१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

पोखरामा खाना पकाउने ग्यास हाहाकार

पोखराका लागि लोड नै कम दिइएको छः उद्योगी

पोखरामा एक डिपोमा रहेका ग्यासका सिलिन्डर। तस्बिरः नागरिक

बजारमा पछिल्लो समय खाना पकाउने ग्यास अभाव भएको छ। ग्यास नपाएको भन्दै उपभोक्ता भौतारिइरहेका छन्। ग्यास किन्नका लागि बिक्रेताकहाँ लाम लागेको भएपनि नपाएको उपभोक्ताको गुनासो छ। ग्यासको खोजिमा उपभोक्ताहरु कहिले यता त कहिले उता दौडिनुपरेको छ।

ग्यास उद्योगीका अनुसार अहिले भारतबाट नै अरुबेलाको तुलनामा कम ग्यास भित्रिएको छ। त्यसले पनि एकातिर अभाव भएको हो। अर्काेतिर उपभोक्ताले नै धेरै संख्यामा सिलिन्डर भरेर राख्ने गर्दा पनि केही अभाव देखिएको हो। पछिल्लो एकसातादेखि तुलनात्मक रुपमा ग्यास आयात नै कम भएको उद्योगीले बताएका छन्। यो अभाव अझै केहीदिन हुनसक्ने उनीहरुको भनाई छ। उपभोक्ताले चाहिने भन्दा बढि संख्यामा ग्यास सिलिन्डर भरेर राख्दा केही अभाव देखिएको व्यावसायी बताउँछन्।  

एलपी ग्यास बिक्रेता संघ कास्कीका पूर्व अध्यक्ष नारायण पौडेलका अनुसार अहिले बजारमा ग्यास अभाव देखिँदा एक तहका उपभोक्तालाई मर्का परेको छ। उनका अनुसार अहिले कतिपय उपभोक्ताले मध्यपूर्वको द्वन्द्वको बहानमा एक भन्दा बढि सिलिन्डर भरेर राख्न खोज्दा अभाव देखिएको हो। आधाको सट्टामा भरि सिलिन्डर पाएपछि कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढि सिलिन्डर मौज्दात राखेको उनले बताए।  

‘पहुँच हुनेले धेरै सिलिन्डर थुपारेका छन्। पहुँच नपुग्नेलाई समस्या परेको हो। एउटा मात्र सिलिन्डर हुनेलाई अहिले सकस भएको हो,’ उनले भने, ‘आधा सिलिन्डर हुँदा अहिले भन्दा दोब्बर संख्यामा बजारमा ग्यासका सिलिन्डर जाने गरेका थिए। अहिले पूरा सिलिन्डर पठाउँदा केही अपुग भएको हो।’ उनका अनुसार अहिलेको अभाव अबको केहीदिनमा सकिन्छ।  

‘सरकारको अपरिपक्वताले पनि यो अवस्था आएको हो। मध्यपूर्वको द्वन्द्वलाई लिएर चैत महिनामा आधा ग्यास भरिएको सिलिन्डर बजारमा पठाइयो। बैशाख– जेठमा पर्याप्त ग्यास आयो। तर, भरि सिलिन्डर दिइएन। लामो समय आधा सिलिन्डर दिएको र त्यो सकिएपछि अहिले अभाव देखिएको हो,’ उनले भने, ‘भरि सिलिन्डर पाएको बेला पारेर उपभोक्ताले चाहिने भन्दा बढि ग्यास मौज्दात राखेको हो। कतिपयलाई बाल्नै पाइएन भन्ने अवस्था पनि छ।’  

एलपी ग्यास बिक्रेता संघ कास्कीका नारायण दाहालका अनुसार भारतको ग्यास रिफाइनरी सेन्टरमा समस्या भएकोले पोखराका लागि आयात घट्दा त्यसले अभाव सिर्जना गरेको हो। ‘एकातिर पोखराका लागि लोड कम भएकोले पनि समस्या हो। अर्काेतिर उपभोक्ताले भरि सिलिन्डर पाएपछि मौज्दात राख्न थाल्दा समस्या थपिएको हो,’ उनले भने, ‘अहिले काठमाडौंका कम्पनिलाई बढि लोड दिएकोले पोखरा बाहिर अभाव देखिएको हो।’ काठमाडौं बाहिर ६० प्रतिशत लोड कम भएको उनले बताए।  

‘पोखराका लागि लोड कम भएको हो। काठमाडौंका लागि धेरै गयो। पोखराका लागि जति आउनुपर्ने हो, त्यत्ति आएन। त्यसले यति नै छिटो अभाव नै हुनुपर्ने होईन। तर, पोखरातर्फको लोड घट्नासाथ बजारमा हाहाकार देखिएको हो,’ उनले भने, ‘काठमाडौं केन्द्रीत ढुवानी बढि छ। पोखराका लागि लोड झन्डै आधाले घटेकोले अभाव सिर्जना भएको हो।’  

गृहलक्ष्मी ग्यास कम्पनिका महाप्रबन्धक भीमराज लामिछानेका अनुसार अहिले भारतबाट ग्यास केही कम आएको छ। पछिल्लो एकसातादेखि आयात नै कम भएको उनले बताए। त्यसको प्रभाव अहिले नै बजारमा पर्न नहुने भएपनि पहुँचवाला उपभोक्ताले हल्लाको भरमा धेरै ग्यास मौज्दात राख्ने गरेकोले पनि अभाव भएको उनले बताए। उनका अनुसार पोखरामा रहेको दुईवटा उद्योगका लागि अहिले आउने ग्यासको परिणाम घटेको छ।

‘एकसाता देखि लोड केही घटेको हो। दिनको २ देखि ३ गाडी (बुलेट) हामीले पाउँदै आएका थियौं। अहिले चार गाडिसम्मको माग छ। तर, दिनमा एक–दुई गाडी मात्र आएको हो। आयात कम भएकै हो,’ उनले भने, ‘यो अभाव आगामि सातादेखि समाधान हुने अपेक्षा छ।’ उनका अनुसार एक बुलेटबाट १२ सयदेखि १५ सय सिल्न्डिरसम्म ग्यास भरिन्छ। भारतमा केहीदिन अघि भएको आन्दोलन र ग्यास रिफाइनरी सेन्टरको समस्याले गर्दा पोखराका लागि लोड कम भएको उनले बताए। ग्यास कम आएको भन्ने हल्ला फैलिएपछि झनै अभाव देखिएको उनले बताए।  

अर्का एक उद्योगीका अनुसार आधा सिलिन्डर हुँदा भनेजत्तिकै ग्यास पाएका उपभोक्ताले अहिले भरि सिलिन्डर पाएपछि मौज्दात गर्दा यो समस्या बढेको बताए। ‘आधा सिलिन्डर भएको ग्यास गर्दा सहज भएको थियो। त्यो अवस्था चारमहिनासम्म लागु गरियो। पर्याप्त ग्यास आउँदा पनि आधा सिलिन्डरको व्यवस्था हटाइएन। अहिले भरि सिलिन्डर बजार पठाउँदा अभाव देखिएको हो,’ उनले भने। ती उद्योगीका अनुसार अहिले भारतबाट काठमाडौं केन्द्रीत मात्र ग्यास ढुवानी भएको छ। पोखरा क्षेत्रका लागि ग्यासको लोड नै कम भएको उनले बताए।  

‘पोखराका लागि लोड कम भएको हो। काठमाडौंका लागि धेरै गयो। पोखराका लागि जति आउनुपर्ने हो, त्यत्ति आएन। त्यसले यति नै छिटो अभाव नै हुनुपर्ने होईन। तर, पोखरातर्फको लोड घट्नासाथ बजारमा हाहाकार देखिएको हो,’ उनले भने, ‘काठमाडौं केन्द्रीत ढुवानी बढि छ। पोखराका लागि लोड झन्डै आधाले घटेकोले अभाव सिर्जना भएको हो।’  

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। ती बाहेक पोखरामा अरु कम्पनिले पनि ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।

प्रकाशित: १४ श्रावण २०८३ १८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App