२८ आश्विन २०८३ बुधबार
image/svg+xml
अर्थ

दसैं बजारलाई ‘शून्य ब्याज इएमआई’ को भरथेग

दसैं नजिकिएसँगै बजारमा घरायसी उपकरण, मोबाइल, ट्याब्लेट, लत्ताकपडा तथा विद्युतीय सवारी साधनको किनमेल बढ्न थालेको छ। उपभोक्तालाई एकै पटक ठूलो रकम खर्च नगरी सामान खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था र हायर पर्चेज कम्पनीहरूले शून्य ब्याजदर वा सहुलियत ब्याजदरमा किस्ताबन्दी (इएमआई) सुविधा विस्तार गरेका छन्।

इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणमा सीमित यस्तो सुविधा पछिल्लो समय किचनवेयर, मोबाइल, ट्याब्लेट र विद्युतीय स्कुटरसम्म पुगेको छ। यसले उपभोक्तालाई सामान खरिद गरेपछि निश्चित अवधिसम्म मासिक किस्तामा भुक्तानी गर्ने विकल्प दिएको छ। दसैं–तिहार र छठ नेपाली बजारमा उपभोग्य सामग्रीको बिक्री बढ्ने प्रमुख सिजन भएकाले व्यवसायी तथा वित्तीय संस्थाले यही अवसरमा किस्ताबन्दी योजनालाई प्राथमिकता दिएका हुन्।

यद्यपि बाढीपहिरोलगायतका समस्याले अर्थतन्त्रमा दबाव परेको र उपभोक्ताको क्रयशक्ति विगतका वर्षको तुलनामा कमजोर रहेको व्यवसायीहरूको भनाइ छ। यस्तो अवस्थामा इएमआई सुविधाले महँगा सामान खरिद गर्न सहज बनाए पनि उपभोक्ताले आफ्नो आम्दानी र भुक्तानी क्षमताअनुसार योजना छनोट गर्नुपर्ने देखिन्छ।

भाटभटेनीमा इलेक्ट्रोनिक्सदेखि किचनवेयरसम्म इएमआईमा

ग्लोबल आइएमई बैंक लिमिटेडले यसपालिको दसैं–तिहार र छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा फ्रिज, वासिङ मेसिन, एसी तथा किचनवेयरलगायतका सामग्री खरिदमा शून्य ब्याजदरको इएमआई सुविधा उपलब्ध गराएको जनाएको छ।

बैंकका अनुसार सुरुमा इलेक्ट्रोनिक्स सामग्रीमा सीमित गरिएको यो सुविधा विस्तार गरी अहिले किचनवेयरसम्म पुर्‍याइएको छ। आगामी दिनमा भाटभटेनीमा उपलब्ध अन्य सामग्रीमा समेत सुविधा विस्तार गर्ने तयारी बैंकको छ।

भाटभटेनीका सबै आउटलेटबाट लिन सकिने यस सुविधाअन्तर्गत ग्राहकले १२ देखि १८ महिनासम्मको किस्ताबन्दी विकल्प रोज्न सक्छन्। बैंकले भाटभटेनी क्लब कार्डमार्फत यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ। कार्डको मापदण्ड र सीमा निर्धारण गर्दा ग्राहकको विगतको खरिद तथा खर्च गर्ने व्यवहारलाई समेत आधार बनाइने बैंकले जनाएको छ।

बैंकका अनुसार परम्परागत क्रेडिट कार्ड लिन आम्दानीको प्रमाणपत्र आवश्यक पर्ने भए पनि यस योजनामा त्यस्तो प्रमाणपत्र अनिवार्य छैन। योग्य ग्राहकले मोबाइलबाटै आवेदन दिन र आवश्यक सहमति प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ। शाखामा पुगेर फाराम भर्नुपर्ने प्रक्रिया हटाइएको र स्वीकृत कार्ड घरमै उपलब्ध गराउने सुविधा रहेको बैंकले जनाएको छ। यसका लागि ग्लोबल आइएमई बैंकमै खाता हुनुपर्ने बाध्यता पनि छैन।

कार्डबाट भएको खर्चको मासिक भुक्तानी अन्य बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट समेत गर्न सकिने व्यवस्था छ। बैंकका अनुसार पछिल्लो तीन महिनामा हजारौं ग्राहकले इएमआई सुविधा प्रयोग गरिसकेका छन्। इलेक्ट्रोनिक्स सामग्रीमा माग बढेपछि सुविधा किचनवेयरसम्म विस्तार गरिएको बैंकको भनाइ छ।

मोबाइलदेखि विद्युतीय स्कुटरसम्म हुलास फिनसर्भको सुविधा

दसैं–तिहार र छठको बजारलाई लक्षित गर्दै हुलास फिनसर्भ हायर पर्चेजले मोबाइल, घरायसी उपकरण र विद्युतीय स्कुटर खरिदमा शून्य ब्याजदरको फाइनान्सिङ सुविधा उपलब्ध गराएको जनाएको छ।

 कम्पनीका मार्केटिङ हेड ओम गुप्ता रञ्जितका अनुसार सामसङका मोबाइल तथा ट्याब्लेटमा यस्तो सुविधा उपलब्ध छ। सामसङको आधिकारिक इएमआई साझेदार भएकाले नेपालभरका अधिकृत खुद्रा बिक्रेताबाट सामसङका मोबाइल खरिद गर्दा हुलासमार्फत फाइनान्सिङ गर्न सकिने उनले बताए।

घरायसी उपकरणतर्फ सामसङ, हिमस्टार, एलजी र सिजिएललगायत ब्रान्डका उत्पादनमा फाइनान्सिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। दसैं–तिहारलाई लक्षित गरी बजाज चेतक विद्युतीय स्कुटरमा समेत शून्य ब्याजदरको योजना ल्याइएको छ।

यसरी एउटै फाइनान्स कम्पनीले मोबाइल र घरायसी उपकरणदेखि दुई पांग्रे सवारी साधनसम्म किस्ताबन्दी सुविधा उपलब्ध गराउन थालेपछि इएमआई योजनाको दायरा फराकिलो भएको छ।

कम्पनीका अनुसार मोबाइल खरिदमा सामान्यतया एक वर्षसम्मको इएमआईमा शून्य ब्याजदरको सुविधा उपलब्ध छ। दुई वर्षसम्मको अवधि रोज्दा भने ७.९९ प्रतिशत ब्याजदर लागु हुन्छ। ल्यापटप तथा विभिन्न घरायसी उपकरणमा पनि शून्य ब्याजदरको इएमआई सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मोबाइल तथा घरायसी उपकरणको फाइनान्सिङका लागि आवश्यक कागजात पूरा गरेपछि प्रक्रिया अघि बढाउन सकिने कम्पनीको भनाइ छ। सवारी साधनको फाइनान्सिङमा भने आम्दानीसम्बन्धी कागजात आवश्यक पर्नेछ। डाउनपेमेन्ट तथा अन्य सर्त नियामकीय व्यवस्थाअनुसार लागु हुने कम्पनीले जनाएको छ।

सामसङका उपकरणमा एनसेल ग्राहकलाई ३१ प्रतिशतसम्म छुट

एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले सामसङका टेलिभिजन, फ्रिज र वासिङ मेसिनलगायत उपकरण खरिद गर्दा अतिरिक्त छुट पाउनेछन्।

दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको योजनामा सामसङले प्रदान गर्दै आएको चाडपर्व विशेष छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन्। यसबाट कुल छुट ३१ प्रतिशतसम्म पुग्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकले पाउने अतिरिक्त छुट उनीहरूले प्रयोग गरिरहेको एनसेलको प्याक वा रेन्टल प्याकका आधारमा निर्धारण हुनेछ। यसअनुसार योग्य ग्राहकले पाँच, आठ वा १२ प्रतिशत अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यो योजना असोज २२ देखि कात्तिक ३० गतेसम्म लागु हुनेछ।

प्रकाशित: २८ आश्विन २०८३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App