१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अर्थ

धन भित्र्याउन धनतेरस तथा लक्ष्मी पूजा

हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको छ। उज्यालोको पर्वका रूपमा मानिने तिहार तथा दीपावलीलाई झिलिमिलीको पर्वका रूपमा पनि लिइन्छ। तिहार विशेष गरी दाजुभाइ र दिदीबहिनीको मिलन अर्थात् सम्बन्ध प्रगाढ बढाउने मान्यता राखिन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा धनकी देवी लक्ष्मी भित्र्याउने गरिन्छ।

दसैंपछिको ठुलो चाड भएकाले यसले बजारमा आर्थिक क्रियाकलाप पनि बढाएको छ। जेनजी आन्दोलनको प्रभावले विगतका वर्षको तुलनामा बजारमा व्यापार घटेको छ। तथापि तिहारको अवसरमा भाँडाकुँडा, सुनचाँदी, भाइमसला, दाजुभाइ दिदीबहिनीले कपडा, फलफूल, फूलका माला, झिलिमिली बिजुलीका सामग्री लगायतका व्यापारले बजारलाई केही चलायमान बनाएको छ।

शनिबार पहिलो दिन धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइएको छ। धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ। धनतेरस पर्व भएकाले मूल्यवान धातुका भाँडाकुडा र गरगहना किन्ने प्रचलन छ।

नेपाल राष्ट्र बैंकले समेत सिक्का बिक्री गर्ने गरेको छ। धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा गरिन्छ।  धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्र्याउने भन्दै विशेषगरी सुन, चाँदी लगायतका भाँडाकुँडा किनेका छन्। शनिवार भाँडाकुँडा पसलमा भिड लागेको छ। सुनचाँदीका अतिरिक्त पित्तलका थाल, गिलास, कचौरा, कलशहरू किनिएका छन्। लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन पनि छ।

सम्पन्नहरूले सुनचाँदी किने पनि न्यून आम्दानी हुने पित्तलका भाँडाकुँडा किनेका छन्। धनतेरसको दिन शनिवार सुनका सिक्का, चाँदीका भाँडा बिक्री भएको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। ‘धन सम्पन्नताका लागि सनुचाँदीका सिक्का तथा भाँडाकुँडा बिक्री भएका छन्,’ शाक्यले भने, ‘मानिसहरूले आफ्नो क्षमता अनुसार किन्छन्।’

सुनको भाउ बढेकाले विगतका वर्षको तुलनामा भने बिक्री कम भएको शाक्यले बताए। शनिबार भाँडा पसलमा भने भिड लागेको छ। पित्तल, चरेशका थाल, कचौरा, मूर्ति लगायतका सामानको व्यापार बढेको काठमाडौंमा भाँडा पसल गरिरहेका प्रमोद श्रेष्ठले बताए।

‘धनतेरस भएकाले भाँडाकुँडाको व्यापार राम्रै भयो,’ श्रेष्ठले भने। भाँडा पसलमा उपभोक्ताको भिड लागेको छ। धनतेरसमा चरेशको धान र लक्ष्मी तथा गणेशको मूर्ति किनेको प्रमिला ठकुरीले बताइन्। हरेक वर्षको धनतेरसमा भाँडाकुँडा किन्ने गरेकी छिन्। ‘प्रत्येक वर्ष तिहारमा केही न केही किन्छु’, उनले भनिन्, ‘धनतेरसमा किन्दा धन सम्पत्ति वृद्धि हुने विश्वास गरिन्छ।’

दीपावलीको पहिलो दिन लक्ष्मीको बास गराउन सामान किन्ने प्रचलन रहेकाले धेरैले लक्ष्मीको मूर्ति पनि किनेका छन्। धनतेरसको दिन किनेको सामान घरको पूर्वउत्तर दिशामा राख्ने धार्मिक मान्यता रहेको छ। यसो गर्नाले कुबेर खुसी भई धन सम्पन्नता हुने अपेक्षा गरिन्छ।

यमपञ्चकको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनलाभ हुने विश्वास गरिएको छ। घरमा लक्ष्मी भिœयाउनका लागि बत्ती बालिन्छ। अहिले सबैले झिलिमिली बिजुली बत्ती बाल्ने गरेका छन् । यसले बिजुली बत्तिको व्यापार पनि बढाउँछ। बत्ती नबालेको घरमा लक्ष्मीको बास हुँदैन भन्ने मान्यता अनुसार सफासुग्घर गरी प्रवेशद्वारा, दैलो, झ्याल, कौसी, अटाली, भर्‍याङ, छत लगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ। लक्ष्मी पूजाको दिन दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाइ लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरिन्छ।

यमपञ्चकका पाँच दिन

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आइतबार काग तिहार रहेको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ। तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ।

आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। सोमबार दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपर्ने समितिले जनाएको छ।

रातमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ। यस वर्ष कात्तिक ४ गते मंगलबार औंसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ। यस दिन तिहारका कुनै पनि पर्व परेको छैन। कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोकेअनुसार कुनै कर्म परेको छैन। गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ। हलितिहार, बलि पूजा र आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ। कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको छ।

प्रकाशित: २ कार्तिक २०८२ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App