उदयपुर र खोटाङबीच सुन नदीमा बेलिब्रिज जडानसँगै आइतबारदेखि गाईघाट-दिक्तेल यातायात सुरु भएको छ। दुई जिल्ला जोड्ने सगरमाथा लोकमार्ग नाका फोक्सिन्टारको पक्की पुल भत्किएपछि अवरोध भएको यातायात बेलिब्रिज जडानपछि नियमित भएको हो।
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले मङ्सिर अन्तिममा बेलिब्रिज जडानको ठेक्का लगाएको थियो। पुसभित्रै सक्ने गरी बेलिब्रिज निर्माणको जिम्मा आरएन कन्स्ट्रक्सन कटारी, उदयपुरले लिएको थियो। ५० मिटर लामो बेलिब्रिजको काम म्यादभित्रै सकिएर यातायात सुरु भएको योजना कार्यालय प्रमुख (डिई) दिपेश रजकले बताए। बेलिब्रिज जडान सकिएपछि शनिबार राति अन्तिम परीक्षण गरेर आइतबारदेखि यातायात सञ्चालन अनुमति दिएको उनले बताए।
योजना कार्यालयले सो बेलिब्रिज मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक करोड २९ लाख ४६ हजार ७७ रुपैयाँ लागतमा ठेक्का दिएको थियो। बेलिब्रिज बनेपछि दुई जिल्लाबासीलाई सोझो यातायातले जोड्दा यात्रु तथा उपभोक्तालाई सहज भएको छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ र खोटाङतर्फ खोटेहाङ ९ लिच्कीराम्चेको बीचमा पर्ने नदीमा १३ वर्ष लगाएर एक सय २० मिटर लामो आर्क डिजाइनको पक्की पुल बनाइएको थियो। दुवैतर्फ पहुँच मार्ग (एप्रोच सडक) बनाउन बाँकी रहेको पुल सञ्चालनमा आए पनि ठेकेदारबाट हस्तान्तरण भएको थिएन। भिषण र निरन्तर वर्षापछि आएको बाढीले २०८१ असोज १२ गते राति सो पुल भत्काएको थियो।
पुल भत्केपछि गाईघाट-दिक्तेल यातायात अवरुद्ध भएपछि फोक्सिन्टारदेखि १ किलोमिटर पश्चिम रसुवाघाटस्थित झोलुङ्गे पुल भएर यात्रु वारपार गर्दै आएका थिए।
रसुवाघाटमा दिक्तेलदेखि आउने खोटाङतर्फका गाडी पारि र गाईघाटदेखि जाने साधन वारि राखेर झोलुंगे पुलबाट झोलाझ्याम्टा तारेर यात्रु गन्तव्य तय गर्ने गरेका छन्।
पुल बाढीले बगाएको १५ महिना बितिसक्दासम्म मर्मत गर्ने वा नयाँ निर्माण गर्ने भन्ने यकिन भइनसक्दा बेलिब्रिजको सहारा लिनुपरेको योजना प्रमुख रजक बताउँछन्। ‘त्यो पुल हस्तान्तरण भइसकेको भए एउटा निष्कर्षमा पुग्न सहज हुन्थ्यो’ डिई रजक भन्छन्, ‘तर एप्रोच सडक नै नबनिसकेको ठेकेदारले हस्तान्तरण गर्नै बाँकी भएकाले पनि के गर्ने भन्ने यकिन हुन नसक्दा बेलिब्रिज बनाउनुपरेको हो।’
प्रकाशित: २८ पुस २०८२ १२:५९ सोमबार




-600x400.jpg)
