स्थानीय स्तरमा उत्पादित महको गुणस्तर उच्च पाइएपछि महको माग बढ्दै गएको छ। बहुराष्ट्रिय कम्पनीको प्रशोधित महभन्दा जिल्लाका किसानले उत्पादन गरेको महको माग बढ्दै गएको हो।
मह बिक्रेता शिवप्रसाद पौडेलका अनुसार प्राकृतिक तथा शुद्ध उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको हो।
‘अहिले नेपाली मह खोजि खोजि खाने चलन बढेको छ,’ उनले भने ‘बहुराष्ट्रिय कम्पनीको उत्पादित महको माग एकदम न्यून छ।’
उनले बहुराष्ट्रिय कम्पनीले महलाई प्रशोधन गर्ने भएकाले नेपालीले त्यसलाई कम मन पराउने गरेको बताए। पौडेलले चितवनको कालिका नगरपालिका-६ स्थित खोलेसिमल बजारमा महको बिक्री कक्ष राखेका छन्।
त्यहाँबाट वार्षिक तीन मेक्टिकटन मह विक्री गर्दै आएका छन्। त्यसमध्ये ९५ प्रतिशत मह लोकल नै बिक्री हुने गरेको उनले बताए।
अहिले नेपालमा महको उत्पादन घटेकाले बिक्रीमा समस्या समेत नभएको उनले बताए। यतिखेर छ सय देखि एक हजार रुपैयाँसम्ममा किसानले मह बिक्री गरेका छन्।
नेपालमा उत्पादन हुने अर्गानिक मह विदेशी बजारमा समेत लोकप्रिय बन्दै गएको छ। चीन, जापान, अमेरिका लगायतका देशहरूमा नेपाली मह निर्यात हुने क्रम बढिरहेको सरकारी तथ्यांकले समेत देखाउँछ।
अहिले नेपाली महको गुणस्तरमा कुनै कैफियत समेत नरहेको खाद्य तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र न्यौपानेले बताए।
‘हामीले बजार अनुगमन गर्दा महको नमुना ल्याएर परीक्षणका लागि खाद्य परीक्षण केन्द्र हेटौँडामा पठाउँछौँ,’ उनले भने ‘पछिल्ला तीन चार वर्ष यता कुनै कैफियत देखिएको छैन।’
एक वर्षअघि महिना अघि खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणमा पनि चितवनको महले नेपाल सरकारले बनाएको मापदण्डभन्दा गुणस्तर धेरै राम्रो रहेको देखिएको थियो।
मौरीपालन विकास केन्द्र भण्डारा र तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनले महको गुणस्तर परीक्षणका लागि दश वटा नमुना संकलन गरेर प्रयोगशालामा पठाएका थियो। परीक्षणका क्रममा सबै नमुनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरीपालन विकास केन्द्रको तथ्यांकमा उल्लेख छ।
त्यतिखेर चितवनका ११ वटा फर्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जंगली स्रोतको मह परीक्षणका लागि नमुना पठाइएको थियो। नेपाल मौरीपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०७४ मा लेखिएका आठ वटा मापदण्ड परीक्षण गर्दा मापदण्डभन्दा धेरै उत्कृष्ट पाएको कार्यालय प्रमुख सुजन अम्गाईले जानकारी दिए।
उनले चितवनमा उत्पादन भएको मह उपभोक्ताले ढुक्क साथ सेवन सक्ने अवस्थाको रहेको बताए। सरकारले बनाएको आठ वटा सूचक रहेको उनले बताए।
उनका अनुसार, महको पानीको आद्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परिक्षण गरिएको थियो।
पछिल्लो समयमा बालीमा विषादीको प्रयोग बढी गरेको पाइन्छ। यद्यपि चितवनको महको गणस्तरलाई भने विषादीले त्यति असर नगरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले बताए।
‘विषादीले महको उत्पादनमा चाँही असर पार्छ। तर चितवनको मौरी चरण क्षेत्र र खेतीपाती गर्ने क्षेत्र छुट्टिएको कारण बढी असर पर्न गएको छैन,’ उनले भने ‘जहाँ व्यवसायीक खेती हुन्छ त्यहाँ मौरी चरणमा लैजान अनुपयुक्त हुन्छ।’
उपभोक्ताले गुणस्तरिय महको पहिचान गर्न नसक्दा ठगिने गरेका छन्। कति महको रङ र जम्ने नजम्मे महको विषयमा उपभोक्ता अलमलमा देखिएको पाइन्छ। उपभोक्ताले खरिद गर्दा सबैभन्दा पहिले हेर्ने कुरा लेबल हो। किसानहरुले बिक्री गर्ने क्रममा महको प्रकार र आठ वटा सूचकका आधारमा लेभलिङ गर्ने गरेको छन्।
‘लेबलमा पारदर्शिता नहुँदा उपभोक्ता ठगिन सक्छन्। उत्पादकले अनिवार्य रूपमा सबै विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ।,’ अम्गाईले भने ‘महमा लेभलिङ गर्न सकेमा नेपाली महले अझ बजार पाउने सम्भावना बढी हुन्छ।’
नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको उनले बताए।
प्रकाशित: २० वैशाख २०८३ १७:२४ आइतबार





