५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अर्थ

सम्पत्ति सुद्धीकरणमा व्यवसायी भट्टविरुद्ध साढे २६ अर्ब बिगो दाबी

विचौलियाको आरोप लाग्दै आएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा दायर गरेको मुद्दामा भट्ट विरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । विशेष सरकारी वकिल कार्यालयले बिहीबार राति अवेर मुद्दा दर्ता गरेको भए पनि अभियोजन पत्र शुक्रबार मात्र सार्वजनिक गरेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २२ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट गठित संयुक्त अनुसन्धान टोलीले तयार गरेको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको जनाएको छ ।

अनुसन्धान टोलीका संयोजक शिवहरि पोखरेलसहितको टोलीले बुझाएको प्रतिवेदनमा भट्टले विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध देखाउने उद्देश्यले लगानी तथा कारोबार गरेको आरोप लगाइएको छ । सोही आधारमा अभियोजन पक्षले गैरकानुनी स्रोतबाट आर्जित भनिएको सम्पत्तिको बिगो कायम गरी कारबाहीको माग गरेको छ ।

अभियोगपत्रअनुसार भट्टले बिमा कम्पनीहरूबाट प्राप्त रकमको विनियमनविपरीत प्रयोग, आर्थिक दुरुपयोग तथा बीमा ऐनअन्तर्गतका कसुरबाट प्राप्त सम्पत्तिलाई विभिन्न माध्यमबाट वैध देखाउने प्रयास गरेको आरोप छ । अनुसन्धानमा उनले गैरकानुनी स्रोतबाट प्राप्त रकम प्रयोग गरी नेपाल रिइन्स्योरेन्सलगायत विभिन्न कम्पनीका सेयर खरिदमा लगानी गरेको देखिएको उल्लेख छ ।

अभियोगपत्रमा भट्टले करिब ३ अर्ब ८१ करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम गैरकानुनी स्रोतबाट प्राप्त गरी लगानी गरेको दाबी गरिएको छ । नेपाल रिइन्स्योरेन्सको धितोपत्र मूल्य प्रभावित पारेर व्यक्तिगत लाभ लिने उद्देश्यले हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिस तथा हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित कारोबार प्रयोग गरेर भट्टले १७ अर्ब ४८ करोड २ लाख ८८ हजार रुपैयाँभन्दा बढी रकमलाई कसुरजन्य सम्पत्तिको रूपमा दाबी गरिएको छ ।

त्यसैगरी डिबेञ्चर खरिद–बिक्रीमार्फत रकमको वास्तविक स्रोत लुकाई वैध आयजस्तो देखाउन खोजिएको भन्दै ८० करोड ३५ लाख रुपैयाँभन्दा बढी रकमलाई सम्पत्ति शुद्धीकरणको माध्यम बनाइएको आरोप लगाइएको छ ।

अनुसन्धानले नेपाल रिइन्स्योरेन्सको सेयर घाटामा बिक्री गरेको देखाई पुनः सोही कम्पनीको सेयर खरिद गरी कारोबारलाई स्वाभाविक व्यावसायिक गतिविधि जस्तो देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको छ। यस प्रक्रियामा १२ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम प्रयोग भएको दाबी छ ।

अभियोगपत्रमा नगद रकमलाई सेयरमा रूपान्तरण गरी सम्पत्तिको वास्तविक स्वरूप परिवर्तन गर्दै गैरकानुनी स्रोत लुकाइएको उल्लेख छ । यसरी शुद्धीकरण गरिएको भनिएको डिम्याट खातामा मौज्दात सेयरको मूल्य २ अर्ब ८९ करोड २० लाख रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ ।

अनुसन्धानमा भट्टसँग सम्बन्धित इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्समा गरिएको ४५ करोड रुपैयाँ संस्थापक लगानी, सो लगानीबाट प्राप्त ३ करोड ९० लाख ६० हजार रुपैयाँ लाभांश तथा कम्पनी खातामार्फत गरिएको १९ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबारलाई समेत कसुरजन्य सम्पत्तिको रूपमा समावेश गरिएको छ ।

त्यसैगरी सिद्धार्थ बैंकमा रहेको खाताको दुरुपयोग गरी ९ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम सम्पत्ति शुद्धीकरणमा प्रयोग गरिएको, इन्फिनिटी होल्डिङ्सको कार्यालयबाट बरामद १४ लाख ९३ हजार रुपैयाँ, जगदम्बा मोटर्सको नाममा राखिएको ६ करोड ३० लाख रुपैयाँ मूल्यको सवारीसाधन तथा गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खरिदमा लगानी गरिएको २४ करोड ८९ लाख ९४ हजार रुपैयाँलाई समेत बिगोमा समावेश गरिएको छ ।

मनी लाउन्डरिङ निवारण ऐन, २०६४ अन्तर्गत गैरकानुनी स्रोतबाट प्राप्त सम्पत्तिको प्राप्ति, कारोबार, धारण तथा रूपान्तरण स्वयं सम्पत्ति शुद्धीकरण कसुर हुने कानुनी व्यवस्थाअनुसार उक्त सम्पूर्ण रकम कसुरजन्य सम्पत्तिका रूपमा जफतयोग्य रहेको दाबी गरिएको छ ।  

विभिन्न आर्थिक तथा धितोपत्रसम्बन्धी कसुरबाट प्राप्त रकमलाई वैध सम्पत्तिको स्वरूप दिने उद्देश्यले जटिल वित्तीय कारोबार गरिएको निष्कर्ष निकाल्दै कुल २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित: २९ जेष्ठ २०८३ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App