९ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

पानी अभावले हुम्लामा रोपाइँ हुन सकेन

फाइल तस्बिर

साउन लाग्दै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन्। धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन। किसान बनेर आकाशतिर हेरिरहन्छन्। बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन्।

अदानचुली गाउँपालिकाका किसान भन्छन्, 'धान र कोदो रोप्न बीउ तयार छ, बीउ उम्रिसक्यो, तर पानी छैन। नहरका लागि पानीको मुहान पनि छैन। आकासे पानीका बसेका छौँ।'

असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको यहाँका किसान बताउँछन्। अधिकांश ठाउँमा सिँचाइका नहर भए पनि गत वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन्। आकाशबाट आएको पानीले खोला बढेपछि सोही खोलाको पानीले खेत रोप्नका लागि बनाइएका कुलोमा झारमात्र उम्रिएको छ। योजनाहरू प्रायः व्यक्तिगत छन्। सिँचाइका योजना छैनन्।

अदानचुली गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गरेको हुन्छ तर व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डहरूमा बजेट खर्च भइरहेछ। तर खेतबारीमा पानी पुर्याउने कुनै योजना र कार्यक्रम देखिन्न। खोलाको नाममा तटबन्धन भए पनि आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबारलगायत योजना सङ्घ र प्रदेशले बनाएर कार्यान्वयन गरेको पाइन्छ।  

'धान, कोदोलगायत अन्य बालीनाली रोप्न नपाएर बीउ सुक्न लागिसक्यो। किसानलाई योभन्दा ठूलो यातना केही हुँदैन। खेतमा पानी छैन, यसमा कसैको ध्यान जाँदैन,' स्थानीय ललित बुढाले भने। गाउँपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट सार्वजनिक गरेको छ। सोलारपम्प, डिपबोरिङ वा कुलो निर्माण र मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अड्किएका छन्।

'खेत सुक्छ, किसानको आवाज सुनिँदैन। बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणालीले समस्या भएको छ,' उनले भने। रासस

प्रकाशित: २९ असार २०८२ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App