिनमुनिको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नल्का सुकेका छन्। करिब एक सातादेखि अधिकांश नल्काबाट पानी आउन छाडेपछि स्थानीय वासिन्दा खानेपानी समस्यामा परेका हुन्।

स्थानीय पार्वती विकका अनुसार सुरुमा नल्काबाट थोरै–थोरै पानी आउने गरेको थियो। अहिले भने धेरैजसो नल्का पूर्णरूपमा सुकेका छन्। उनका अनुसार यस वर्ष वर्षा ढिलो हुनु र लामो समयसम्म खडेरी रहनुले जमिनमुनिको पानीको सतह निकै तल झरेको छ। स्थानीयका अनुसार पहिले करिब २० फिटमै पर्याप्त पानी आउने क्षेत्रमा अहिले ८० फिट तलसम्म पानीको सतह पुगेको अनुमान गरिएको छ। यसले सामान्य घरपरिवारले प्रयोग गर्ने परम्परागत नल्काबाट पानी निकाल्न निकै कठिन भएको छ।

स्थानीय गोविन्द चौधरीले खडेरीका कारण गाउँका अधिकांश नल्का सुकेको बताए। उनका अनुसार अहिले गाउँलेहरू बाध्य भएर कुवाको पानी प्रयोग गर्न थालेका छन्। ‘पहिले यस्तो अवस्था कहिल्यै आएको थिएन। अहिले नल्कामा पानी आउँदैन, त्यसैले कुवाको भर पर्नुपरेको छ’, उनले भने।

लखनवार गाउँमा पहिले चारवटा सार्वजनिक कुवा सञ्चालनमा रहेका थिए। तीमध्ये हाल दुईवटा मात्र प्रयोगयोग्य अवस्थामा छन् भने अन्य दुईवटा विभिन्न कारणले बन्द भइसकेका छन्। सञ्चालनमा रहेका दुई कुवाबाट अधिकांश स्थानीयले पानी ल्याइरहेका छन्। यसले बिहान र साँझ कुवामा पानी भर्न आउनेको भीड बढेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार नल्काबाट मुस्किलले खानेपानी निकाल्ने गरिएको छ भने सरसफाइ, लुगा धुने, भाँडा माझ्ने तथा अन्य घरेलु प्रयोजनका लागि कुवाको पानी प्रयोग गर्नुपर्ने अवस्था आएको छ। दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

 स्थानीय बासिन्दाले गाउँमा जडान गरिएका गहिरा समरसेल (डिप बोरिङ) लाई पनि नल्का सुक्नुको प्रमुख कारण मानेका छन्। गाउँमा सरकारी निकायमार्फत जडान गरिएका समरसेलका साथै केही व्यक्तिले निजी रूपमा समेत समरसेल सञ्चालन गरेका छन्। ती समरसेलबाट ठूलो परिमाणमा भू–गर्भीय पानी तानिँदा परम्परागत नल्कामा पानी आउन छाडेको स्थानीयको गुनासो छ।

स्थानीय गोविन्द चौधरीका अनुसार पहिले गाउँका सबैजसो घरमा रहेका नल्काबाट सहजरूपमा पानी आउने गथ्र्यो, तर पछिल्ला वर्षमा गहिरा समरसेलको प्रयोग बढ्दै जाँदा जमिनमुनिको पानीको सतह घट्दै गएको र यस वर्ष खडेरीका कारण समस्या झन् गम्भीर बनेको हो।

स्थानीयवासीले भूगर्भीय पानीको अनियन्त्रित दोहन रोक्न तथा पानीको स्रोत संरक्षणका लागि सम्बन्धित निकायले आवश्यक अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार बर्सेनि समरसेल थपिँदै जाने तर पुनर्भरण (रिचार्ज) का कार्यक्रम नहुँदा भविष्यमा खानेपानीको संकट अझ विकराल बन्न सक्ने खतरा बढेको छ।

विज्ञहरूले पनि अत्यधिक भूगर्भीय पानीको दोहन, वन विनाश, वर्षा ढिलो हुनु तथा जलवायु परिवर्तनका कारण जमिनमुनिको पानीको सतह घट्दै गएको बताउँदै आएका छन्। समयमै पानी संरक्षण, वर्षाको पानी संकलन तथा भूगर्भीय पानी पुनर्भरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगरे ग्रामीण क्षेत्रमा यस्ता समस्या थप बढ्न सक्ने उनीहरूको चेतावनी छ।

 स्थानीयवासी अहिले समयमै पर्याप्त वर्षा हुने आशामा छन्। उनीहरूका अनुसार राम्रो वर्षा भए केही समयपछि जमिनमुनिको पानीको सतह बढ्न सक्ने र सुकेका नल्कामा पुनः पानी आउन सक्ने अपेक्षा गरिएको छ। तर दीर्घकालीन रूपमा भूगर्भीय पानीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए यस्ता समस्या दोहोरिरहने उनीहरूको चिन्ता छ।

प्रकाशित: १५ असार २०८३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App