२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापार बढ्यो, राजस्व लक्ष्य भने साढे ३५ अर्ब कम

मुलुकको वैदेशिक व्यापारमा सुधार देखिए पनि सरकारले भन्सार विन्दुबाट अपेक्षित राजस्व सङ्कलन गर्न सकेको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा आयात–निर्यात बढे पनि भन्सार राजस्व भने लक्ष्यभन्दा ३५ अर्ब ५२ करोड रुपैयाँले कम सङ्कलन भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १ खर्ब ९४ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो।

तर, यस अवधिमा विभागले १ खर्ब ५८ अर्ब रुपैयाँ मात्र सङ्कलन गर्न सकेको छ। यद्यपि, गत आर्थिक वर्षको तुलनामा भने राजस्व सङ्कलनमा साढे ११ अर्ब रुपैयाँले वृद्धि भएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १ खर्ब ४६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

जाँचपासमा कडाइ गर्न ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको स्वीकार गर्दै यसमा सुधार ल्याउन नयाँ प्रणालीहरू लागू गरिएको जानकारी दिए।

भन्सार जाँचपासका क्रममा हुन सक्ने न्यून बीजकीकरण र मालवस्तुको वर्गीकरणमा हुने त्रुटि रोक्न विभागले ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रयोगमा ल्याएको छ।

‘हामीले विराटनगर र वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन सफ्टवेयर जडान गरिसकेका छौँ, अबको केही दिनमा भैरहवा भन्सारमा पनि यो प्रणाली जडान गर्नेछौँ,’ सूचना अधिकारी बर्तौलाले भने।

यो प्रणालीले सामानको मूल्याङ्कन कम गराएर वा महँगो वस्तुलाई सस्तो वस्तुका रूपमा भित्र्याएर हुने राजस्व चुहावटलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागबीचको समन्वयमा चोरी–निकासी नियन्त्रण गर्न सके आन्तरिक र भन्सार राजस्व दुवैमा वृद्धि हुने विभागको विश्वास छ।

आयात बढ्दा पनि किन बढेन राजस्व ?

आयातको परिमाण बढे पनि सोही अनुपातमा राजस्व नबढ्नुमा सहुलियत र कर छुटका व्यवस्थाहरू मुख्य कारण रहेको विभागले जनाएको छ।

सूचना अधिकारी बर्तौलाका अनुसार होटल निर्माण तथा हाइड्रोपावरका निर्माण सामग्रीमा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था छ। यसका साथै वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूका सामग्री आयातमा पनि पूर्ण वा आंशिक भन्सार छुट दिइएको छ।

‘तथ्याङ्कमा आयात बढेको देखिए पनि कम भन्सार दर र छुट भएका सामग्रीको हिस्सा ठूलो हुँदा राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको हो,’ बर्तौलाले स्पष्ट पारे। विभिन्न निकायको सिफारिसमा हुने भन्सार छुटले पनि कुल राजस्वमा प्रभाव पारेको छ।

यद्यपि, विभागले चालु आर्थिक वर्षको वार्षिक लक्ष्य भेट्टाउने दाबी गरेको छ। नयाँ बजेट कार्यान्वयनसँगै करका दरहरू हेरफेर भएका वस्तुहरूको आयात बढ्ने र नयाँ प्रणालीको प्रभावकारिताले आगामी महिनाहरूमा राजस्व सङ्कलन ह्वात्तै बढ्ने विभागको आंकलन छ।

भन्सार विभागले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ।

जसमध्ये पहिलो चौमासिकसम्म १ खर्ब ५८ अर्ब ७६ करोड रुपैयाँ सङ्कलन भएको छ। गत आर्थिक वर्ष ५ खर्ब ८२ अर्ब ६७ करोडको लक्ष्य रहेकोमा ४ खर्ब ८४ अर्ब ७० करोड (८३.१ प्रतिशत) राजस्व असुली भएको थियो।

प्रकाशित: ९ मंसिर २०८२ २१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App