११ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

देवकुमार नेपालीविरुद्ध डेढ अर्बको सम्पत्ति शुद्धीकरणको मुद्दा

सर्वसाधारण निक्षेपकर्ताको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थामार्फत पोखरा र बागलुङका बचतकर्ताले राखेको दुई अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोपमा थुनामा रहेका नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। जिल्ला अदालत बागलुङमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङले जनाएको छ।

नेपाली अहिले सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। यसअघि सहकारी ठगीमा मुद्दा दायर गरिएको भए पनि अहिले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको सरकारी सरकारी वकिल कार्यालयले जनाएको छ। नेपाली विरुद्ध सहकारी ठगी छानबिन प्रतिवेदन, प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध समेतका मुद्दा चलाउन सिफारिस गरिएको थियो।

नेपालीले बागलुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानुनी सम्पत्ति कमाएको आरोप लगाइएको छ। नेपालीसहित उनकी पत्नी छेला नेपालीविरुद्ध ६ करोड ९८ लाख रुपैयाँ विगो मागदाबी गरिएको छ।

लामो समय फरार नेपाली गत वर्षको असोजमा भारतबाट पक्राउ परेका थिए। नेपालीकी श्रीमती छेला नेपाली भने फरार छिन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको एक अर्ब ६० करोड रूपैयाँ र पोखरामा पाँच सय २४ जनाको ६४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको दुई अर्ब २४ करोड ८८ लाख रूपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी गरेर गत वर्ष भारतबाट पक्राउ गरेर ल्याइएको हो।

एमालेबाट नगरप्रमुख जितेका नेपालीलाई पार्टीबाट निलम्बन गरेको थियो। इमेजले बागलुङ बजार, गलकोट र बुर्तिबाङमा कार्यालय सञ्चालन गरेर कारोबार गरेको थियो। उसले पोखरामा पनि कारोबार गर्दै आएको थियो।

नेपालीले पैसा अभाव भएको भन्दै सूचना निकालेर इमेज सहकारी बागलुङको कारोबार बन्द गरेका थिए। पीडितले रकम फिर्ता माग गर्दै आन्दोलन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङले सहकारी ठगी आरोपमा नेपालीसहितलाई मुद्दा दायर गरेको थियो। चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पक्राउ परेका थिए।

प्रकाशित: २६ आश्विन २०८२ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App