१ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्जमा निर्माण मजदुरको माग र ज्याला बढ्यो

वीरगन्जको घण्टाघर चोकमा दैनिक रोजगारीको खोजीमा आउने मजदुरको अवस्था पछिल्लो समय फेरिएको छ। सामान्य अवस्थामा रोजगारदाताको प्रतीक्षामा बस्ने मजदुर अहिले काम खोज्ने रोजगारदाताको पर्खाइमा देखिन थालेका छन्।

वीरगन्जको गण्डकचोकदेखि मितेरी पुलसम्म मुख्य सडक विस्तारका क्रममा सडक छेउका घर तथा भौतिक संरचना भत्काइएपछि भग्नावशेष हटाउन मजदुरको माग बढेको हो।   सडक डिभिजन कार्यालय हेटौँडाले करिब तीन महिनादेखि सडक क्षेत्रका संरचना भत्काउन थालेपछि घरधनीले भग्नावशेष हटाउन मजदुर परिचालन गर्दै आएका छन्।

एकैपटक ठूलो संख्यामा घर भत्काइएपछि मजदुरको माग र दैनिक ज्याला बढेको छ। यसअघि घर निर्माण वा भत्काउने काममा मजदुरले दैनिक आठ सय रुपैयाँ र ५० रुपैयाँ खाजा खर्च पाउने गरेका थिए। अहिले दैनिक एक हजार रुपैयाँ ज्याला र ५० रुपैयाँ खाजा खर्च पाउने गरेको मजदुरहरूले बताएका छन्।

वीरगन्ज–२३ गण्डकचोकका छोटेलाल सहनीका अनुसार संरचना भत्काउन थालेपछि मजदुरको दैनिक ज्याला दुई सय रुपैयाँ बढेको छ। राजमिस्त्रीको ज्याला पनि बढेको उनले बताए। उनका अनुसार यसअघि दैनिक एक हजार रुपैयाँ ज्याला र ५० रुपैयाँ खाजा खर्च पाउने राजमिस्त्रीले अहिले एक हजार दुई सय रुपैयाँ ज्याला र ५० रुपैयाँ नास्ता खर्च पाउने गरेका छन्।

सामान्य अवस्थामा घण्टाघरनजिक नेपाल टेलिकमको भत्काइएको भवनअगाडि सडकमा साइकल पार्किङ गरेर मजदुरहरू रोजगारदाताको प्रतीक्षामा बस्ने गरेका थिए। वीरगन्ज आसपासका गाउँका साथै सीमावर्ती भारतीय गाउँबाट समेत मजदुर कामको खोजीमा यहाँ आउने गरेका छन्।

रक्सौलको भरतही निवासी भोला यादव पनि कामको खोजीमा घण्टाघर आउने गरेका छन्। ‘पहिला कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्‍यै गर्नुपर्थ्याे’, उनले भने, ‘अहिले रोजगारदाताहरू आफैं आएर कामका लागि लिएर जाने गरेका छन्।’

रक्सौलमा नियमित काम नपाएपछि रोजीरोटीका लागि वीरगन्ज आउने गरेको यादवले बताए। घर निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनले अहिले दैनिक एक हजार रुपैयाँ ज्याला र ५० रुपैयाँ नास्ता खर्च पाउने गरेको बताए। वीरगन्जमा नियमित काम पाउन थालेपछि परिवारको खर्च चलाउन सहज भएको उनको भनाइ छ।

घण्टाघरमा भेटिएका रामनरेश साहले आदर्शनगर क्षेत्रमा भत्काइएका घरको भग्नावशेष हटाउने ठेक्का लिएको बताए। त्यसका लागि १० जना मजदुर आवश्यक परेकाले घण्टाघरमा मजदुर खोज्न आएको उनले बताए। ‘आवश्यकताअनुसार मजदुर भेटिने भएकाले यहाँ आउने गर्छौं’, उनले भने।

घण्टाघरमा मजदुर भेटिन थालेपछि गाउँगाउँ पुगेर श्रमिक खोज्नुपर्ने अवस्था अन्त्य भएको साहले बताए।

रौतहटको मौलापुर–६ पथराका छठु पण्डित तीन महिनादेखि २४ जना मजदुरको समूह लिएर वीरगन्जमा भग्नावशेष हटाउने काममा खटिएका छन्। घरधनीले बिहान–बेलुकाको खाना, दिउँसो नास्ता र बस्ने व्यवस्था गरेर दैनिक एक हजार रुपैयाँ ज्याला दिने भएकाले वीरगन्जमा बसेर काम गर्न सहज भएको उनले बताए।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले संरचना भत्काइएपछि भग्नावशेष हटाउन वीरगन्जमा दैनिक तीन हजारभन्दा बढी मजदुरको माग रहेको बताए। राजमार्गको मापदण्ड अनुसार सडक विस्तार अघि बढाउँदा पुराना बस्ती, धार्मिक सम्पदा र व्यावसायिक संरचना प्रभावित भएको उनको भनाइ छ।

वीरगन्ज ऐतिहासिक, सांस्कृतिक र आर्थिक महत्त्व बोकेको पुरानो सहर भएकाले वैकल्पिक उपाय खोज्नुपर्नेमा घर तथा बस्ती भत्काइएको केडियाले बताए। सडक विस्तारका क्रममा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर निर्माण गरेका घरधनीसमेत प्रभावित भएको उनले बताए।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पनि दैनिक सात हजारभन्दा बढी मजदुर काममा खटिने गरेको बताइएको छ। कृषि, माछापालन तथा पशुपालन क्षेत्रमा पनि श्रमिकको माग हुने गरेको छ। औद्योगिक क्षेत्रमा भने भारतीय मजदुरलाई प्राथमिकता दिइएको देखिने स्थानीय व्यवसायीहरूको भनाइ छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सामा औद्योगिक उत्पादनतर्फका प्रतिष्ठानको संख्या करिब एक हजार ६ सय र कृषि, वन तथा माछापालनतर्फका प्रतिष्ठानको संख्या करिब १५० रहेको छ।  बारामा औद्योगिक उत्पादनतर्फ करिब एक हजार दुई सय तथा कृषि, वन तथा माछापालनतर्फ करिब १६० प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ।  

प्रकाशित: १ आश्विन २०८३ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App